Sunday, 21 July 2013

महिला जनसेनाले कल्पना गरेको नेपाल

 नसिर खान / बेल्जियम

guerilla_girl_injured_in_tansenजनसेनाले बेनी सदरमुकाम हिर्काई सकेर करिब १४/ १५ दिन पछि हिर्काउने समुहहरुको लहरो सल्यान, रुकुम र सुर्खेतको संगम (डी एस पी ठुले राईलाई महिनौ बन्दक बनाएर राखिएको क्षेत्र) सल्ली बजार हुँदै सुर्खेतको राकम बाटो भएर फर्किने क्रम एक्कासी बढ्दै गयो । समुहका धेरै लडाकुहरु घाइते थिए । गोलि लागेका । बम का छर्राहरुले भेटेका । लडेर हात खुट्टा भाँचिएका आदि आदि ।
हाम्रै घरमा गोलि गट्टा सहित ३७ जनाको टोलि बास बस्यो । रात  झमक्क परेपछि आएको टोलीले खान खाने कुराको आग्रह गरे । एक त देशको अमुल परिबर्तन लागि ज्यान थपेर लडेका । त्यस माथि युद्ध घाइतेहरु सहयोग न गर्ने त कुरै थिएन । घरमा भएका औषधीमुलो देखि लिएर चामल, मकै, तेल, नुन भान्सा कुनैपनि कुराहरुमा उनीहरुलाई कमि गरिएन । अझ घाइतेहरुको लागि भएका डसना सिरक आदि इत्यादी ।घर हस्पिटल जस्तै भएको थियो । लडाकुहरुलाई केहि कुरा को आबस्यकता छ कि भनि सोध्ने क्रममा सबैकुरा पुगेको र सहयोगको लागि निकै नै हार्दिकता साथ् धन्यबाद खाइयो । मध्य रातमा लडाकुहरुको खानपिन कार्यक्रम पनि समाप्त भयो । अनि चल्यो घाइतेहरुको सुत्ने क्रम र स्वस्थ लडाकुहरुको गफ र पहरा दिने काम । किन कि मात्र २२ किलोमिटर पर छिन्चु बजारमा सेनाको ब्यारेक थियो । मेरो घर जनसरकारको अधिनमा रहेको ठाउँ भए पनि केहि गडबड भएको सुइँको पाउनासाथ लडाकुहरुको शब्दमा “दुस्मनहरु” ठुलो डफ्फामा  गस्ती गर्न आइहाल्थे । 
आफुलाई करिब १३ महिना अगाडी त्यहि क्षेत्रमा भएको दोहोरो भिडन्तमा झन्डै मारिएको कुरा झल्झली याद थियो । त्यसैले मन देखि नै सहयोग गरेपनि आफ्नो ज्यानको माया पनि पक्कै थियो । भन्छन नि “जान है तो जहाँ है” हो त्यस्तै ।
आँखा मा निन्द्रा थिएन । धेरै लडाकुहरु पनि सुतेका थिएनन् । घाइतेहरु सिबाय । सोहि क्रममा समुहका एक जना लडाकुले रेडियो चलाउन ब्याट्रीको लागि म सित अनुरोध गरे । म सित ब्याट्री नभएको बरु रेडियो भएको कुरा गर्दा १-२ घण्टा सुन्नको लागि रेडियो नै मागे । म पल्टिएको खाटको छेउमा मैले बस्न अनुरॊध गर्दा उनि त्यहि बसेर रेडियो ट्याँट्याँ र टुँटुँ पार्न थाले । जाजरकोटबाट प्रसारण हुने उनीहरुको आफ्नै एफ एम रेडियो थियो । हामीहरु पनि प्राय युद्दको गतिबिधि थाहा पाउनको लागि त्यो स्टेशन सुन्ने गर्थ्यौं । तर अधिकारिक स्टेशन र गतिलो प्रबिधि नभएकोले कहिले निकै सफा र कहिले स्टेशननै नसमात्ने समस्या कुनै ठुलो कुरो थिएन । सो दिन पनि  खास राम्रो गरि कुनै पनि स्टेसन समातेंन र उनले होस् भएन भनेर रेडियो फिर्ता गरे । र उनि म सित गफ गर्न मुखारित भए ।
घर रहेछ, सिन्धुली । संगठनका जुझारु कार्यकर्ता रहेछन । मोहन बिक्रमको मसाल हुँदै युद्ध बाट नै देश परिबर्तन हुन्छ भनि माओबादी मा पसेका रहेछन । संगठनको बिकास गर्दा गर्दै पछि जनमुक्ति सेनामा आफुलाई ट्रान्सफर गरेर कार्य क्षेत्र अछाम जिल्ला परेका रे । २०५८ फागुन ४ गते मंगलसेनको सफल आक्रमणबाट पदोन्नति भइ जाजरकोटको काला पत्थर एरियाका सैन्य सह-इन्चार्ज भइ बेनी हान्न गएका रहेछन । बेनी आक्रमण पछि उनको मातहतमा भएका ५८ जना ग्रुपबाट छिन्न भिन्न भएका आफ्ना र अरुका गरेर आफु सहित ३७ जना को टोलि लिएर १५ दिन पछि राकम आइ पुगेका रहेछन ।
उनीसित भएका कुराका सह्रा वृतान्त सुनाएर पनि सकिँदैन । सोहि क्रममा एक जना २१/२२ वर्ष जति उमेरकी कि युवती पनि हामीहरु गफ गरेको ठाउँमा आइन । मसित परिचय सुरु भयो । काभ्रेपलान्चोक, नेपालटार कि नेपालथोक भन्ने ठाउँ कि रहिछिन । मलाई तिनको नाम र थर दुवै थाहा छ । चापागाई थर थियो । नाम चै नभनौ क्यारे । किन कि जो म सित गफ गरिरहेका लडाकु थिए ति अहिले माओबादीका निकै ठुला मान्छे हुन् । ति लडाकु युवती सो दिनको २० /२२ दिन पछि नै नेपालगंज जाने क्रम मा कोहलपुरमा सेनाबाट समातिएर पछि ब्यारेकमा नै सेनाले अनेक यातना दिएर मारेछ ।
ति युवती को भनाइ अनुसार हाम्रो देश आहिले ” प्रबस ” पिडा मा छटपटाइ रहेकी महिला हुन् रे । जब तिनले सुन्दर बच्चा जन्माउने छिन् त्यो बेला तिनको साह्रा दुख कष्ट एक मिनेटमा चट हुने छ । उनि र उनको सम्पूर्ण घरका सदस्यहरु खुसीले गद गद भएर हास्ने छन् रे । हो त्यस्तै आउँदो केहि महिना भित्र नै नेपाल आमा पनि त्यसरी नै हाँस्ने छिन् रे । र नेपाल आमाका सबै खाले सन्तान बराबरी हुने छन् रे । अनि सबै सन्तानले आमाको बराबरी माया पाउने छन् रे । सबैलाई बराबरी अंश लाग्ने छ रे । कुनै पनि सन्तान अहिलेको जस्तो कोहि धनि र गरिब हुँदैन रे । कोहि दुखि र कोहि सुखी हुँदैनन् रे । तर दुर्भाग्य, बिचरा ति अभागी लाई के थाहा उनि र उनि जस्ता हजार सच्चा योद्दाहरुको काँधमा बन्दुक राखेर गोलि चलाउनेहरुले नै उत्तर र दक्षिणतिरका छिमेकीहरुलाई देश भाग लगाई सके । हामी निम्छरा जनताहरु जस्ता को त्यस्तै भन्ने । नेपाल र नेपालीहरुको सुन्दर भबिस्य देख्ने तिनलाई के थाहा तिनकी नेपाल आमाको सुन्दर बच्चा नजन्मिदै पापीहरुले गर्भमा नै तुहाइदिए भन्ने ।

No comments:

Post a Comment