Saturday, 6 July 2013

जनयुद्ध सुरुवातको योजना कस्तो थियो?– अर्जुन मल्ल


०५१ फागुनमा भएको तेस्रो विस्तारित बैठकमा जनयुद्धको फौजी कार्यदिशा पारित भएपछि र नाम परिवर्तन गरी नेकपा (एकता केन्द्र)को बदलामा नेकपा
(माओवादी) राखिएपछि देशव्यापी रूपमा कार्यकर्तामा उत्साह वृद्धि भयो र जनयुद्ध तथा नेतृत्वप्रति पनि विश्वासको सञ्चार भयो। ‘अब भने जनयुद्धमा जाने भइयो,’ कार्यकर्ताहरूमा यस्तो आत्मविश्वास पैदा हुन थाल्यो। त्यसबेला प्रचण्डले फौजी योजना नल्याएको भए के हुन्थ्यो? एमालेको सरकारले केही लोकप्रिय कार्यक्रमसहित जनताको मन जित्ने प्रयास सुरु गरिसकेको थियो। यसबाट माओवादीसमर्थक जनता र एक हिस्सा कार्यकर्तालाई प्रभावित पार्दथ्यो र माओवादीमा पहिरो जाने क्रम सुरु हुन्थ्यो। पार्टीभित्र बादलले प्रचण्डको विरुद्ध गुटवन्दी तीव्र बनाउँथ्यो र प्रचण्डलाई पदबाट हटाउने सम्भावना बढ्थ्यो।
प्रचण्डले जनयुद्ध सुरुवातको एक वर्षपछि लेखेका थिए, ‘ऐतिहासिक तेस्रो विस्तारित बैठकपछि सिङ्गो पार्टी जनयुद्धको अन्तिम तयारीमा जुट्यो। तयारीका सन्दर्भमा जनपरिचालन र पार्टी परिचालनका सयौँ कार्यक्रम सम्पन्न भए। यस दौरानमा भएका कार्यक्रमहरूको एउटा विशेषता के रह्यो भने …. जनयुद्धको अन्तिम तयारीका अधिकांश हिस्सा संशोधनवादी एमाले गुटले सामन्तवाद साम्राज्यवादको नयाँ नोकरको रूपमा सरकारमा बसेर जनताका विरुद्ध अपराध गरिरहेको अवस्थामा पूरा गरियो। परिणामतः पार्टीका प्रत्येक कार्यक्रम संशोधनवादमाथि तीखो प्रहारका बीचमा सम्पन्न हुन जान्थे।’ (क्रान्तिका समस्याहरू भाग १ पृष्ठ १३७)
०५२ भदौमा एमालेको सरकार ढल्यो र देउवाको नेतृत्वमा पूर्वपञ्चहरूको पार्टी राप्रपा तथा सद्भावना पार्टी सम्मिलित सरकार बन्यो। यसले जनयुद्धको औचित्य पुष्टि गर्न मद्दत गर्‍यो र जनयुद्धको तयारीलाई राम्रो मलजल गर्‍यो। यस घटनाले गर्दा प्रतिक्रियावादीहरूले कम्युनिस्टहरूलाई शान्तिपूर्ण चुनावी प्रतिस्पर्धाबाट आफ्ना जनपक्षीय कार्यक्रम लागू गर्न दिँदैनन् भन्ने पुष्टि गर्न माओवादीलाई सजिलो बनाइदियो।
यसैबेला ०५२ असोजमा माओवादी पार्टीको केन्द्रीय समितिको बैठक गोरखामा बस्यो। यही गोरखा बैठकमा नै ‘जनयुद्ध सुरुवातको ऐतिहासिक योजना’ तयार भयो। जनयुद्धको पहिलो योजना नाम दिइएको प्रचण्डले पेस गरेको यस योजनामा भनिएको थियो, ‘आज पार्टीको माथिदेखि तलसम्मको मूल संयन्त्र तयारीको चरणबाट सङ्घर्षको पहलकदमीको चरणमा प्रवेशका लागि मानसिक रूपले तयार भएको छ। यसरी वस्तुगत एवम् आत्मगत दुवै हिसाबले नेपालमा सशस्त्र सङ्घर्षको पहल गर्ने ऐतिहासिक योजना निर्माणको परिस्थिति तयार भएको छ।’ (दस्तावेजहरू पृष्ठ ३४२)
यस योजनाको सुरुमै प्रचण्डकै भाषामा ‘भोलिका तुफानी दिनहरूमा पार्टीभित्र देखापर्न सक्ने विविध भड्काउहरूको खतरालाई दृष्टिगत गरी पार्टीका सैद्धान्तिक प्रतिबद्धताहरूलाई सूत्रबद्ध’ गरिएको छ। (क्रान्तिका समस्याहरू पृष्ठ १३८) ती प्रतिबद्धताहरूमा भनिएकोछ― १) जनयुद्धका सिद्धान्तप्रति अविचल रहने, २) राज्यसत्ताबाहेक सबै भ्रम हो भन्ने मान्यतामा आधारित हुने, ३) एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारा वर्ग एवम् आमजनताप्रति अपराध हुने कुरामा हामी दृढ छौँ। यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिइने छैन, ४) यसले विश्वक्रान्तिको सेवा गर्नेछ, ५) जनतासँग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्तप्रति अविचल रहने, ६) कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवम् विदेशी प्रतिक्रियावादी गुटहरूको दबाब, धम्की र प्रलोभनमा पर्नेछैन, ७) जित र हार, उपलब्धि र क्षतिका चक्रहरू प्ाार गरेर नै जनयुद्ध विजयी बन्नेछ।
(दस्तावेजहरू पृष्ठ ३४३) प्रचण्ड–बाबुरामहरूले यी प्रतिबद्धता कति पालना गरे यो विषय अहिले तीव्र विवादमा छ।
जनयुद्ध थालनीको योजनालाई तीन उपचरणमा विभाजन गरिएको थियो– थालनीको तयारी, थालनी र निरन्तरता। जनयुद्धको पहिलो योजनाका तीन लक्ष्यहरू निर्धारण गरिएका थिए― १) सशस्त्र सङ्घर्षको राजनीतिलाई व्यावहारिक अभिव्यक्तिका साथ स्थापित गर्नु २) नया जनवादी क्रान्तिका लागि सङ्घर्षको प्रधान रूप युद्ध हो र सङ्गठनको प्रधान रूप सेना हो भन्ने मान्यतालाई विभिन्न दलहरू तथा छापामार कारबाहीका माध्यमबाट अभिव्यक्त गर्नु ३) मुख्य इलाकाहरूलाई छापामार इलाकामा विकास गर्ने आधार तयार पार्ने। यस योजनाको मूल नारा थियो– ‘नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ उ’ सहायक नाराहरू थिए– पञ्च–काङ्ग्रेस गठबन्धन सरकार मुर्दावाद, जमिन कसको जोत्नेको, विद्रोह जनताको अधिकार हो, नयाँ जनवादी क्रान्ति जिन्दावाद, जनयुद्ध जिन्दावाद, संशोधनवाद नवसंशोधनवाद मुर्दावाद आदि। साथै निम्न कुराहरू समेटेर विशिष्ट नाराहरू बनाउन निर्देशन थियो– सामन्त जमिन्दारको जग्गा र पर्ती कब्जा गरी भूमिहीन गरिब किसानहरूमा वितरण गर्ने, सामन्तहरूको बाली कब्जा गर्ने, कृषि बैंकलगायतका बैंकहरूको ऋण नतिर्ने, रोजगारीका निम्ति सङ्घर्ष उठाउने, सहकारी खेतीका लागि किसानलाई प्रेरित गर्ने र सङ्गठित गर्ने, ग्रामीण कृषि उत्पादन पद्धतिमा वैज्ञानिकीकरण गर्ने, आत्मनिर्भर अर्थतन्त्रका लागि स्थानीय स्रोत र साधनको सिर्जनात्मक परिचालनमा जोड दिने, महिलामाथि पैतृक सम्पत्तिलगायतका आर्थिक, राजनीतिक र सामाजिक जीवनका सबै क्षेत्रमा रहेका सामन्ती पितृसत्तावादविरुद्ध समान अधिकारका निम्ति सङ्घर्ष गर्ने, जातीय स्वायत्तता, दलित जातिमाथिको शोषण–उत्पीडनविरुद्ध नारा उठाउने, क्षेत्रीय भेदभावका विरुद्ध सङ्घर्ष, धार्मिक थिचोमिचोका विरुद्ध धर्मनिरपेक्ष राज्यको नारा उठाउने।
जनयुद्धको सुरुवातका लागि तयारीको विस्तृत योजनालाई चार भागमा विभाजित गर्‍यो। १) वैचारिक तयारीअन्तर्गत सबै क्षेत्रहरूमा प्रमुख एवम् सक्रिय कार्यकर्ताहरू छानेर केन्द्रीय कार्यालय अर्थात् प्रचण्डले नै जनयुद्धको योजना र थालनीबारे प्रशिक्षण दिने र त्यसपछि क्षेत्र र जिल्लाहरूले पनि सेल कमिटीसम्म नै प्रशिक्षण दिने, जनयुद्धबिना मुक्ति सम्भव छैन भन्ने जनमत तयार पार्न व्यापक प्रचार गर्ने, पुरानो राज्यसत्ता र संसदीय व्यवस्थाको भण्डाफोर गर्ने २) पार्टी सङ्गठनलाई कमान्ड सिस्टममा लाने र सिङ्गो देशलाई चार क्षेत्रीय कमान्डमा विभाजन गरी वरिष्ठ नेताहरूलाई कमान्डको जिम्मा दिने, जसअनुसार पश्चिमाञ्चलमा बादल, मध्यमाञ्चलमा बाबुराम, उपत्यकामा किरण (मोहन वैद्य), पूर्वाञ्चलमा गौरव (सीपी गजुरेल)लाई जिम्मा दियो र प्रवास
(भारत)को जिम्मा प्रचण्ड आफैँले लिए। साथै पार्टीका कामकारबाहीहरूलाई पूर्ण भूमिगत ढाँचामा रूपान्तरण गर्ने निर्णय लियो।
सेना निर्माणका लागि केन्द्रमा पोलिटब्युरोले र जिल्लामा सेक्रेटरियटले सैन्य आयोगको काम गर्ने, लडाकु दल यथासम्भव जिल्ला कमिटी सदस्यको नेतृत्वमा तीनदेखि सात सदस्यको मात्र बनाउने, प्लाटुन कम्पनीजस्तो ठूला दल तत्काल नबनाउने र निश्चित कारबाहीका निम्ति आवश्यक परेमा विभिन्न दलहरूलाई जोड्ने, लडाकु दलमा सदस्य बन्न पार्टी सदस्य हुन अनिवार्य नहुने र दलमा साहसपूर्वक नयाँ सदस्य भर्ती गर्ने नीति लिने, महिला र पुरुषको अलग दल नबनाउने र एउटै दल बनाउने, प्रत्येक एरिया कमिटीले सुरक्षा दलहरू बनाउने र प्रत्येक सेल कमिटीले स्वयम्सेवक दलहरू बनाउने, सम्पूर्ण पार्टीयन्त्रलाई कुनै न कुनै रूपमा जनयुद्धको काममा संलग्न बनाउने निर्णय लियो।
प्रमुख जनवर्गीय सङ्गठनहरूका नेताहरूलाई युद्धको सुरुवातसँगै अर्धभूमिगत जाने र पछि भूमिगत जाने, प्रमुख जनवर्गीय सङ्गठनहरू स्थानीय रूपमा नै क्रियाशील बनाउने, अरू जनवर्गीय सङ्गठनलाई सकेसम्म खुला रहने नीति बनाउने, प्रवासका सङ्गठन भने सम्भव भएसम्म खुला राख्ने पनि निर्णय लियो।
प्राविधिक कामहरूमा जनयुद्धका लागि आवश्यक न्यूनतम सामग्रीहरू सङ्कलन गर्ने, निशाना छनोट र सर्भे गर्ने, स्ौन्य प्रशिक्षण दिने, लजिस्टिक सङ्कलन गर्ने निर्णय गर्‍यो। प्रचण्डको प्रस्तावमा भनिएको थियो, ‘यो योजना कार्यान्वयन गर्न सामान्यतः अनुमानअनुसार कम्तीमा २० लाख रुपैयाँ अनिवार्य छ। तयारीपूर्व केन्द्रसँग कम्तीमा १० लाख र प्रत्येक क्षेत्रसँग १ देखि डेढ लाखसम्म रहनु आवश्यक देखिन्छ। यसका लागि सबै क्षेत्रले तयारीकै क्रममा एक:।ब्।९ःयलभथ ब्अतष्यल० गर्ने, केन्द्रीय योजनाबमोजिम चन्दा अभियान चलाउने। केही प्राविधिक सामान (बन्दुक) हरू दुश्मनबाट कब्जा गर्ने।’ (दस्तावेजहरू पृष्ठ ३५०)
भारत प्रवासलाई प्रचार गर्ने र लडाकु आपूर्ति गर्ने हिसाबले सङ्गठित गर्ने र उपत्यकामा प्रचार गर्ने, कार्यकर्ता तयार पारी गाउँतिर पठाउने, गाउँको सङ्घर्षलाई सहयोग पुग्ने कारबाही गर्ने तथा अहिलेदेखि नै भावी विद्रोहको तयारीका रूपमा काम सङ्गठित गर्ने र गचदबल नगभचचष्ििब धबचाबचभ को कार्यनीति अपनाउने निर्णय पनि यसै पहिलो योजनामा भयो।

No comments:

Post a Comment