Thursday, 25 July 2013

नरबहादुलाई मन पराउने नर्सहरु

बोमलाल गिरी - ठ्याक्कै तीन महिना अघि अर्थात २०७० बैशाख ९ गतेको दिन । सन्दर्भ नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस ।

त्यही अवसरमा नेपाल कम्युनिष्ट पार्टीको संस्थापक मध्येका एकमात्र जीवित नेता नरबहादुर कर्माचार्यलाई भेट्न म उहाँको निवास ललितपुरको बालकुमारी पुगे ।
घर ठ्याक्कै थाहा थिएन । त्यसैले उहाँले बताएको ठाउँ अनुमान गर्दै एउटा घर छेउमा मोटर साइकल रोकेर वरिपरी कसैलाई सोध्न खोज्दै थिएँ, भ्यालबाट चियाउँदै, उहाँले सोध्नुभयो ‘तपाई हो बोमलाल ?’
उहाँ भान्साको झ्याबाट मलाई हेर्दै हुनुहुँदो रहेछ । उहाँले भित्र बोलाउनु भयो । म सिधै उहाँको भान्सा कोठामा नै पुगें । उहाँ अम्लेट पकाउँदै गीत गुनगुनाउँदै हुनुहुन्थ्यो :
बखत भयो अव यहि हो बेला
नजर उघारी हेरिदेउ
हे देवी दुर्गे, जगत कि आमा
पुकार हाम्रो सुनिदेउ
यो देश सुध्रियोस्, यहि छ आशा
समय सबैको सपारीदेउ
हामी नेपाली, नेपाल हाम्रो
यो भाव सबैमा जगाईदेउ
पछि बुझ्दा उहाँले विं.सं. २००५ सालमा गाएको गीत रहेछ यो । उहाँले तावामा अम्लेट बनाइरहँदा मैंले उहाँको खाना खाने टेवुलको मेचमा बसेर उहाँको गीत सुनिरहेँ र त्यो गीत रेकर्ड पनि गर्दै रहें । केहि बेर उहाँसँग केहि कुराकानी भएन ।
अम्लेट बर्नाइसकेपछि एउटा हातमा अम्लेट र अर्को हातमा चम्चा बोकेर बैठक कक्षतिर जाउँ भन्दै उहाँले मलाई डोर्‍याउनुभयो । म उहाँको पछि–पछि लागे ।
पुरानो घर, दुईवटा सोफा अनि भूँईमा कपडाका चकटी । मेरो नजर एक चोटी भित्तामा ठोक्कियो । जमानाका फोटोहरु झुण्ड्याईका रहेछन् ।
उहाँले प्लेटमा एउटा अम्लेट बोक्नु भएको थियो । मलाई आधा–आधा खाउँ भनेर आग्रह गर्नुभयो । तर मेरो जोडवल पछि उहाँले अम्लेट खानुभयो र त्यसपछि औपचारिक कुराकानी सुरु भयो ।
अहिलेका कम्युनिष्ट पार्टी नाम मात्रका कम्युनिष्ट पार्टी बनेको र कम्युनिष्ट सिद्धान्तमा नहिँडेकोमा उहाँको ठूलो चिन्ता थियो । उहाँसँग कम्युनिष्ट पार्टीको स्थापना दिवसका बारेमा छोटो कुरा गरेपछि पारिवारिक र उहाँको व्यक्तिगत जीवनीका बारेमा धेरै कुराकानी भयो ।
सिधै सोधें बिवाह किन नगर्नु भएको ?  
उत्तर तुरुन्तै आयोः ‘कहिले जेल परियो, कहिले निर्वासनमा । त्यसैले विवाह प्राथमिकतामा परेन र विवाह गरिएन ।”
केहि बेर गम खाएपछि उहाँले थप्नुभयो ‘एक पटक विवाह गर्ने तय भएको थियो, सबै तयारी पूरा भएको थियो तर त्यही बेला मेरो ठूलो बुवा बित्नुभयो । मसँग विवाह गर्न ठिक्क परेकी केटी बीरगञ्जकी थिइन । मसँग नभएपछि अन्तै विवाह गरिदिएछन् ।’
त्यसपछिका दिन बिवाह, घरजम तिर भन्दा जेल यात्रा तिर धेरै सोझिएछन् । ४५ वर्ष पुग्दासम्म धेरै पटक जेल परेपछि उमेर मिल्दी केटी नै पाइएन रे बिवाह गर्न । त्यसैले पछि उमेर मिल्दो बधु नपाउनु नै उहाँको बिवाह नहुनुको कारण बन्यो ।
उमेरमा मन पराउनेहरु त थिए होलान् नी ?
चाउरी परेको मुहार एक्कासी केहि तन्कियो अर्थात हाँसो देखियो मुहारमा । ‘एऽऽऽ त्यस्ता त कति थिए कति, पछि लाग्थे उनीहरु’ उहाँको छोटो जवाफ ।  
बिसं २०१६ सालमा ललितपुर नगरको मेयर समेत भएका कर्माचार्यले त्यतिबेलाका कुरा सुनाउँदै भन्नुभयो ‘म मेयर भएको बेला हैजा फैलिएको थियो । शान्त भवन अस्पतालले २५ जना नर्स दिएको थियो । ती त सबै मेरो पछि पछि लाग्थे । तर भने जस्तो भएन ।’
अनी उहाँले चैं कतिलाई मन पराउनु भयो त ?
हाँस्दै उहाँले भन्नुभयो ‘यस्तो कुरा कसरी भन्नु ? मन त पर्‍यो नि तर विवाह गरिएन ।’
यो समय उहाँलाई यो वार्तालापका लागि सम्झिने उचित समय नहुन सक्छ । तर उहाँले आफ्नो व्यक्तिगत जीवनका बारेमा मुसुक्क मुस्कुराउँदै दिएका जवाफ मलाई अहिले पनि झल्झली सम्झनामा छ । बिहान कर्माचार्यको निधन भएको खबर सुन्ने वित्तिकै मैंले उहाँलाई त्यहि हँसिलो मुहारमा सम्झिएँ ।
तर उहाँ अब हामी माझ हुनुहुन्न । सादा शैलीमा आफ्नो सम्पूर्ण जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा समर्पण गरेका नरबहादुर कर्माचार्य प्रति हार्दिक श्रद्धासुमन, उहाँको आत्माले शान्ति पाओस् यहि कामना ।  

No comments:

Post a Comment