● नरबहादुर कर्माचार्य
यो त्यस समयको कुरा हो जतिवेला काठमाडौमा राणा शासनको विरोध गरेका कारणले चार जनालाई सजायस्वरुप मृत्युदण्ड दिइएको थियो । म करिब १६–१७ वर्षको थिएँ । ति व्यक्तिहरुलाई फाँसी दिने तथा गोली हानेर प्राण हरण गर्ने भनेर काठमाडौंमा ठूलो चर्चाको विषय भएको थियो ।
वि.सं. १९९७ को त्यस दिन म पनि सिफलमा ति थुनुवाहरुलाई हेर्न भनेर गएको थिएँ । त्यस समयमा अहिलेको जस्तो प्रहरी, सिपाही हुँदैन्थ्यो तिनिहरुलाई आठ पहरिया भनिन्थ्यो । त्यस दिन सिफलमा धर्मभक्त माथेमालाई फाँसी दिएको हेर्न गएको बेला केही युवकहरुले आठ पहरियाहरुलाई ढुंगा प्रहार गरे । माथेमालाई मृत्युदण्ड दिएर पशुपति सम्म लगेका थिए दाहसंस्कारका लागि, म त्यहाँसम्म गएको थिएँ । म ति सबै घटनाहरु हेरेर फर्केको थिएँ । मेरो मनमा किन हो थाहा भएन तर निरन्तररुपमा फाँसी दिएको हेरेर घर आउने वेला साँझसम्म आक्रोश पैदा भैरहेको थियो । शायद त्यो राणा विरोधी आक्रोश नै थियो । पशुपतिवाट साँझ घर पाटन आउने वेला वाग्मती पुलमा मलाई कसैले समायो तर किन भन्ने केही थाहा भएन । झमक्क अँधेरो भएकाले मलाई समाउने को हो भन्ने समेत मैले चिन्न सकिन । ती व्यक्तिलाई मैले अहिलेसम्म चिन्न सकेको छैन, लाग्छ ति रामप्रसाद नै थिए । त्यसवेला राणा विरोधी कुनै पनि मोर्चामा सहभागी भएको थाहा पाएमा मारिने डर निरन्तर रहन्थ्यो ।
वागमती पुलमा मलाई कसले समाएको हो भन्ने समेत थाहा नभएको मलाई त्यस दिनले र त्यही व्यक्तिले नेपालको क्रान्तिमा होमेको हो । पहिला यो राणा विरोधी आन्दोलन हुँदै पछि प्रजातन्त्र र हुंदा हुंदै नेपाली जनताको मुक्तिको आन्दोलनमा होमिन पे्ररित गरेको हो । तर शायद त्यो भन्दा पनि धेरै राणाहरुले माथेमालाई दिएको फाँसीको सजायले नै मलाई नेपाली क्रान्तिमा लागि रहन पे्ररित गरिरहने कारण बन्यो । त्यस समयमा राणाहरुको एकतन्त्रीय जाहानिया शासनको विरोध गर्न सात जनाको एउटा टिम बनाएर प्रजातन्त्र संघको नाम दिएको थियो । जसमा भरत दास, पुष्पलाल श्रेष्ठ, शंम्भुराम, गुणलाल, भैरव गोपाल, कामक्षादेवी र प्रेमबहादुर कंशाकार थिए । मैले पछि यसैमा संगठित भएर राणा विरोधी आन्दोलनमा सहभागिता जनाएको थिएँ । यो नै मेरो पहिलो संगठन थियो जसमा म संगठित रुपले काम गरेको थिएँ । त्यस संघको नियम वडो अनौठो र कडा प्रकृतिको थियो । त्यस समयमा कुनै व्यक्तिलाई संगठनमा कामगर्न आवद्ध गरेको खण्डमा आगोको ज्वालामा कसम खुवाएर रगतले सही गर्नु पर्दथ्यो । युवा अथवा प्रौढ नै किन नहोस यसले संगठनकोलागि काम गर्नेक्रममा कति सहयोग गर्नसक्छ र कति इमानदार छ भनेर त्यो परीक्षण गर्ने तरीका रहेछ । मैले पनि आफ्नो हात चक्कुले काटेर देखाएको थिएँ ।
त्यस मानिसले मलाई सोधेको थियो कस्तो लाग्यो तिमीलाई यो सवै ? मैले पनि जबाफमा सबै वाहियात हो यस्तो गर्नु हुदैन थियो भनेर भने त्यसपछि त्यस मानिसले मलाई तिमीपनि यो काममा दृढतापुर्वक लाग्न सक्छौ भनेर सोध्यो ? मैले अनायाश नै हुन्छ भनिदिएछु । त्यसपछि त मैले तिनीहरुसँग नै काम गर्नुपरेको थियो । त्याहाँवाट राणा शासनको विरोधमा हामी केही जनामात्र काठमाडौवाट निस्केका थियौं । धर्मभक्तलाई फाँसी दिएको तीन चार दिनमा मलाई भेट्न भैरवगोपाल आएका थिए । उनीपनि पाटनका नै थिए उनी मेरो घरमा आएर तिमीले यस्तो कुरा गरेको हो भनेर सोधे मैले वुझेँ यो बाग्मतीको पुलमा गरेको कुराको प्रसङ्ग हो भन्ने त्यसपछि मैले हो भने । अनि उनले मसंग केहिवेर कुरा गरेर हामी राणाविरोधी आन्दोलनमा लाग्नुपर्छ भनेर गएका थिए । त्यस बेलासम्म म मात्र होला भनेको होइन रहेछ हाम्रो घरको माइला बासंग पनि त्यही कुरा गरिएको रहेछ । उनले र मैलेपछि सम्म संगै काम गरेका थियौ । त्यससमय पार्टीको निर्णय भन्दै हामीलाई बाघ मारेर ल्याउन लगाएका थिए, किन होला भनेको त हाम्रो सुरोपन हेर्नका लागि रहेछ । मैले पछि थाहा पाएँ । बाघ मार्न निर्देशन दिएकाले म र काका भएर हामी दुवै जना गोदावरीको जंगलमा दिनभर बाघ खोज्दै वितायौ तर सफल हुन सकेनौ । हामीले अनेकन कामहरुलाई अन्जाम दिनु अगाडि हामीलाई पशुपतिको जंगलमा राजनीतिक प्रशिक्षण दिएका थिए ।
त्यसबेलामा सैनिकहरुभन्दा पनि राणाका निकट रहेका सुराकीहरुसंग ज्यादै डर हुने गर्दथ्यो । हामीलाई थाहा पनि नहुने तर हाम्रो बारेका सबै कुरा राणाहरुलाई थाहा हुने गर्दथ्यो । त्यसैले पार्टीले उच्च प्रकारको सुरक्षा अप्नाएको थियो । हामीले अनुशासनको प्रशिक्षण लिन राति र दिन गरेर धेरै प्रशिक्षणमा सहभागिता जनाएयौं । त्यस वेलाको हाम्रो प्रशिक्षणस्थल मुख्य गरेर पशुपति र स्वंयम्भुको जंगल हुने गर्दथ्यो । त्यसपछि हामीलाई ‘साम्यवाद र सन्देश’ भन्ने पुस्तक पढ्न दिएका थिए । मैले पढेको माक्र्सवादी विचारधारा भएको पहिलो पुस्तक त्यही हो । त्यसबेलासम्म हामीले तीन वर्ष बिताई सकेका थियौं । त्यसैगरी २००३ सालको अन्तिममा विराटनगर जुट मिलमा आन्दोलन भयो । पार्टीले मलाई काठमाडौंबाट विराटनगर जुटमिलमा मजदुर संगठनमा खटाएको थियो । जुट मिलको मजदुर आन्दोलन हुँदा म त्यहीँ कार्यरत थिएँ । यता काठमाडौमा छँदा हामीले भजन मण्डली जस्तो बनाएर गीत गाउने र संगठनको काम गर्ने गर्दथ्यौं तर एक दिन मलाई प्रहरीले पक्रियो । शम्भुराम श्रेष्ठ, पुष्पलाल श्रेष्ठ, हिक्मत सिंह चार महिला गरी ४५ जना जतिलाई पक्रेर ल्याएको रहेछ । हामीलाई थुनेर राखेको ठाउमा हामी गीत गाएर वस्ने गर्दथ्यौं । तर मलाई चिनेको एक जना पाटनको मान्छे आयो त्यसले मलाई चिनेको रहेछ । उसले सरकारलाई विन्तीपत्र हाले मैले छुटाई दिउला भन्यो तर मैले तिमीले छुटाउनु पर्दैन भनि दिएं । हामी थुनुवामा भएको वेला हरेक विहान एउटा केटी गुलाफको फूल लिएर हामी भए ठाँउमा आउने गर्थी । तर हामीले वुझ्न नसक्ने किन हो भनेर । शायद एउटा कुनै हाकिमको छोरी थिई जस्तो लाग्थ्यो तर एक दिन एकजनाले गाली गरेपछि त्यो आउन छोडी ।
त्यस समयमा पद्म शमशेर प्रधानमन्त्री थिए हामीलाई सातौं दिनका दिन पद्म शमशेरकोमा लगेर बरान्डामा राखे अनि पद्म शामशेरले हामीलाई नागरिक अधिकार भनेको के हो भनेर सोध्यो । ‘फ्रिडम अफ प्रेस, फ्रिडम अफ एसोशियसन, फ्रिडम अफ लिट्रेचर एण्ड एक्सप्रेसन’ भनेर शम्भुरामले भन्यो । त्यसपछि पद्म शमशेरले तिमीहरुले भनेको कुरा म बाह्र दिनमा दिन्छु भनेर जानुभन्यो । हामी छुटेर आयौं तर हामीलाई बल्ल थाहा भयो हामीलाई राखेको ठाँउभन्दा २०० मिटर पर बि.पी. कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला लगायतका पाँच जनालाई राखेको रहेछ । हामी बाहिर निक्लिदा बल्ल थाहा पायौं बाहिर त ठूलो जुलुस आएको रहेछ । हामीलाई छुटाउन र स्वतन्त्रताको पक्षमा हामी लगत्तै त्यसमै मिसिएर गयांै । पुष्पलाल र मसँगै पढेको साथी अनि गंगालाल श्रेष्ठ मेरो सानी आमाको भान्जो ।
२००४ सालमा बनारसमा नेपाली राष्ट्रिय कांग्रेसको फागुन अन्तिममा अधिवेशन भयो जसको सभापतिमा डिल्लीरमण रेग्मी चुनिए । नेपालको जेलमा थुनिएका बि.पी. औषधी उपचारको लागि भनेर भारत गएका थिए सम्मेलनमा भाग लिन नसके पनि पछि उनी पुगे । जयप्रकाश नारायण, लोहिया, नेहरु लगायतको जोडमा उनी नेपालबाट छुटेर गएका थिए । बि.पी. बनारस गएपछि रेग्मी र बि.पी.को बस्चमा मतभेद उत्पन्न भयो । मतभेदको मुल जरो सभापति कसलाई मान्ने भन्ने नै थियो । जबकी दुबैले आफुलाई नै सभापति भनी दाबी गरिरहेका थिए । त्यसले नेपालको आन्दोलनमा समेत असर पर्छ भनेर कयौं लिडरहरु नेपालबाट भारत गएर यो विवादलाई मिलाउने प्रयास गरेका थिए । राणाहरुसंग लडनु पर्नेमा आफूबीचमा भएको यो बिवादले नेपालमा समेत ठूलो रुप लिएको थियो । रेग्मीले आफुलाई अधिवेशनले चुनेको सभापति भनिरहेका थिए भने बि.पी. आफूलाई नै सभापति मान्नुपर्नेमा जोड दिइरहेका थिए । प्रेमबहादुर कंशाकार भने रेग्मीको पक्षमा लागे उनी त्यसबेला महामन्त्री थिए भने गणेशमान सिंह बि.पी.को पक्षमा लागे । कंग्रेसमा भएको यस बिवादकोबीचमा नै प्रद्युम्न शमशेरहरुले डेमोक्रेटिक कंग्रेसको गठन गरे । तर यता प्रजातन्त्रवादी शक्तिहरुका बीचमा भने जनताको शक्ति बिना यो विवादलाई मिलाउन सकिदैन र यसो हुन नसकेको खण्डमा नेपालको प्रजातान्त्रिक आन्दोलन कम्जोर हुन्छ भनेर गोपालप्रसाद रिमालको संयोजकत्वमा नेपाल प्रजा पञ्चायत संघको गठन गरियो यसको मुख्य काम नै रेग्मी र बि.पी.लाई एकताबद्ध गराउनु थियो ।
मेरी आमा म छ वर्षको हुंदा बित्नुभएको थियो । मेरो मावली नरदेवीमा भएकाले गणेशमानले मलाई चिन्दथे । हामी यही शिलशिलामा कलकत्ता र बनारस जाने भयौं । हामी रक्सौल पुग्दा त बि.पी. पहिलेदेखि नै त्यहीं बसेका रहेछन् । मलाई गणेशमानले अचानक रक्सौलमा देखेकाले उनी मसँग नेवारीमा बोल्न थाले । गणेशमानसँगको एकछिन भलाकुसारी पछि हामीले बि.पी. र रेग्मीलाई मिलाउन भूमिका खेल्न आएको भनेको गणेशमानले हामीहरु मिली हाल्छौं तपाईंहरु आफु आफु मिल्नुस भनेर पो भने ।
त्यो समयसम्म कम्युनिष्ट पार्टीको गठन भएको थिएन तर वामपन्थी विचारधाराको उदयका कारण उनीहरुले हामीलाई भिन्नरुपमा हेर्ने गर्दथे । केदारमान व्यथित, मथुरामान, इश्वरी सुन्दर हंँुदै हामी बनारस गयौ । बनारसमा कृष्णप्रसाद भट्टराई, मातृका कोईराला, बालचन्द्र थिए । हामीले रेग्मीसँगको छलफललाई अगाडि बढायांै तर उनले मानेनन् । रेग्मीले कांग्रेसका लागि पढे लेखेको मान्छेको आवश्यकता भएको भन्दै उनले आफैलाई उपयुक्त पात्र बताए । तर, कृष्णप्रसादले रेग्मीलाई कायम गर्दा रहेछन् । त्यही छलफल कै क्रममा सुर्यप्रसाद उपाध्याय आएर हामीलालई कलकत्ता लगे । गोपालप्रसाद रिमाल, कृष्णप्रसाद भट्टराई, धर्मभक्त यमी, नरेन्द्रमान र म कलकत्ता गयौ ।
हामी कलकत्तामा पुगेको थाहा पाएर पुष्पलाल श्रेष्ठ आईपुगे र मसँग विशेष छलफल भयो । हामीले कांग्रेसको बीचमा भएको त्यो असमझदारीलाई हल गर्नका लागि लगभग एक महिना जति पटना, कलकत्ता र बनारस धाई नै रह्यौं । हामीलाई त्यस समयमा आर्थिक रुपमा सहयोग गर्ने सुर्यप्रसाद उपाध्याय नै हुन । उनी पछि बि.पी. प्रधानमन्त्री हुँदा गृहमन्त्री पनि भए । त्यसपछि हाम्रो पटनामा एक दिन बृहत वैठक वस्यो जसमा हामीहरु प्रजा पञ्चायतको तर्फवाट, रेग्मीको समुह, मातृका र बालचन्द्र र सुर्यप्रसाद लगायतको चार समुहको बैठकले असमझदारीलाई घटाउन पहल गरेको महŒवपुर्ण बैठक थियो त्यो । तर पनि कुरा मिल्न सकेन ।
वि.स.१९९७ मा नै प्रेमबहादुर कंशाकार बाहेक हाम्रो समुहमा काम गर्ने साथीहरु सवै आफूलाई कम्युनिष्ट नै भन्ने गर्दथे । मलाई पुष्पलालले एकताको दौडधुप सक अनि बसेर केहि गर्नुपर्छ भनेका थिए । उनी त्यस अघि नै कम्युनिष्ट पार्टी खोल्ने विषयमा विचाराधीन रहेका रहेछन् । हामीले त्यस समयमा नै क्रान्तिकारी गीत गाउने गर्दथ्यौं ।
“नास गरौं यो राणाशाही झण्डा लाल समाऔं
दूर हटाई धनी गरीबी सबको राज्य बसाऔ
रक्त बहाई जनसम्पति सब पैदा गर्छौं हामी
तैपनि किन हो हाय अचम्म भोकैमर्छौं हामी ”
कांग्रेसको कुरा मिलाउन नसकेपछि म रेग्मीसंग अयोध्या गए । अयोध्यामा १५–२० दिन बसे पछि एकदिन त रेग्मी मसंग पो रिसायो कारण के रहेछ भनेको त हामी वीचमा झगडाको विउ रोप्ने नै यी नेवारहरु हुन भन्न थाल्यो । रेग्मीको यो कुरा पछाडि त्याहाँ वस्दै गरेका अरु साथी पनि रेग्मीसित रिसाए । तर उसले त अझै अनौठो कुरा पो गर्यो। रेग्मीले त्यसवेला मेरै घरमा बसेर मेरो नै विरोध गर्ने भन्न थाल्यो ।
त्यसपछि झगडा पर्ला जस्तो भयो । वल्ल वल्ल थामथुम पारियो । दुई दिन त्यसैगरी के वित्दै थियो अर्को दिनको दिउसो जसो मलाई एउटा तार (पत्र) आयो । पत्र पुष्पलालले पठाएका रहेछन् तर त्यो तारमा पाउनेको नाम चाहिँ मेरो र काईला बा को थियो । त्यसमा लेखेको कुरा मलाई अझै पनि सम्झना छ । त्यसमा ‘कम टु सुन एट एनी कस्ट इन कलकत्ता’ लेखिएको थियो । त्यस समयमा हामीसंग पैसा नै थिएन । तर त्यो तार रेग्मीले देखेपछि उसले १५ रुपिया दिएर मलाई कलकत्ता पठायो । त्यस समयमा अयोध्यावाट कलकत्ताको भाँडा ११ रुपैयाँ थियो । तर त्यसदिन रामनवमी परेकाले गाडीहरु रहेनछन् मैले रातभर रेलवे स्टेशनमा बसेर भोलीपल्ट बिहान मात्र बनारस पुग्ने ट्रेन समाएको थिएँ ।
बनारस त पुगेँ तर मलाई छिटोभन्दा छिटो कलकत्ता पुग्नु थियो टे«न चार घण्टा लेट भयो । लेट हुनको कारण चाहीँ हामी जाने रुटमा टे«नको दुर्घटना भएको रहेछ । त्यसपछि म बनारसका साथीहरुलाई भेट्न भनेर गएँ त्यहाँ रामलाल हलुवाई, बटुक र दिबाकर थिए । उनीहरुसँग मैले केही कपडा र पाँच रुपैयाँ लिएर कलकत्ता गएँ । त्यस बेला डेम्रोक्रेटिक कंग्रेसको अफिस कालाप्रेस भन्ने ठाँउमा थियो । म जाने ठाँउमा त मेरो ट्रेनमा बसेका बंगालीहरु पनि कलकत्ता त्यही काला प्रेसमा जाने रहेछन । अनी उनीहरुसँग नै गएर पुष्पलाललाई मैले खवर पठाए म आईपुगें भनेर ।
पछि मलाई कृष्णा होटलमा बोलाए । अनि पुष्पलाललाई भेटेपछि कम्युनिष्ट पार्टी गठन गर्ने कुरा भयो । नारायण विलास, निरन्जन वैद्य पहिला नै त्यहीं रहेछन अनि म पुगें । हामी चार जना भयौं पुष्पलालसहित । पार्टी गठन गर्नु अघि कलकत्ताका कमरेड वेदीसँग हामीले सात दिनको प्रशिक्षण लियौं । त्यहाँ काईला बालाई पनि बोलाएको उनी आएनन् । त्यस समयमा उनी कालिगञ्जको स्टुडीयोमा काम गर्ने गर्दथे । त्यसपछि हामीले कम्युनिष्ट पार्टी खोल्ने निर्णय गर्यौं र त्यसकै पहलकदमीमा अगाडि वढ्ने निर्णय पनि गरियो । तर पार्टीको घोषणा गर्ने उपयुक्त दिनको प्रतिक्षामा हामी थियौं ।
हामीले त्यो उपयुक्त समय लेनिन डे नै हो भनेर लेनिन डे को दिन पार्टीको घोषणा ग¥यौं । हामीले गठन गर्ने क्रममा पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द वैद्य, नारायण विलास र म थियांै तर हाम्रो पछि डा. केशरजंग रायमाझी लागेका रहेछन् । यो खबर निरन्जनले गरेको रहेछ । तर पुष्पलालले रायमाझीलाई लिन मानेनन् उनले रायमाझीलाई सामन्तको छोरो यसले क्रान्ति भाँड्छ भन्थे ।
त्यसपछि हामीले वैशाख ५ का दिनमा विज्ञप्ति निकालेर अगाडि गयौं । लेनिन डेको दिनमा पुष्पलालले हातले लेखेर ल्याएको कम्युनिष्ट घोषणा पत्र र राणा विरोधी राजनीतिक प्रतिबेदनलाई पास गर्दै हामीले कम्युनिष्ट पार्टीको गठन गरेका थियौं । राणाविरोधी एउटा पर्चा पनि हामीले पास गरेका थियौं जसलाई हामीले वैशाख १२ गतेका दिन कम्युनिष्ट पार्टीको नामबाट प्रकाशित गर्यौं। पार्टी गठन भएको एक ढेड महिनापछि मोतिदेवी श्रेष्ठलाई पुष्पलालले नियुक्त गरेका हुन् । तर उनलाई अहिले पनि एमालेले कम्युनिष्ट पार्टीको संस्थापक मान्ने गरेको छ । तर उनी स संस्थापक सदस्य भने होइनन् ।
प्रस्तुती : जय कार्की, रबि खड्का
No comments:
Post a Comment