Saturday, 6 July 2013

अजम्मरी कम्युन

थवाङ (रोल्पा) - राममाया रोका निजी घर छाडेर समूहमा बस्न थालेको १० वर्ष नाघ्यो। उनी २०६० जेठ १४ गतेदेखि थवाङ गाविसको राचीबाङस्थित अजम्बरी जनकम्युनमा बस्दै आएकी छिन्।उनका पति ताराप्रसाद माओवादी जनयुद्धमा सुरक्षाकर्मीबाट मारिए। जनमुक्ति सेनामा हिँडेका जेठा छोरा समायोजनपछि नेपाली सेना बनेका छन्।

कान्छा छोरा पनि काठमाडौंतिरै छन्। कम्युनमा उनको परिवारका तीनजना मात्रै बस्छन्। बूढी आमा, दुई वर्षे नाति र बुहारी।

जनयुद्धमा लागेको अभियोगमा सेनाले उनहरूको दुई घर जलाइदियो। ताराप्रसाद उनलाई कम्युनमा प्रवेश गराएर ६ महिने गण्डक अभियानमा हिँडे। तर, उनी कहिल्यै फर्केनन्। 'जेठाजु आशबहादुर र धुते रोकालाई पनि फुपुको घरबाट लगेर सेनाले गोली ठोक्यो,' ६० वर्षे राममायाले सम्भि्कइन्।    

पहिला परिवार सानो थियो, कम्युनमा आएपछि ठूलो भयो। उनीहरू मिलिजुली खेतीपाती गर्न थाले। सामूहिक काम, सामूहिक आम्दानी र सामूहिक खर्च। 'कम्युनले सामूहिक भावना जगायो,' राममाया भन्छिन्, 'हाम्रो त बाँच्ने आधार नै कम्युन हो।' असार पहिलो साता कम्युन पुग्दा राममाया नातिलाई च्यापेर तरकारी केलाउँदै थिइन्।

आमा कहिलेसम्म कम्युनमा बस्ने?

'बाँचुन्जेल,' उनले सजिलै जवाफ फर्काइन्।  

उनले बाँकी जीवन कम्युनमै बिताउने रहर पाले पनि कम्युनकै भविष्य भने अन्योलमा छ। माओवादी शान्ति प्रक्रियामा आएपछि बिस्तारै कम्युनप्रति मोहभंग हुन थाल्यो। वर्गविहीन समाजको भाषण गर्ने नेता धमाधम विलासी बन्दै गए। चिल्ला गाडी र ठुल्ठूला महलमा बस्न थाले। उनीहरूमा देखिएको विचलनको प्रभाव कम्युनसम्म पर्‍यो। नेताहरूको जीवनशैलीप्रतिको वितृष्णाले कम्युन छाड्ने क्रम सुरु भयो।  

नेताहरूमा देखिएको विचलन त छँदैछ, सामूहिक बसाइसमेत सुविधायुक्त नभएकाले कम्युन छाड्ने क्रम बढेको देखिन्छ। 'समाजवाद स्थापना गर्न थालिएको जनक्रान्तिमा मन्दी आयो,' कम्युन इन्चार्ज प्रवेश रोका भन्छन्, 'माओवादी नेताहरूमा गैरसर्वहारावादी चिन्तन देखियो। उनीहरू सुविधाभोगी बन्दै गए। त्यसको असर कम्युनसम्म आइपुग्यो।'

माओवादी दुई फ्याक भएपछि त्यसको पनि असर पर्‍यो। कम्युनमा बस्नेहरू आ–आफ्नै घर फर्कन थाले। ३३ परिवार घटेर कम्युन आज १४ परिवारमा सीमित भएको छ। त्यसमा पनि चार परिवार नियमित छैनन्। दुई जनाको परिवार एकल छ, इन्चार्ज प्रवेश रोका र लप रोकाको।

कम्युनका सदस्यहरू वैद्य माओवादीतिर लागेका छन्। सहिदका परिवार र द्वन्द्वमा बढी दुःख पाएकाहरू कम्युनमा बसिरहेका छन्। कम्युन छाड्नेहरूको एउटै भनाइ छ, 'साम्यवादमा पुग्न हिँडेका नेताहरू सत्ता सुखमा अल्भि्कएपछि हामीले कम्युनिस्टले कल्पना गरेको आदर्श समाज स्थापना हुने देखेन र आफ्नै घर व्यवहारमा फर्कियौं।'

No comments:

Post a Comment