Friday, 19 July 2013

‘तिम्रो निम्ति बरु यो गए गइजाला तिमीसँग गहिरो माया बस्यो जलजला’

मानसिंह वि.क.
रोल्पा /
‘तिम्रो निम्ति बरु यो गए गइजाला
तिमीसँग गहिरो माया बस्यो जलजला’
माओवादी जनयुद्धको बेला चर्चित गीत हो यो । यो गीत राजनीतिक भावका साथ लेखिएको भए पनि जलजलाको सौन्दर्यलाई अनुभूत गर्ने हो भने यो गीतको भावलाई प्राकृतिक रुपमा पनि परिभाषित गर्न सकिन्छ ।
प्राकृतिक अदभूत सौदन्र्यले भरिएको जलजला निकै आर्कषक र मनमोहक मानिन्छ । माओवादी जनयुद्धकालमा जलजला पहाडलाई क्रान्तिको प्रतिकको रुपमा मानिदै आएकाले पनि जलजला पहाडले धेरै चर्चा पाएको छ । जलजला पहाड राजनैतिक रुपबाट चर्चाको शिखरमा पुग्नुको साथै अहिले यो प्राकृतिक, धार्मिक, साँस्कृतिक र पर्यटकहरुको आर्कषणताको केन्द्र बनिरहेको छ ।
प्राकृतिक सौन्दर्यको अदभूत सुन्दर कला ! रोल्पाको गौरव हाम्रो जलजला !! भन्ने शब्द अधिकांश रोल्पाली जनताको जनजिब्रोमा झुण्डिएको छ ।  थबाङ, जेलबाङ, मिरुल, उवा, सेरम र धवाङको बीचमा रहेको सामरिक महत्वको पहाडको हो जलजला ।  दशवर्षको जनयुद्धको समयमा धेरै चर्चामा रहेको जलजला शान्तिकालिन समयपछि अहिले पर्यटकीय क्षेत्रको रुपमा तीव्र विकास र विस्तार हँुदै आइरहेको छ । जलजला पहाड रोल्पाको सरदरमुकाम लिवाङबाट २४ कोष पूर्वको व्यापारिक केन्द्र सुलिचौरबाट २२ कोष टाढा उत्तरमा पर्छ । रोल्पाको उच्च भागमा रहेको जलजलाको समथल क्षेत्र समुद्री सतहबाट ३१९३ मिटर उचाईमा रहेको छ । पर्यटकहरुको मुलद्वारका रुपमा रहेकोे थबाङ गाउँबाटै जलजलाको मनमोहकता शुरुहुन थाल्छ । त्यस पहाडको सुन्दरता अवलोकन गर्नेहरुको भिड विगत जस्तो धेरै अहिले नभए पनि जलजलाको रमणीय वातावरणले जो कसैको मनलाई पनि नलोभ्याइरहन सक्दैन । अहिले पर्यटहरुलाई आकर्षण गर्ने गरी जलजला पर्यटन विकास वोर्डले जलजला क्षेत्रलाई व्यवस्थित गरी विकास गर्नतर्फ मेहनतका साथ लागिपरेको छ । जलजला पहाडको सुन्दरता मौसमको फेर बदलसंगै अझ झन् मनमोहक लाग्ने गर्छ । विभिन्न थरीका फूलहरुले जलजलालाई ढाकेका हुन्छन् । मंसिर, पुस र माघमा जलजलालाई हिउँले ढपक्कै ढाकेको हुन्छ । त्यो सेतो हिउँ नविलाउँदै फागुनदेखि जलजला पहाडको स्वरुप बदलिन शुरु गर्छ । आधा दर्जनभन्दा बढी विभिन्न थरीका लालीगुराँसका पूmलहरुले मान्छेको मन नै लोभ्याइ दिन्छ । ती लालीगुराँसलाई मगर खामभाषामा चेम्ला, कहँवै, रथविरथ भनिन्छ । यी गुँरासहरु रातो रङको चैत र सेतो चेम्ला बैशाखमा फूल्ने गर्दछ । यी सप्तरङ्गी लालीगुराँसको नजिक पुगेर त्यहाँको आनन्द लिदा स्वर्ग पुगेको अनुभूति गर्न थाल्छन यहाँका यूवा–यूवतीहरु । जलजलाको यौवनको समय त झन् असार र साउन महिनालाई मानिन्छ । जमिन भरी नै पानीले स्प्रीङ जडान गरिएको चप्पल लगाएको जस्तो हुने जलजला भरी नै साना बैजनीरङका विभिन्न फुलहरुले लोभ्याउने गर्छ । वर्षमा एकपटक जलजला गएर फोटाहरु खिचेर आप्mना घरका कोठाहरु सजाउने सपना रोल्पाका हरेक यूवा–यूवती, केटाकेटी र बुढाबुढीहरुमा  समेत रहेको  देखिन्छ ।
जलजला क्षेत्र वन्यजन्तुको बसोबासका लागि पनि उपयुक्त छ । यस क्षेत्रमा डाँफे, मुनाल, कालिज, भालु, घोरल, मृग, बदेलहरु पाइन्छन् । जलजला क्षेत्रमा पाँच औंले पदमचाल्ना, जटामसी, केशरनिङ लगायतका करिव सयभन्दा बढी प्रजातिका जटिबुटीहरु पाइन्छन् । जलजला क्षेत्रभित्र गामको बिवाङ दह, स्यूरी र हार्जङबीचको सुनछहारी हुनुले पनि त्यसक्षेत्र पर्यटकीय दृष्टिले निकै महत्वको मानिन्छ । जलजला पर्यटन क्षेत्रमा फलाम, सिसा, तामा लगायतका खनिज पदार्थको खानी पनि रहेको छ । यसलाई औद्योगिकरण गर्न सकियो भने त्यहाँका जनताको जीवनस्तर निकै माथी फड्को मार्ने छ । जलजलालाई पर्यटनक्षेत्रको रुपमा अगाडि बढाउनको लागि जलजला पर्यटन विकास वोर्डले आफ्ना दीर्घकालीन योजना अगाडि सारेको छ । अहिले भर्खरै भत्किएको मन्दिरलाई पुनःनयाँ संरचनामा निर्माण गरिसकिएको छ भने जलजलाको बीचमा हिमताल पनि निर्माण गरिएको छ ।
जजलजा पहाडको नाम बलिदानसँग अभिन्न रुपमा गाँसिएको छ । पर्यटन क्षेत्रको विकासका साथसाथै राजनैतिक र बलिदानीको केन्द्रको रुपमा पनि स्थापित गर्न लागिपरेको जलजला पर्यटन विकास वोर्ड रोल्पाका अध्यक्ष प्रवेश रोका बताउनु हुन्छ । जलजलाको सबैभन्दा अग्लो भाग धरमपानीमा सहिद स्मृति स्तम्भ छ । जलजलाको वरिपरि राता हसियाँ हतौडा अंकित झण्डाहरु फहराइरहेका देखिन्छन् । जलजलालाई सुन्दर बनाउनको लागि परिश्रम गरिरहेका जनताहरु जलजलालाई विश्वमा चिनिएकाले यसलाई पर्यटकीय रुपमा विकास गर्न लागिपरेको वताउँछन् । जलजला पहाडलाई चर्चामा पु¥याउनको लागि नेपाली जनयुद्धमा होमिएका सहिदहरुको बलिदानी, जनताको श्रम, नेता कार्यकता र कलाकारहरुको गीत र साहित्यकारहरुको कलमले जलजला पहाडको चर्चा विश्वमा फैलिएको हो भन्ने स्थानीयबासी जो कसैले पनि भन्छन् ।
जलजला पहाडको नाम चर्चित हुनुमा माओवादी जनयुद्धको केन्द्र रोल्पा र नेपाली क्रान्तिको आधारइलाका थवाङ रहेका छन् । युद्धमा वलिदान गर्ने जेलबाङ लगायत जनयुद्धमा शहादत प्राप्त गर्ने सहिदहरु चुनु गुरुङका ‘तिम्रो निम्ति बरु यो गए गइजाला, तिमीसँग गहिरो माया बस्यो जलजला’ गीत कणालीका देउडा भाकामा ‘ए सिस्ने जलजलाका शिरहरु’ लगायतका गीतहरु माओवादी कार्यकताहरुले आफ्ना संस्मरणका अक्षरहरुमा जलजलाको बारेमा गरिएको वर्णनले नै जलजला पहाडको नाम यति धेरै चर्चामा आएको कुरा सत्य हो ।
जलजला पहाड राजनीतिक केन्द्रमा चर्चाको नाम भएतापनि आर्थिक अभावले पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधारहरु तयार हुन सकेको छैन । यसलाई पर्यटन बर्ष २०११ मा प्रबद्र्धन गर्नसके पर्यटकीय रुपले यो क्षेत्र साँच्चै मायालु हुने निश्चित छ ।

No comments:

Post a Comment