Tuesday, 9 July 2013

यार्सा गतिविधि



विगत वर्षहरूभन्दा यस वर्षको यार्सा सिजन केही दिन लम्बियो। जेठ ४ बाट सुरू भएको मैकोटको यार्सा सिजन यही आषाढको तेस्रो सातासम्म कायम रह्यो। विगतभन्दा यस वर्ष यार्सागुम्बाको भाउ आकासियो। सुरुमा यार्सागुम्बा सिजन व्यवस्थापन समिति र यार्सा व्यापारी समूहको सामुहिक निर्णयबाट यार्सा भाउ प्रतिबोट ४ सय रुपैयाँ तोकिएको भएपनि जेठको तेस्रो साताबाट बोटको १ हजार देखि १५ सय सम्म विक्री-वितरण गरियो।
Yarsa Activities 2070

सधैंजसो व्यापारी तथा कमिसनवालाहरूले भरपूर नाफा गर्ने क्रमलाई यसपल्ट स्थलगत यार्सा सङ्कलकहरूले तोडेका छन्। यार्सा खरिद गर्न पुगेका व्यापारीहरूभन्दा यार्सा खोजी गर्ने सङ्कलकहरूले राम्रो आम्दानी गरेका छन्। समाजमा जो निरीह, निमुखा र सुविधाबन्चित थिए, तिनीहरूले यो साल राम्रो आम्दानी गरेका छन्। केटाकेटी र लगनशील अभिभावक भएका घरधुरीले यार्सा टिपेर मात्र ४-५ लाख बराबरको नगद भित्र्याएका छन्। मैकोट १ निवासी ४३ वर्षीय नेवार पुन एक्लैले मात्र यार्सा टिपेर २ लाख कमाएका छन्। उनी एक सकृय भेडा गोठाला समेत हुन्। यसैगरी मैकोट ३ निवासी ३९ वर्षीय जीतराज कामी एक्लैले साढे २ लाख रकम हात पारेका छन्।

यार्सा क्षेत्रमा टिप्न जाने सर्वसाधारणले कम्तिको पनि प्रतिव्यक्ति ३० हजार कमाइ गरेका छन्। मैकोट पुपाल क्षेत्रमा रुकुम लगायत रोल्पा, बाग्लुङ, म्याग्दी, डोल्पा, जाजरकोट, सल्यानबाट यार्सा टिप्न सर्वसाधारण पुगेका थिए। कोही कसैले काठमाडौं, पोखरा र नेपालगन्जबाट हेलिकप्टर चार्टर समेत गरेर यार्सा खरिदको लागि ठूलो रकम भित्र्याएका थिए।
स्मरणीय रहोस्, ४ हजारदेखि ५ हजार मिटर उचाइको भौगोलिक अवस्थिति र चिसो हावापानी भए पनि यहाँ कुनै सुगम ठाउँको हाटबजारको झैं झलक महसुस हुन्थ्यो। जुवाघर, होटेल, हाइभिजन हल, रोदीघर तथा अन्य खेलकुद कार्यक्रम आदिको कुनै अभाव थिएन। बालकदेखि बुढासम्म सबै आ-आफ्नो रुचिअनुसारको मनोरन्जनमा मस्त हुन्थे। एउटा विशेष उत्सवभन्दा फरक थिएन यहाँको गतिविधि। प्रहरी प्रशासनको उपस्थितिले शान्ति सुरक्षाको प्रत्याभूति प्राप्त थियो जनमानसमा। निर्धक्कसाथ व्यापार व्यवसायमा व्यस्त थिए सर्वसाधारण। फाट्टफुट्ट केही झडप र हानपिटको अवस्था समेत सिर्जना भएको थियो बुकीमा। खुला मदिरापानका कारण असहज परिस्थिति भईरहेको भन्ने सहजै अनुमान गर्न सकिन्थ्यो। भलै यस्ता घटनाहरूले उग्र रूप लिन पाएनन्। स्थानीय मैकोटी युवा र प्रहरीको सकृयतामा शान्ति तथा अमनचैन कायम रहन गएकोमा मैकोट प्रशंसित छ। बुकीमा सबैभन्दा बढी बियर, तुङ्बा र घरेलु रक्सी खपत भएको थियो।
समितिले यो सिजनमा मात्रै झण्डै ८० लाख बराबरको रोयल्टी असुली गरेको छ। सर्वसाधारणबाट १५ सय, मैकोटवासीबाट १ हजार, स्थानीय कमिसनवाला प्रति व्यापारीबाट २५ हजार, प्रति चौपायाबाट ५ सय, होटेल करवापत् प्रति होटेल २ हजार असुलिएको थियो।
यसै साल एक उल्लेखनीय कार्य पनि भएको छ। जिल्ला वन कार्यालय र जिल्लाका अन्य स्थानीय सरोकारवाला सरकारी निकायहरूको आपसी निर्णयबाट ‘यार्सागुम्बा व्यवस्थापन तथा राजस्व अभिवृध्दि योजना’ कार्यक्रमको सफलतापूर्वक परीक्षण सम्पन्न गरियो। यस कार्यक्रमबाट जि.व.का.को कोषमा ६० लाखको हाराहारीमा राजस्व भित्रिएको छ। कुल सङ्कलित रकमको १० प्रतिशत रकम जि.वि.स.को विकास कोषमा जम्मा हुने भन्ने जानकारी समेत यार्सा सङ्कलकहरूलाई पूर्व-जानकारी गराइएको थियो। वनरक्षकद्वय विश्व केसी र रामप्रसाद पुनको विशेष सकृयतामा जि.व.का.बाट बुकीमै छोडपुर्जी वितरण गरिएको थियो।
दुई दशकको अन्तरालपछि यार्सागुम्बामा जि.वि.स. रुकुमले आफ्नो अंशिक पहुंच पुर्‍याएको छ। वन तथा जैविक विविधताको संरक्षणसँगै जीविकोपार्जनका लागि जि.व.का. र अन्य सामुदायिक वनविकाससम्बध्द निकायहरूबाट पनि यार्साबाट दिगो आम्दानी गर्न सकिने रणनीति अख्तियारी गर्न केही सघाउ पुग्नेछ। राजस्व आम्दानीको हिस्सेदारीले गर्दा विकासका नवीन आयामहरू थपिने प्रष्ट आधारहरू बनेका छन्, विकासमुखी द्वारहरू अझ खुल्दै जाने सम्भावना बढेको छ।
यसैक्रममा नेपालकै एक उत्कृष्ट च्याउको पहिचान स्थापित गराउन र पर्यटन विकासको माध्यमबाट यहाँका समुदायको सामुदायिक सशक्तीकरण गर्न पर्यटनमैत्री मार्ग ‘यार्सा ट्रेक’ स्थापना गराउने प्रयास भईरहेको छ। यसको पहलका लागि रुकुमका नेतृत्व तह, जिल्लाका उच्चपदस्थ सरकारी अधिकारीहरू र समग्र मैकोटी समुदाय एकै पंक्तिमा उभिएका छन्। यस प्रस्तावित नवीन मार्गलाई विकास गर्नका लागि प्रारम्भिक चरणमा ‘गुरिल्ला ट्रेक’का अन्वेषक अमेरिकन नागरिक Alonzo Lyons लाई अन्वेषकको रूपमा खटाइएको छ। निकट भविष्यमा प्राकृतिक र सांस्कृतिक सम्पदाका धनी मैकोटले यस कार्यको सफलताबाट अनुपम फाइदा लिन सक्नेछ।

    No comments:

    Post a Comment