Tuesday, 23 July 2013

चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्षे सपना


चीन सन् २०३० अगावै संसारको पहिलो अर्थतन्त्र बन्नेछ

प्रदीप ज्ञवाली
‘सोभियत सङ्घको कम्युनिष्ट पार्टीमा त्यतिबेला कति सदस्य थिए, तपार्इहरूलाई थाहा छ ? डेढ करोडभन्दा बढी थिए । तर, जब सोभियत सङ्घ विघटन हुने बेला आयो, स्वयं पार्टी सदस्यहरूसमेत आफ्नो पार्टीको रक्षाका लागि मैदानमा उत्रिएनन्, जनताको त कुरै छाडौं । किन ?’ चाइना एक्ज्युकेटिभ लिडरसिप एकेडेमी, पुदोङका उपाध्यक्ष प्रोफेसर जियाङ हाइसानले हामीतिर हेर्दै सोधे । प्रश्न गम्भीर थियो र जटिल पनि । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निम्तोमा चीन पुगेका हामी एमाले प्रतिनिधि मण्डल हामी ८ जुलाईका दिन बिहान साङ्घाईस्थित एकेडेमीमा छलफलमा थियौं ।
pradip gyawaliयो एकेडेमीबाट केही किमी टाढा एउटा पुरानो ढाँचाको, ढुङ्गे ढोका भएको दुई तल्ले घर छ, जहाँ सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो अधिवेशन भएको थियो । विभिन्न समूहमा छरिएका ५३ जना पार्टी सदस्यमध्येबाट चुनिएका १३ जना प्रतिनिधिहरू सहभागी थिए, अधिवेशनमा । सङ्ग्रहालयको रूपमा सुरक्षित राखिएको त्यस भवनको एउटा कक्षमा गर्मागर्मी बहसमा भाग लिइरहेका प्रतिनिधिहरू र तिनलाई संवोधन गर्दै गरेका माओ चतुङको प्रतिरूप (डमी) छ । गाइडले डोहोर्‍याएर त्यो कक्षमा पुर्‍याउँदा एकछिन त म अकमक्किएको थिएँ- बैठक चलेको ठाउँमा किन ल्याएको होला, ‘डिस्टर्ब’ हुन्छ भनेर । उभिएका प्रतिरूप ठ्याक्कै माओ जस्तै थिए र एक छिन त मलाई लाग्यो पनि- अब कामरेडले ‘निहाऊ निपार कामरेड !’ भनेर हात हल्लाउनेछन् ! जुलाई २३ बाट सुरु भएको अधिवेशन ३० गते एउटा जासुस झ्याप्पै भित्र पसेपछि बिथोलिएको थियो र कामरेडहरूले डुँगामा बसेर अधिवेशन समापन गरेका थिए । १९४९ मा क्रान्ति सम्पन्न हुँदासम्म संस्थापकहरूमध्ये माओ र अर्को एकजना मात्रै जीवित रहेछन् । बाँकी या त मारिएका रहेछन्, या विश्वासघाती बनेका ।
चिनियाँ कम्युनिष्ट पार्टीसँग आज ८ करोड ५० लाख पार्टी सदस्यहरू छन् र गएको ६४ बर्षदेखि पार्टीले सत्ता सञ्चालन गरिरहेको छ । यी वर्षहरूमा चीनको कायाकल्प भएको छ । कुनै बेला सामन्तवादको शोषण, साम्राज्यवादको उत्पीडन र अभाव एवं गरिबीको झाँतोमा पिल्सिएर थिलोथिलो भएको चीन आज चीनको गौरव, अन्तर्राष्ट्रियरूपमा प्रतिष्ठित, भूमिकाको हिसाबले प्रभावकारी र जनताको जीवनमा ठूलो परिवर्तन आएको एउटा विकसित राष्ट्रमा रूपान्तरित भएको छ । (यद्यपि चिनियाँहरू आफूलाई नम्रतापूर्वक विकासोन्मुख राष्ट्र भन्न रुचाउँछन् । ) चीन संसारको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनेमा, तीव्र आर्थिक वृद्धिमा, निर्यात र आयातमा, भौतिक पूर्वाधार निर्माणमा, अन्तरिक्षमा छलाङमा, खेलकुद र संस्कृतिमा, समग्र मानवीय विकासमा (धेरै सूचकाङ्कमा चीन अगाडि छ । सेनचेन लगायत खुला नीतिसँगै निर्माण गरिएका सहरहरू ३० बर्षको सीमित अवधिमा न्युयोर्कको म्यानहटन, लण्डनको वेस्टमिनिस्टर या टोकियोको ‘डाउनटाउन’ कै हाराहारीमा पुगेका छन् । साङ्घाईको यो पुदोङ इलाका (चिनियाँ भाषामा नदीको पूर्वपट्टी) अढाई दशक अगाडिसम्म माझीहरूको बसोबास गर्ने पछ्यौटे इलाका रहेछ । आज यहाँको प्रगतिले जिब्रो टोक्ने बनाउँछ । कम्युनिष्ट पार्टीको नेतृत्वमा यति धेरै उपलव्धि प्राप्त गर्ने चीनियाँहरूले आˆनो इतिहासप्रति गर्व गर्नु स्वाभाविक हो ।kkkk
सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० बर्ष पुग्नेछ । चिनियाँ कम्युनिष्टहरूको सपना छ- त्यतिबेलासम्म चीनलाई औसत विकसित मुलुकको हाराहारीमा पुर्‍याउने । प्रक्षेपणहरूले भन्छन्- चीन २०३० अगावै संसारको पहिलो अर्थतन्त्र बन्नेछ । विश्वव्यापी आर्थिक मन्दीका बीचमा पनि चीनको अर्थतन्त्र निरन्तर अगाडि मात्रै बढिरहेको छैन, यसले विश्व अर्थतन्त्रलाई दुर्घटनाग्रस्त हुनुबाट जोगाएको छ । जनवादी गणतन्त्र स्थापनाको १०० बर्ष पुग्ने २०४९ सम्ममा चीनलाई संसारको सर्वाधिक विकसित मुलुक बनाउने सपना छ चिनियाँहरूको । काम गर्ने तरिका, अनुशासन, समयभन्दा अगावै लक्ष्य पूरा गर्ने सङ्कल्प र राजनीतिक स्थायित्व हेर्दा यो सपना पूरा हुने कुरामा विश्वस्त हुन सकिन्छ ।
चीनका चुनौतीहरु
तर, यावत् प्रगतिका बाबजुद चीनका सामु चुनौतीहरू छन्- आन्तरिक र वाहृय दुबै । उनीहरू यसप्रति सचेत र गम्भीर देखिन्छन् । प्रोफेसर जियाङ हाइसानको प्रश्न यिनै चुनौतीका सम्बन्धमा थियो । चीनको भविष्य चिनियाँ कम्युनिष्ट पार्टीको ‘पर्फर्मेन्स’ माथि निकै हदसम्म निर्भर गर्छ । लामो समय सत्तामा रहँदा उपलव्धि र चुनौती दुबै प्राप्त हुन्छन् । पार्टी कतै जनताबाट टाढिंदै जान्छ कि ? भ्रष्टाचार र बिलासिताले पार्टीको प्रतिष्ठामा आघात पुर्‍याउँछ कि ? पार्टीमा नोकरशाहीतन्त्र बढेर कार्यक्षमतामा ह्रास आउँछ कि ? उनीहरू चिन्तित देखिन्छन् । बढ्दो आर्थिक विकाससँगै बढ्न थालेको आर्थिक बिषमता, खुल्लापनसँगै भित्रिएका सांस्कृतिक प्रदूषण, पार्टीको उच्च तहमा समेत बेलाबेलामा देखिने विकृति (बो सिलाई प्रकरणजस्तै), विकाससँगै वातावरणीय सन्तुलन कायम गर्ने चुनौती आन्तरिक मामलामा खेल्न खोज्ने वाहृय शक्तिहरूका प्रयाशलाई उनीहरूले गम्भीरतापूर्वक लिएका देखिन्छन् ।
कम्युनिष्ट पार्टीको शासकीय क्षमता अभिवृद्धिका सिद्धान्त र व्यवहारका बारेमा व्याख्यान दिंदै जियाङ हाइसानले जोड दिए- पार्टीले समाजवादी बजार अर्थतन्त्र सञ्चालनमा, समाजवादी लोकतन्त्र सञ्चालनमा, समाजवादी संस्कृति निर्माणमा, सद्भावयुक्त समाज निर्माणमा र अनुकूल अन्तर्राष्ट्रिय परिस्थिति निर्माणको क्षमतामा अभिवृद्धि गर्नुपर्छ । उनले चुनौतीको सूची सुनाए- समाजवादी बजार अर्थतन्त्र अनुकूल बुझाइ कसरी निर्माण गर्ने, निजी अर्थतन्त्रको भूमिका बलियो हुँदै जाँदा सार्वजनिक अर्थतन्त्रको भूमिकालाई कसरी बलियो बनाउने, बढ्दो आर्थिक वृद्धिसँगै सामाजिक न्याय, साझा समृद्धि र आर्थिक बिषमता कसरी हटाउने, स्थानीय पहलकदमीलाई जोड दिंदै गर्दा केन्द्रीय नेतृत्वलाई कसरी प्रभावकारी बनाउने, खुल्ला बजार अर्थतन्त्रको विश्वव्यापी सङ्कटका असरबाट चीन कसरी सुरक्षित हुने, विश्व व्यापार सङ्गठन आदि संरचनामा आवद्ध हुँदा राष्ट्रिय अर्थतन्त्रको संरक्षण कसरी गर्ने र सुधारमा केन्दि्रत हुँदै जाँदा स्थायित्व कसरी कायम गर्ने आदि । उनले अत्यन्त प्रभावकारी ढङ्गमा विचारहरू राखे । हामीले पनि जीवन्त ढङ्गले छलफल गर्‍यौं ।
एकेडेमीकी प्रोफेसर डा. कुई हुईका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको वैधताका दुईवटा आधारहरू छन् । पहिलो, अफिम युद्धको पीडादेखि सुरु भएको देशभक्तिपूर्ण आन्दोलन, ताइपिङ विद्रोह लगायत विभिन्न किसान आन्दोलनको विफलता, डा. सन यातसेनको नेतृत्वमा स्थापना भएको गणतन्त्र र त्यसको असफलताको पृष्ठभूमिमा एउटा युगीन आवश्यकताले कम्युनिष्ट पार्टीको जन्म भएको हो । दोस्रो, यसले क्रान्ति तथा पुनर्निमाणमा युगान्तकारी सफलता प्राप्त गरेर चीनमा शासन गर्ने अख्तियारी प्राप्त गरेको छ । वैधताको यो आधार हामीलाई तर्कसङ्गत लाग्यो ।
विश्वव्यापी रूपमा आइरहेका परिवर्तनसँगै चीन पनि बदलिइरहेको छ । संसारको गतिसँगै आफ्ना पाइला चाल्न उनीहरूले आधुनिक प्रविधिको सफल प्रयोग गर्छन् । सोसल मिडियाका माध्यमबाट जनताको अभिमत र मनोविज्ञान कसरी बुझ्ने, क्यामरा फेस कसरी गर्ने, सार्वजनिक सुनुवाई कार्यक्रममा कसरी प्रस्तुत हुने आदि कुरा सिकाउने एकेडेमीको मल्टिमिडिया सेन्टर हामीलाई निकै प्रभावकारी लाग्यो ।
चीनको नयाँ अभ्यास र प्रयोग
चीनले आफ्नै विशेषताको समाजवादी लोकतन्त्रको अवलम्बन गरिरहेको छ । त्यसो त, चीनमा अरु ८ पार्टीहरू पनि छन्, तर तिनको भूमिका सहयोगीको रूपमा छ, सीमित प्रकृतिको । उनीहरू लोकतन्त्रको पश्चिमा परिभाषासँग सहमत छैनन् । पश्चिमा लोकतन्त्रमात्रै लोकतन्त्रको एकमात्र स्वरूप हो भन्ने कुरा उनीहरू मान्दैनन् । जुन स्वाभाविकै पनि हो । खुदै पश्चिमा लोकतन्त्रका अमेरिकी र बेलायती रूपहरू एकापसमा मिल्दैनन्, स्वीस र इटालियन मोडलकै बीचमा धेरै फरक छ भने संसारभरि एकै खालको ढाँचा खोज्नु संभव पनि देखिंदैन । हरेक मुलुकको राजनीतिक ढाँचामा त्यस देशको इतिहास, संस्कृति र विशेषताको छाप आउनु स्वाभाविकै हो । जवाफदेहिता, पारदर्शिता र व्यक्तिगत स्वतन्त्रतामा उनीहरूले पर्याप्त महत्व दिएको देखियो । यद्यपि, अत्यधिक व्यक्तिवादले सामाजिक र पारिवारिक मूल्यहरूलाई कमजोर गर्छन् भन्ने उनीहरूको तर्क उपयुक्त नै लाग्यो ।
हङ्कङ र मकाओको पुनर्एकीकरणबाट उत्साहित चिनियाँहरू ताइवानसँग पनि शान्तिपूर्ण ढङ्गले पुनर्एकीकरण हुनेमा आशावादी छन् । तिब्बत उनीहरूको संवेदनशील बिषय हो र नेपालबाट आउने प्रत्येकबाट उनीहरू यसबारेमा जिज्ञाशा राख्छन् । सन्तोषको बिषय हो- अरु बिषयमा बाझे पनि नेपालका सबै दल एक चीन नीतिको पक्षमा दृढ छन् । सुदूर पश्चिमको सिन्ज्याङ उइगुर स्वायत्त क्षेत्रमा उत्पन्न गर्न खोजिएको गडबडीलाई अतिवाद, पृथकतावाद र आतङ्कवादको रूपमा चित्रित गर्छन् । आˆनो देशको यस्तै प्रकृतिका घटना भए पनि आतङ्कवादी हमला भनेर कोकोहोलो मच्चाउने पश्चिमाहरूको चीनमा घटित यस्ता घटनालाई ‘स्वतन्त्रताको सङ्घर्ष’ भनेर उक्साउन खोज्ने ‘दोहोरो मापदण्ड’ लाई भने उनीहरूले चर्को आलोचना गर्छन्, जुन स्वाभाविकै हो ।
अत्याधुनिक साङघाई सहरदेखि लिएर विकसित हुँदै गरेको सिङ्घाई प्रान्तसम्म पुग्दा, तीस हजार भन्दा बढी कामदारहरूले काम गर्ने बाओ स्टिल कार्खानादेखि लिएर सिङ्घाई तालकिनारको तिब्बती भेडा गोठालाको घरसम्म पुग्दा, बेइजिङमा विदेश विभागका उच्च पदाधिकारीहरूदेखि लिएर नमूना गाउँको रूपमा रहेको दुओलोङ गाउँका स्थानीय पार्टी कमिटीसँग साक्षात्कार गर्दा मलाई लाग्यो- चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ विशेषतासहितको समाजवाद निर्माणमा अकल्पनीय सफलता प्राप्त गरेको छ । तर सँगसँगै विभिन्न चुनौतीहरू पनि उसका सामु छन् । भनिन्छ, समस्याको पहिचान गर्नु आधा समाधान गर्नु बराबर हो । आशा गरौं- समस्या पहिचान गर्न सफल चिनियाँ कामरेडहरू चुनौतीको सामना गर्न पनि पूर्ण सफल हुनेछन् ।

No comments:

Post a Comment