Friday, 12 July 2013

दुई किलो चामलले कति दिन, कतिजना पालिने हो ?

rice-slip-khalangaनेपाली कांग्रेसका सभापती सुशिल कोइराला यतिखेर अमेरिकामा उचार गराइरहेका छन् । प्रचण्डलाई आजकाल हाछ्युँ लाग्दापनि बिदेशमा जचाउने बानी लागेको छ । उनकी पत्नी सितालाई सिंगापुरमा उपचार गराउन लगेपछि ब्यक्त गरिएका नागरिकक गुनासाप्रति उनको कुनै चासो देखिन्न । राष्ट्रपती कुनै गम्भिर रोग नलागी जापानमा उपचार गराएर फर्किए । पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चिकित्शकहरुले नेपालमा उपचार संभव छ भन्दाभन्दै लाखौं डुबाएर आएका थिए ।
यसको लर्को लामो हुन्छ । कांग्रेस र एमालेका धेरै नेताले यसै गरेका हुन् । तर देशकै अदुरदर्शी नितिले गर्दा घरबारबिहिन बनेका दार्चुलाका नेपाली भने एक छाक खान नपाएर कसरि तड्पिएका छन् हेर्नुस् त । पत्रकार तिर्थ कोइरालाले फेसबुकमा राखेको यो जानकरिलेनै देखाउँछ, दिनभरि लाईन बसेर सिडियो कार्यालयबाट बल्ल बल्ल दुई किलो चामल पाएका छन् । अर्थात् दुई किलो चामल लिन सिडियो कार्यालयमा लाईन बस्नुपर्ने । 
बाढीले खलंगा बजारलै सत्यानाश पारेर बगाइदिएपछि एकाएक खलंगाबासी घ्रबारबिहिन बने । तर त्यहाँ राहतको सामाग्रि अझै पुर्‍याउन सकेका छैनन् । चुनावमा हेलिकोप्टर प्रयोग गर्न पाउनुपर्छ कि पाउनुहुन्न भन्ने दलहरुको गलफत्तीमा बैठक बसिरहन्छ सरकारका मन्त्रीहरुको । श्रमिक, मजदूर, सुकुम्बासीको पार्टी भनिएको एकिक्रित नेकपा माओवादी चुनाबमा हेलिकोप्टर प्रयोग गर्न पाउनुपर्छ भन्ने शर्त राख्छ । तर उपनि खलंगामा हेलिकोप्टरबाट भएपनि खाद्दान्न लगेर पुर्‍याउ भन्न सक्दैन । न त कांग्रेस, एमाले, मदेशका दलहरुलेनै दबाब दिन्छन् ।
जनता बिहानदेखि साँझसम्म सिडियो कार्यालय अगाडि लाईन बस्छन् । मान्छेका पेट अनुसार हैन, सिडियो कार्यालयले लाईन बस्नेलाई बढिमा हप्तामा पाँच किलो चामल दिन्छ । हप्तामा दुई किलो मात्रै दिने निर्णय गरेको सिडियो कार्यालयमा चर्को बिरोध गर्पछि बला पाँच किलो दिइएको रहेछ । त्यो पाँच किलो चामलले खाने के हो ? दश जनाको सिंगो परिवार छ भने कति छाकलाई पुग्छ पाँच किलो चामलले ? पाँच किलो सकिएपछि खाने के ? के भोक भोकै मर्ने ? आफ्ना जहान बालबच्चालाईपनि हेरि हेरि भोकै मर्न दिने ?
सरकारले धेरै त गर्न सक्दैन नै । खलंगा रातारात फेर्न संभव छैन । रातरात पहिलेको जस्तै झिलिमिली खलंगा बनाउन संभव छैन । त्यो त पिडित नागरिकहरुलेपनि बुझ्छन् नै । तर कम्तिमा त्यहाँका जनताले पेटसम्म भर्न पाउनुपर्छ कि पर्दैन ? टाउको ओत्न पाउनुपर्छ कि पर्दैन । भोको पेट भरिदिन सम्म त सरकार सफल हुनुपर्छ । नाथे खानसम्म दिन नसक्ने, आपतपर्दा केहि हजार नागरिकलाई पाल्नसम्म नसक्ने सरकार, देश हाँक्छु भन्ने पार्टीले कसरि देश चलाउने ? कसरि गर्छन् देशको विकाश ? नागरिकले खान नपाएर भौंतारिएका बेला श्रीमती च्यापेर बिदेशका महँगा अस्पत्ताल धाउने नेताको कसरि हुन्छ जनतामा बिश्वास ? आफ्ना देशका दाजुभाई दिदीबहिनीहरु खान नपाएर छट्पटिएको बेला स्वदेशमै हुने उपचार प्रक्रिया लत्याएर बिदेशका महँगा अस्पत्ताल चहार्नेहरुमा कसरि जनताको नेता हुँ भन्ने नैतिकता रहन्छ ?
बरु बिदेशमा बसेका नेपालीहरुले यसमा चासो राखेका छन् । संवेदना देखाएका छन् । बिदेशका बिभिन्न मुलुकमा रहेका नेपालीका संघसंस्थाहरुले अनेक कार्यक्रम गरि सक्दो रकम संकलन गरेर बरु भावनात्मक रुपले बढि साथ दिएको देखियो । हाम्रा पार्टी, नेता जो अब केहि सातापछि तिनै जनताकहाँ भोटको बिटो माग्न जाँदैछन्, तिनमानै खलंगावासीको दुखप्रति खासै चासो र चिन्ता देखिएन ।
बाढी र पहिरोले पिल्सिएका खलंगाबासीहरुको अवस्था खानै नपाएर झन बिकराल बनेको छ । तर जनताका नाममा कसम खाएर मत लिएका, राजनिति गरेका राजनितिक दल, नेताहरु कोहि जान भ्याएका छैनन् । तिनको दुखसुखमा साथ दिन, बुझ्न हाम्रा नेतालाई फुर्सद हुन्न । तर भारतीय बिदेशमन्त्री आउँदा भने सिंगापुरबाट हतार हतार फर्किएर भेट्न प्रचण्डलाई समय मिल्छ । भारतीय नेतालाई भेट्न एमाले, नेपाली कांग्रेस र मधेशी दलका सबै नेतालाई चासो लाग्छ । समय जतिपनि मिल्छ । तर खलंगाबासीलाई भेट्न तिसित समयनै छैन । यसले हाम्रा नेता, राजनितिक पार्टी र नेताहरुमा थोरैपनि आफ्ना नागरिकहरु प्रति जिम्मेवारीबोध नभएको संकेत गर्छ । मानविय संबेदनापनि हराउँदै गएको प्रमाण हो यो ।

No comments:

Post a Comment