Saturday, 6 July 2013

पेरूको जनयुद्ध, सोभियत सङ्घको विघटन र नेपाली जनयुद्ध– अर्जुन मल्ल


पूर्वीयुरोपका देशमा भएका कम्युनिस्ट नामधारी पार्टीहरूको नेतृत्वमा रहेका सत्ताहरूको विघटन र सोभियत सङ्घको विघटनले पनि माओवादी जनयुद्धको तयारीमा निकै ठूलो मद्दत गर्‍यो। यो विश्लेषण अचम्मलाग्दो हुनसक्छ र नेपाली जनयुद्धका विषयमा तयार पारिएका पचासौँ डिग्री र पीएचडीका थेसिस तथा विशेषज्ञ विश्लेषकहरूका लेखरचनामा पनि यो पक्ष केलाइएको छैन।
नेकपा (एकता केन्द्र)मा सामेल प्रचण्ड पक्ष, निर्मल लामा पक्ष, रूपलाल पक्ष, बाबुराम पक्ष सबैको विश्लेषण थियो कि सोभियत सङ्घ, चीन र पूर्वीयुरोपका ती देशहरूमा सत्तामा रहेका कम्युनिस्ट पार्टीहरू बुर्जुवा पार्टीहरूमा रूपान्तरण भइसकेका छन् र ती देशमा प्रतिक्रान्ति भएर नोकरशाही र फाशिष्ट पुँजीवादी व्यवस्था पुनर्स्थापना भइसकेका छन्। यसबाट कम्युनिस्ट पार्टी र सत्ताहरूले क्रान्तिकारी कम्युनिस्ट नीति परित्याग गर्न थाल्यो भनेे उनीहरूको पनि पतन हुन्छ र कम्युनिस्ट नेताहरू नै पनि बुर्जुवा जनविरोधी गद्दार नेतामा रूपान्तरण हुन सक्दछ भन्ने माओको विश्लेषण र कम्युनिस्ट पार्टी र समाजवादी सत्तामा प्रतिक्रान्ति हुनबाट जोगाउन समाजवादी सत्ता स्थापनापछि सर्वहारा सांस्कृतिक क्रान्ति अर्थात् निरन्तर क्रान्ति चलाउनुपर्छ भन्ने माओको प्रस्थापना व्यवहारतः नै प्रमाणित भयो। पूर्वी युरोप र सोभियत सङ्घका कथित समाजवादी सत्ताको विघटनले नेकपा (एकता केन्द्र)ले लिएको माओवादी सिद्धान्त सही रहेको प्रमाणित गर्‍यो जसले गर्दा क्रान्तिकारी नेता तथा कार्यकर्तामा आफ्नो माओवादी सिद्धान्तप्रतिको आस्था र विश्वास बढ्न गयो। जनयुद्धको वैचारिक तयारीमा यो निकै महत्त्वपूर्ण परिघटना थियो। आफ्नो सिद्धान्तप्रतिको दृढविश्वासबिना जनयुद्ध सम्भव थिएन।
व्यावहारिक रूपमा पूर्वीयुरोपका नाम मात्रका समाजवादी सत्ताहरू ढल्नाले चलेको तानाशाहीविरुद्ध प्रजातन्त्रको लहरले नेपाललाई पनि छोयो र यस अन्तर्राष्ट्रिय परिघटना ०४६ सालको आन्दोलनका लागि महत्त्वपूर्ण सहयोगी बन्यो। जनआन्दोलन सफल भएर स्थापित बहुदलीय व्यवस्थाको खुला वातावरणको प्रयोग जनयुद्धको पक्षमा जनमत र सङ्गठन बनाउन राम्रोसँग भयो। जनयुद्धको पक्षमा खुलमखुला प्रचार र सङ्गठन गर्न पाउने ०४७ देखि ०५२ सम्मको अवधि बिनाजनयुद्ध सम्भव थिएन।
साथै एमालेले पूर्वीयुरोप र सोभियत सङ्घमा समाजवादी सत्ता नै रहेको भन्ने विश्लेषण गरेकोले गर्दा ती देशहरूमा कथित समाजवादी सत्ता ढल्दा एमालेको वैचारिक धरातल कमजोर बन्न गयो र एमालेविरुद्ध जनताको ठूलो हिस्सा माओवादी जनयुद्धको पक्षमा सङ्गठित गर्न सजिलो बन्न पुग्यो।
पूर्वीयुरोपको घटनाक्रम कस्तो थियो त? ०४५ सालमा पोल्यान्डमा बेरोजगारी, महँगी आदि विषयलाई लिएर हडताल व्यापक रूपमा हुन थाल्यो। फलस्वरूप जेठ ०४६ मा पोल्यान्डको नाम मात्रको कम्युनिस्ट सरकारले गैरकम्युनिस्ट दलहरू पनि खोल्न दिन र बहुदलीय प्रतिस्पर्धासहितको चुनाव गराउन बाध्य भयो। जसमा गैरकम्युनिस्ट दलहरूको विजय भयो। यस नयाँ सरकारले १४ पुस ०४६ मा संसद्बाट बहुदलीय संसदीय व्यवस्था स्थापना गर्ने गरी संविधान संशोधन गर्‍यो।
दोस्रो विश्वयुद्धपछि जर्मनीलाई पूर्वीजर्मनी र पश्चिमजर्मनी गरी दुई देशमा विभाजन गरी पूर्वीजर्मनीमा कम्युनिस्ट पार्टीको सत्ता र पश्चिममा पुँजीवादी सत्ता कायम गरिएकोमा पूर्वीजर्मनीको कम्युनिस्ट पार्टीले पनि क्रान्तिकारी सिद्धान्त परित्याग गर्दै गएपछि उत्पन्न गम्भीर आर्थिक समस्याले गर्दा जनतामा असन्तोष बढ्दै गयो र पूर्वी र पश्चिम बर्लिन (राजधानी) छुट्याउने गरी बनाएको बर्लिन पर्खाल जनआन्दोलनको निशाना बन्न पुग्यो। भदौ ०४६ बाट सुरु भएको जनआन्दोलनको दबाबले गर्दा पूर्वीजर्मनीको नाम मात्रको कम्युनिस्ट सरकारले २४ कात्तिक ०४६ मा पूर्वीजर्मनीका जनता पश्चिमजर्मनीमा निर्वाध रूपले जान सक्ने घोषणा गर्‍यो। यसै दिन पूर्वीजर्मनीका दशौँ हजार जनता त्यस कुख्यात बर्लिन पर्खाल चढेर पश्चिमजर्मनीतर्फ पुगे। बर्लिन पर्खालको पश्चिममा पश्चिमजर्मनीका जनसमुदायले उनीहरूको भव्य स्वागत गरे। त्यसपछि सुरु भयो दुवै देशका जनता मिलेर कुख्यात बर्लिन पर्खाल भत्काउन। यो पर्खालसँगै पूर्वीजर्मनीको नक्कली कम्युनिस्ट सरकार पनि ढल्यो। १७ असोज ०४७ मा दुवै देश एकीकरण गरेर एउटै गैरकम्युनिस्ट देश जर्मनी बन्यो।
रुमानियाको जनआन्दोलन भने अझ उग्र र हिंसात्मक बन्यो। १ पुस ०४६ बाट सुरु भएको जनआन्दोलनले रुमानियाली कम्युनिस्ट पार्टीका महासचिव तथा त्यहाँका राष्ट्रपति निकोलाई चाउचेस्कुलाई राजधानी छाडेर भाग्न बाध्य बनायो। भाग्दै गरेका राष्ट्रपति र उनकी श्रीमती जो उपप्रधानमन्त्री पनि थिइन्, लाई उनकै प्रहरीले ७ पुसमा गिरफ्तार गरेर एक सैनिक क्याम्पमा कैद गर्‍यो। जनआन्दोलनको नेतृत्व गरेको राष्ट्रिय मुक्ति मोर्चाको नयाँ सरकारले ९ पुसमा एक सैन्य अदालत गठन गर्‍यो। १० पुसमा २ घन्टाको बहसपछि त्यस सैन्य अदालतले ती दुवैलाई मृत्युदण्डको फैसला सुनायो र तत्कालैै उनीहरूलाई गोली हानी मृत्युदण्ड दिइयो।
पोल्यान्डबाट सुरु भएको यस प्रजातान्त्रिक लहर पूर्वीयुरोपका सबै नाम मात्रका समाजवादी देशहरूमा फैलियो र एकपछि अर्को समाजवादी सत्ता ढल्यो। यस घटनाक्रम बुझ्न वीरगञ्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना, साझा यातायात आदि बुझे पुग्न्ो हुन्छ। यी संस्थाहरू सरकारी स्वामित्व (जनताको स्वामित्व, सामूहिक स्वामित्व)मा रहेका थिए भन्दैमा समाजवादी स्वामित्वको भन्न मिल्छ? मिल्दैन। किनभने ती संस्थाहरू डुबे तर त्यहाँका हाकिम कर्मचारीहरू भ्ाने धनी भए। माओले त्यस्तोलाई नोकरशाही (कर्मचारी) पुँजीवाद भने। तर, सोभियत सङ्घको कम्युनिस्ट पार्टीले स्टालिनको मृत्युपछि त्यहाँका समाजवादी उद्योग व्यवसायलाई जनकपुर चुरोट कारखाना, साझा यातायात, शानेवानिजस्ता संस्थामा बदलेर त्यस्तो अर्थतन्त्रलाई नै समाजवाद भन्न थाले र जनतामा लाद्न थाले। जसबाट अर्थतन्त्र हाँक्दै आएका हाकिम कर्मचारी कम्युनिस्ट नेताहरूप्रति तीव्र असन्तोषको लहर चल्यो र नाम मात्रका समाजवादी सत्ताहरू ढले, यहाँको दलविहीन र शोषणविहीन पञ्चायती समाजवाद त्यसैबेला ०४६ सालमा ढलेजस्तै। पञ्चायती प्रजातन्त्रले पनि शोषणविहीन समाज (साम्यवाद?) स्थापना गर्ने लक्ष्य आफ्नो संविधानमै लेखेको थियो।
जनअसन्तोषको लहर चीनमा पनि चल्यो। चैत ०४५ मा राजधानी बेइजिङमा सुरु भएको जनप्रदर्शनमा दशौं लाख जनताले भाग लिने गरी विशाल बन्दै गयो। माओको २४ भदौ ०३३ मा निधन भएपछि ०३५ देखि देङ सियाओ पिङको न्ोतृत्वमा चीनमा पनि पुँजीवादको पुनर्स्थापना सुरु भएको थियो। यसको परिणामस्वरूप उत्पन्न तीव्र बेरोजगारी, महँगी, मुीभर मानिस धनी बन्दै जानु र करोडौँ जनता गरिब बन्दै जानु आदि कारणले जनताले सरकारविरुद्ध प्रदर्शन बढाउन थाले। यसलाई दबाउन देङले ट्याङ्कसहित तीन लाख लालसेना राजधानीमा उतार्‍यो र दशौँ लाख जनताको प्रदर्शन दबायो, जसमा एक हजारभन्दा बढी विद्यार्थी र मजदुर मारिए। यस घटनाले चीनमा प्रतिक्रान्ति भएर पुँजीवाद पुनर्स्थापना भएको भन्ने नेपालका माओवादीको निष्कर्ष व्यवहारमा सत्य सावित भयो।
सोभियत सङ्घ पनि तीव्र आर्थिक सङ्कट र जनअसन्तोषले गर्दा ११ पुस ०४८ मा विघटन भयो। पूर्वीयुरोप र सोभियत सङ्घमा १९५६ पछि क्रमशः प्रतिक्रान्ति भएर नोकरशाही पुँजीवादको स्थापना भएकाले त्यसको पतन अनिवार्य छ भन्ने माओको विश्लेषण यी घटनाले प्रमाणित गर्‍यो। माओवादको विश्वव्यापी सैद्धान्तिक वैचारिक विजयले जनयुद्धको आधार पनि तयार भयो। भारतमा ०२७ सालदेखि चल्दै आएको भाकपा (माले) (पिपुल्स वार) समूह र माओवादी कम्युनिस्ट सेन्टरको जनयुद्ध, श्रीलङ्कामा लिट्टेको छापामार युद्ध, भारतकै उल्फाले आसाममा चलाइरहेको छापामार युद्ध पनि नेपालका माओवादीहरूका लागि प्रेरणाको स्रोत बन्यो।
पेरूमा ४ जेठ २०३७ देखि सुरु भएको जनयुद्ध नेपालमा जनयुद्धको लागि धेरै ठूलो प्रेरणाको स्रोत बन्यो। २७ भदौ ०४९ मा पेकपाका अध्यक्ष गोन्जालोको गिरफ्तारीको बेलासम्म पेरूमा जनयुद्धले विश्ााल ग्रामीण पहाडी क्षेत्रमा आधार इलाकाहरू निर्माण गर्दै जनयुद्धको तेस्रो निर्णायक चरण रणनीतिक प्रत्याक्रमणमा प्रवेश गरिसकेको थियो। गोञ्जालोको गिरफ्तारीविरुद्धको अभियान स्वयम् नेपालमा जनयुद्धको बृहत् वैचारिक तयारी बन्न पुगेको थियो। माओका योगदानहरूलाई मार्क्स र लेनिनकै बराबरीमा माओवाद भनेर संश्लेषण गर्ने श्रेय गोञ्जालोलाई नै जान्छ। विश्वव्यापी रूपमा कम्युनिस्टहरू सङ्कटमा परेको बेला माओको भन्दा भिन्न ढङ्गले कसरी जनयुद्ध सुरु गर्न सकिन्छ भन्ने पनि गोञ्जालोले नै पथप्रदर्शन गरे। यसबाट नेपालका जनयुद्ध सुरुवातकर्ताहरूले धेरै कुरा सिके।

No comments:

Post a Comment