ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्डले जिल्ला विकास समिति रुकुमको सहकार्यमा गुरिल्ला ट्रेक बनाएको हो।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार आयोजित कार्यक्रमा गुरिल्ला ट्रेकको गाइड बुक र नक्सा सार्वजनिक गरे। गाइड बुक अमेरिकाका एलोन्जो ल्योन्सले तयार पारेका हुन्।
टानका अनुसार गुरिल्ला ट्रेकमा तीनवटा रुट छन्। पहिलो रुट १९ दिनको, दोस्रो १४ दिन र तेस्रो रुट २७ दिनको छ। तीनवटै रुट पोखराबाट सुरु भई सुलिचौरमा पुगेर सकिन्छन्। यी रुटमा बेनी, ढोरपाटन, थवाङ, स्यार्पु दह, खलङ्गा, रुकुमकोट, सुकुलबाङ, जेलबाङ, खराबाङ, माइकोट, कयाम, पेल्मा, लुकुम, बाँफीकोटलगायत स्थान पर्छन्।
कार्यक्रममा अध्यक्ष दाहालले गुरिल्ला ट्रेकलाई ‘नेपालको पर्यटन उद्योगमा नयाँ अध्यायको सुरुवात’ को संज्ञा दिए। ट्रेक मौलिक प्रकृतिको भएकाले आफूलाई गर्व लागेको उनले बताए।
‘क्रान्तिका केही प्रतीकलाई आर्थिक प्रगतिका लागि राख्नु आवश्यक छ,’ उनले भने, ‘गुरिल्ला ट्रेक पनि त्यस्तै हो। भावी पिढीका निम्ति यो सदुपयोग गर्न जरुरी छ।’ ठूल्ठूला लडाइँ र क्रान्ति भएका क्षेत्र पर्यटन उद्योगका लागि महत्वपूर्ण स्रोत हुने भन्दै उनले गुरिल्ला ट्रेक पनि विश्वकै आकर्षण हुनसक्ने अपेक्षा गरे।
‘झट्ट सुन्दा गुरिल्ला ट्रेक माओवादी द्वन्द्वसँग जोडिएको बुझिने भए पनि यो विशुद्ध पर्यटन क्षेत्र विकास गर्न बनाइएको हो,’ दाहालले भने, ‘यो नामलाई विश्वले पनि सहजै बुझ्न सक्छ, राम्रो नाम छनौट भएको छ। यो ट्रेकले विश्वको पर्यटन ट्रेन्डको प्रतिनिधित्व गर्ने विश्वास छ।’
नयाँ पदयात्रा मार्गमा पर्ने स्थानीयको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन गरिल्ला ट्रेकले अग्रगामी भूमिका खेल्ने उनले बताए। नयाँ क्षेत्रको विकास गर्न प्रयास भएको भन्दै उनले सह्राना गरे। यो मार्गलाई विशेष ध्यान दिन उनले सरकारसँग आग्रह गरे। सरकार हाँक्ने पार्टी प्रमुखका नाताले यो मार्गलाई हरतरहले सहयोग गर्ने उनको भनाइ थियो।
कहिल्यै नसकिने र निरन्तर विकास गरिरहन सकिने मुलुकको एकमात्र क्षेत्र पर्यटन भएको उनको भनाइ छ। गुरिल्ला ट्रेकको गाइड बुक तयार गर्ने अमेरिकी धन्यवादका पात्र रहेको उनले बताए।
कहिल्यै नसकिने र निरन्तर विकास गरिरहन सकिने मुलुकको एकमात्र क्षेत्र पर्यटन भएको उनको भनाइ छ। गुरिल्ला ट्रेकको गाइड बुक तयार गर्ने अमेरिकी धन्यवादका पात्र रहेको उनले बताए।
‘मुलुकमा ठूलो राननीतिक परिवर्तन भयो तर आर्थिक परिवर्तन हुन सकेको छैन,’ उनले भने, ‘क्रान्तिले जनताको आर्थिक जीवनमा परिवर्तन गर्न सकेन भने त्यस्तो क्रान्ति असफल हुन्छ। त्यसैले परिवर्तनलाई आर्थिक क्रान्तिमा बदल्न नसके राजनीतिक परिवर्तनको भविष्य संकटमा पर्ने निश्चित छ।’
पूर्वपर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरले गुरिल्ला ट्रेकमा एकपल्ट पुगेर त्यहाँका पर्यटकीय महत्व हेर्न, बुझ्न र त्यसपछि प्रवर्द्धन गर्न सबैलाई आग्रह गरे। त्यसै गरी पूर्वशान्ति मन्त्री जनार्दन शर्माले विगतमा द्वन्द्व भएका ठाउँलाई कसरी संरक्षण गर्ने भनेर गुरिल्ला ट्रेक बनाइएको बताए। ‘छोटो समयमै यो क्षेत्र नमुना पर्यटन गन्तव्य बन्ने विश्वास छ,’ उनले भने, ‘नयाँ क्षेत्र भएकाले सबैले प्रचार र प्रवर्द्धन गर्न सहयोग गर्नुपर्छ।’
No comments:
Post a Comment