Saturday, 6 July 2013

माओवादी नेताहरू भारतीय उल्फाको क्याम्पमा –– अर्जुन मल्ल

ज्ानयुद्धको फौजी तयारीका लागि केही माओवादी नेता भारतको आसाममा अलग देश निर्माणका लागि सशस्त्र सङ्घर्ष गरिरहेका उल्फा समूह (युनाइटेड लिबरेसन फ्रन्ट अफ आसाम)को गोप्य सैनिक प्रशिक्षण केन्द्रमा समेत पुगेका थिए। त्यहाँ पुग्ने नेताहरूमा दीपेन्द्र शर्मा (जसलाई पछि प्रहरीले गिरफ्तार गरी बेपत्ता बनायो), कामरेड अनिल (यहाँ टेक नाम मात्र दिइएको छ र जो पछि मन्त्री पनि भए) तथा रवीन्द्र श्रेष्ठ (उनी पनि झन् चर्चित मन्त्री बने) गरी तीनजना थिए। उनीहरूले एके ४७ अटोमेटिक राइफल (जुन नेपाली सेनासँग पनि छैन), एम १६ स्वचालित राइफल (जुन त्यसबेला दरबारको सुरक्षाथर््ा खटिने सेनालाई मात्र दिइएको थियो) जस्ता रुसी र अमेरिकी अत्याधुनिक हतियारसमेतको तालिम लिएर आए। यी यस्ता हतियार हुन् जसले एक मिनेटमा नै सय गोली सजिलै प्रहार गर्न सक्दछ र अगाडि आएका सयजनालाई खतम पार्न सक्दछ।
यस्तो भईकन पनि जनयुद्धको सुरुवातको समयमा यस्ता हतियारको प्रयोग माओवादीले गरेन। यसका दुई कारण थिए। पहिलो, यस्ता हतियार अति महँगा छन् र माओवादी पार्टीको त्यो हैसियत थिएन। दोस्रो, एक–दुई हतियार यस्ता किन्न सकिन्थ्यो होला, तर सुरुमै त्यस्ता हतियार प्रयोग गर्दा सत्ता पक्ष छिट्टै उत्तेजनामा आउँथ्यो र त्यस्ता हतियार खरिद गर्ने र छिट्टै माओवादीविरुद्ध सेना प्रयोग गर्न दबाब बढ्न गई बिरुवामै जनयुद्ध समाप्त हुने खतरा हुन्थ्यो। माओवादीको यो निर्णय दूरगामी महत्त्वको थियो भन्ने पछिका घटनाहरूले पुष्टि गर्दछन्।
माओवादीले हतियार र प्रशिक्षणको मामलामा माओकै सिद्धान्तहरू अनुसरण गर्योण। माओले भनेका थिए कि संसार हतियारैहतियारले भरिएको छ, मुख्य कुरा दुश्मनको नजिक पुगेर हमला गर्न हिम्मतका साथ युद्धकला प्रस्तुत गर्न सक्नुपर्छ। त्यतिबेला दाउरा र ढुङ्गा पनि सबै हतियार नै बन्छन्। माओवादीको पहिलो अर्धफौजी प्रशिक्षण कपिलवस्तुको गोरुसिङ्गेनजिकको जङ्गलछेउको गाउँमा भएको थियो। योङ कम्युनिस्ट लिग (वाईसीएल)को आयोजनामा भएको सो प्रशिक्षणमा मार्सल आर्ट र लाठी चलाउने तालिम र राजनीतिक प्रशिक्षण सात दिनसम्म भएको थियो। यसै प्रशिक्षणले ग्रामीण वर्ग–सङ्घर्षको आधारको काम गर्योि। रोल्पा–रुकुममा दमन तीव्र भएपछि उपत्यकाबाट गएका सेनाको सेकेन्ड लेफि्टनेन्ट तालिम लिई छाडेका एकजनाले रुकुममा र मार्सल आर्ट तालिम लिएका एकजनाले रोल्पामा तालिम दिए। यसबाट पनि ठूलो उत्साह पैदा गरेको थियो। यसरी नै अरू जिल्लामा पनि तालिम भए। जनयुद्धको अन्तिम केन्द्रीय तयारी प्रशिक्षण गोरखाको खोप्लाङमा भयो। देशैभरका प्रशिक्षक बन्न सक्ने करिब बीसजनालाई सो तालिम दिइएको थियो। प्रशिक्षण मात्र दुई दिनको थियो। प्रशिक्षक दुईजना थिए– प्रचण्ड र भारतीय सेनाका अवकाशप्राप्त क्याप्टेन गुरुङ। क्याप्टेन गुरुङले त्यसबेला भनेका थिए कि अर्काको देशका लागि भाडाको सिपाही भएर सेवा गर्दै अवकाश पाइयो, अहिले आफ्नै देशका लागि लड्न तालिम दिन पाएको यो दिन नै मेरो जीवनको सबभन्दा खुसीको दिन हो। उनले राइफल चलाउने तालिम दिए। माओवादी पार्टीसँग मात्र दुईवटा ३०३ राइफल थियो। तिब्बती खम्पा विद्रोहीहरूले भाग्दैगर्दा मनाङमा छाडेका ती राइफल पार्टीले स्थानीयवासीसँग किनेको थियो। प्रचण्डले विस्फोटक पदार्थसम्बन्धी तालिम दिएका थिए। प्रचण्डले किताब सङ्कलन गरी त्यसबारे पढेका थिए तर बनाउन भने आउँदैनथ्यो। त्यहाँ प्रयोगात्मक तालिम भएन। यस तालिममा मुख्य जिल्ला रुकुमबाट भने खबर नपुगेकोले सहभागी भएन।
यसपछि यहाँ तालिम लिएकाहरूले आफ्नो क्षेत्रमा र जिल्लामा गई प्रशिक्षण दिए। यसरी जनयुद्धको सुरुवातको ठीक अगाडिको फौजी प्रशिक्षणमा देशभरि गरेर करिब १५० जना सहभागी भए। माथि भनिएझैं यी प्रशिक्षण सामान्य प्रकृतिका थिए र केही विस्फोटक पदार्थ बनाउने र राइफल र भरुवा बन्दुक चलाउने मात्र थिए। अनिकालको बेला एक गिलास पानीले पनि अमृतसरह महत्त्व पाएजस्तै यी प्रशिक्षणले मृत सशस्त्र सङ्घर्षलाई जीवन प्रदान गर्योप। यी प्रशिक्षणले कार्यकर्तामा अपार उत्साहको लहर पैदा गर्न सफल भयो।
यस्ता फौजी प्रशिक्षणकै सेरोफेरोमा सबै कमाण्डहरूमा भएका राजनीतिक प्रशिक्षणले जनयुद्धको अन्तिम तयारी पूरा गर्न निर्णायक भूमिका खेल्यो। प्रचण्डले जनयुद्ध सुरुवात भएको एक वर्षपछि लेखेका थिए, ‘सबै क्षेत्रीय कमाण्डअन्तर्गत जनयुद्धका पहलकर्ता र नेतृत्वदायी कार्यकर्ताका विशेष प्रशिक्षणहरूमा ….. नेतृत्व र कार्यकर्ताबीचमा देखापरेको हार्दिकता र विश्वासको अविभाज्य सम्बन्ध अभूतपुर्व रहेको स्मरण गर्दा अहिले पनि हाम्रो छाती गर्वले फुल्दछ।… यी कार्यक्रममा जनयुद्धका निम्ति आवश्यक मूल्य चुक्ता गर्न जीवन बलिदान गर्न पछि नपर्ने प्रण गरिए। जीवन र मृत्युका नयाँ परिभाषाहरू अगाडि आए। जनता र क्रान्तिका निम्ति हुने भौतिक मृत्युलाई वास्तविक जीवनका रूपमा ग्रहण गर्ने महान् क्रान्तिकारी आदर्शहरू प्रस्तुत भए।’
जनयुद्धको तयारीका लागि रोल्पा–रुकुममा चलेको सिज अभियान र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको आदेशमा चलेको रोमियो अपरेसन नाम दिइएको प्रहरी कारबाहीको पनि ठूलो भूमिका छ। सिज अभियान भनेको सङ्घर्ष सङ्गठन प्रचार र प्रशिक्षणको संयुक्त अभियान थियो। एक्लाएक्लैै यी कामहरू ग्ार्दा उत्साह त्यति नआउने हुनाले समूहबद्ध भई गर्ने तरिका अपनाइँदा जनता र कार्यकर्ता सबैमा राम्रो प्रभाव पर्योत। साथै यस्ता टोलीहरूमा तराई र पहाड दुवैतिरका मिसाइनाले पछि जनयुद्ध तराईमा फैलाउन सजिलो भयो। रोल्पा र रुकुमबीच रहेको अनावश्यक प्रतिस्पर्धा पनि केही हदसम्म साम्य पार्न र आपसी सहयोग बढाउन मद्दत गर्यो । जनयुद्ध आवश्यक छ भन्ने सन्देश जनतामा दिन र जनआधार बलियो बनाउन पनि यो अभियान सफल रह्यो। साथै कार्यकर्तालाई ती जिल्लाको भूगोल, चालचलन बुझ्न पनि मद्दत गर्योअ।
सिज अभियानको क्रममा भएका सांस्कृतिक कार्यक्रमहरू र जनसेवा अभियान सबभन्दा प्रभावकारी रहे। सांस्कृतिक कार्यक्रमहरूमा प्रत्येक गाउँमा उर्लेको जनसागरले भविष्यको उज्यालो बिहानीको सन्देश दिँदैै लाल आधार इलाका र लालआतङ्कको सङ्केत गर्योँ। जनसेवा अभियानअन्तर्गत भएका कामले जनताका मन जित्न पार्टी कार्यकर्ता सफल रहे। सिज अभियानका क्रममा सबै समर्थक जनता र मतदातालाई कुनै न कुनै सङ्गठनमा आबद्ध गर्ने योजना सफलता साथ कार्यान्वयन गर्योम। साथै विपक्षी पार्टीका समर्थकको व्यापक प्रवेशले अरूमा ठूलो भूकम्प ल्याइदियो। यस सिज अभियानले ग्रामीण वर्गसङ्घर्षको बेलामा भएको प्रहरी कारबाहीको आतङ्कलाई पनि समाधान गर्योज।
सरकारमा बसेकाहरूले केही कुरा ठिकै बुझे, जस्तै सत्ताधारी पार्टीहरूको मतदाता धमाधम माओवादीमा प्रवेश गर्न दिने हो भने एक दिन शान्तिपूर्ण रूपमा उनीहरूको अस्तित्व नै खतरामा पर्नेछ। किनभने सरकारले जनताको चाहनाअनुसार काम गरिरहेको थिएन। जनताको त्यही असन्तुष्टिमा माओवादीले क्रान्तिको बिउ छर्दै थियो र क्रान्तिको वृक्ष छिटो हुर्कंदै थियो। सरकारमा बसेकालाई माओवादीले जनयुद्ध नै गर्ला जस्तो लागेको थिएन, यस अर्थमा भने उनीहरूले सत्यता बुझ्न सकेनन्, जब कि माओवादीले हाकाहाकी जनयुद्ध गर्छौं भन्दै भाषण गर्दै हिँडिरहेका थिए। सरकारमा रहेकाले यतिमात्र बुझे कि हाम्रो भोट गुम्दै छ। हाम्रो सरकारलाई असफल बनाएर एमाले र अरूको गठबन्धनको सरकार बनाउन खोजिँदै छ। तर, माओवादीले भोट मात्र बटुल्न खोजेका थिएनन्। सरकार मात्र होइन सत्ता नै पल्टाउन खोज्दै थिए। सरकारले रोमियो अपेसन चलायो र केही दिनमै ठीक पार्ने सोच्यो। तर, यसले प्रहरी अपरेशनविरुद्ध कसरी लड्नुपर्छ भन्ने व्यावहारिक शिक्षा कार्यकर्ता र जनतालाई दियो मात्र।
यसो हुनाको कारण के हो त? रावण मर्न लागेको बेला रामचन्द्रले आफ्ना भाइ लक्ष्मणलाई रावण ठूलो विद्वान् भएकोले उनकहाँ गएर शिक्षा लिएर आउन भनेछन्। रावणले लक्ष्मणलाई भनेछन्, ‘मैले भर्खरै महादेवको प्रार्थना गरेर दर्शन पाएपछि सोधेको थिएँ कि तपाईंले नै दिनुभएको शक्तिशाल्ाी हुने बरदान पाए तापनि म किन हारेँ र अहिले मर्दै छु?’ महादेवले भन्नुभयो, ‘मैले तिमीलाई शक्तिशाली हुने बरदान दिएकै हुँ, तर यो शक्ति भन्ने चिजसँगै अहंकार पनि साथसाथ आउँछ, त्यो तिमीले नलिनुपर्दथ्यो तर लियौ। त्यही अहंकारले तिम्रो शक्ति कमजोर बनाइदियो र तिमी पराजित भयौ र मर्दै छौ। त्यसैले हे लक्ष्मण अब शक्ति तिमीहरूको हातमा छ, तर अहंकार नलिनू।’
नेपालका सत्ताधारीहरूको अहंकारले जनयुद्ध सुरुवातमा ठूलो सहयोग गर्योर। अहिले चार दल, राष्ट्रपति र अध्यक्षले के गर्ने हुन्?

No comments:

Post a Comment