Thursday, 9 May 2013

कमरेडको बिहेमा करोड खर्च। सर्बहारा सस्क्रिती माथि पार्टी भित्र बाटै हमला।

बुटवल बैशाख २६

एनेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले भूमिगतकालमै ११ रुपैयाँ खर्चेर भारतको दिल्लीमा हिसिला यमीसँग बिहे गरेका थिए । उनीहरुको बिहेभोज थियो, चिया । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले भूमिगत छदैं नैना थापासँग बुटवलमा विद्यार्थी संगठनको आयोजनामा बिहे गरे । त्यसको चानचुन खर्च हजारभन्दा बढी थिएन । एमाओवादी केन्द्रीय सदस्य चन्द्रप्रकाश खनाल बलदेवले पनि भूमिगतकालमै पार्टीकै आयोजनामा कपिलवस्तुमा भएको कार्यक्रममा बिहे गरे । अर्का केन्द्रीय सदस्य टोपबहादुर रायमाझीले योगमाया बन्जाडेसँग भारतमै बिहे गरे । यस्तै एमाओवादी केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले सुमित्रा घिमिरेसँग, नेकपा–माओवादीका केन्द्रीय सदस्य बसन्त श्रेष्ठलगायतका खाँटी माओवादीले जनयुद्ध सुरु हुनु अघि र भैसकेपछि पनि विवाह गरे । यी सबै प्रगतिशील बिहे थिए । एमाओवादी (तत्कालीन नेकपा माओवादी) ले पार्टीमा जन्म, विवाह र मृत्यु संस्कार फरक खालको बनाएको थियो ।

आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले विचलन नआओस् भनेरै माओवादीले जन्ममा भव्य खुशी मनाएन, विवाह प्रगतिशील गर्न गराउन निर्देशन दियो, मृत्युमा दाहसंस्कार बाहेक अरु काजकर्म नगर्न उर्दी नै जारी गर्‍यो । सर्वसाधारणका लागि बाध्यकारी नभएपनि पार्टीभित्र भने यो नियम कडाइका साथ लागू गराएको एक नेताले बताए । ‘केटा र केटी पक्षले आफ्नो बीचमा प्रेम भएको भन्दै पार्टी कमिटीलाई निवेदन दिन्थे, पार्टीले उपयुक्त समय मिलाएर कार्यक्रम आयोजना गरी विवाह गराइदिन्थ्यो, उनले श्रोत गोप्य राख्न अनुरोध गर्दै भने–‘ पार्टीमा सांस्कृतिक क्रान्तिको पनि कुरा थियो, हामी बुर्जुवाशैलीको राजनीति र सामाजिक परिस्थितिसँग लडिरहेका थियौं ।’ यस क्षेत्रमा भएका प्रगतिशील बिहे मध्ये उमा बिक र बेगम, चन्द्रप्रकाश खनाल बलदेव र यमा बन्जाडे, टीकाराम गौतम (जनयुद्धमा मारिएका) र पत्रकार वसन्त पोखरेलकी छोरी संगीता, नारायण घिमिरे (जनयुद्धमा मारिएका) र पूर्वविधायक शारदा आचार्य घिमिरे लता, सुमित्रा घिमिरे (जनयुद्धमा मारिएकी) र कमल भुजेल, रामप्रसाद बन्जाडे र लक्ष्मी भुसाल, डीबी थापा (जनयुद्धमा मारिएका) र कमला बिक, वसन्त श्रेष्ठ र उमा भुजेललगायतका बिहे एमाओवादी माओवादी वृत्तमा सम्झनलायक बिहे हुन् । तर एमाओवादीले सांस्कृतिक रुपमा पूर्ण रुपमा विपरीत दिशामा कोल्टे फेरिसकेको संकेत रुपन्देहीमा देखा पर्‍यो । मंगलबार पर्रोहाको सैनामैनामा तामझामका साथ भएको ‘बुर्जुवा शैलीको बिहे’ले एमाओवादी वृत्तमात्रै हैन, वामवृत्तमै ठूलो बहस चलाएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईलगायतका केन्द्रीयस्तरका नेताको जमघट । आधुनिक सुविधासहितको बिहे मण्डप ।

गरगहनाले सजिसजाउ बेहुली । भोजमा तयार परिकारले यो कुनै वामपन्थी क्रान्तिकारी नेताको नभई बुर्जुवा वर्गका आडम्बरी नेताका छोराको बिहेको झल्को दिन्थ्यो । कतिपयले बिहेभोजलाई चुनावी प्रचारको राम्रो हतियारको रुपमा चर्चा गरेपनि एमाओवादी र वामवृत्तमा भने यसले आलोचना नै बढी पाएको छ । प्रसंग हो एमाओवादी केन्द्रीय सदस्य भक्ति पाण्डेका छोरा विश्वदीप पाण्डेको काठमाडौंकी कृति खतिवडाबीचको विवाह भोज । आम बिहेभन्दा यो बिहेमा अत्याधिक तडकभडक देखियो । पार्टी पंक्तिले सोचेभन्दा ठीक फरक । बिहेमा ४ सय किलो मासु (कुखुराको २.५ क्वीन्टल र १.५ क्वीन्टल खसी) खपत भयो भने ५ हजार भन्दा बढी निम्तालु सहभागी भएको पछिल्लो तथ्यांक आएको छ । सहभागीमध्ये ३ सय रुपैयाँ प्रतिव्यक्तिकै हिसाबले गणना गर्ने हो भनेपनि १५ लाख रुपैयाँ मात्रै खानाको हिसाब आउँछ । त्यसमा अन्य परिकारहरु समावेश छैनन् । मण्डप व्यवस्थापनदेखि आगन्तुकलाई स्वागत गर्न बनाएका गेट, कुर्सीदेखि हरेकको हिसाब किताब निकाल्ने हो भने यो बिहे कुनै पनि हिसाबले प्रगतिशील देखिदैन, बरु अरु बढी बुर्जुवा देखिन्छ । किनभने–एमाओवादी आन्दोलनले स्थापित गरेको सांस्कृतिक मुल्यमान्यता के हो ?– यो प्रश्न अहिले एमाओवादीका क्याडरदेखि उच्चतहका नेतातर्फ तेर्सिएको छ – यो विवाहको चालढालले एमाओवादी कस्तो आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको कुरा गरिरहेको छ ?’ ११ रुपैयाँमा आफ्नै बिहे उम्काउने बाबुराम भट्टराईले आफ्नै स्वकीय सचिव विश्वदीप पाण्डेलाई कस्तो स्कुलिङ गरेछन् र केन्द्रीय सदस्य समेत रहेका पाण्डेका बाबु भक्ति पाण्डेले अब कार्यकर्तामाझ उभिएर कुन खालको सांस्कृतिक क्रान्तिको चर्चा गर्नेछन् ?– यो प्रश्न मंगलबार बिहेभोजमा सहभागी हुन सैनामैना पुगेका एमाओवादी कार्यकर्ताले सोध्न थालेका छन् । एमाओवादी रुपन्देहीको बुधबार बसेको बैठकमा समेत यसको चर्चा भयो । पार्टीले तत्काल आलोचना गर्ने कि समर्थन ।

पार्टी पंक्ति किकर्तव्यविमुढको स्थितिमा पुगेर व्यक्तिगत विषय भन्दै छाड्यो । तर आलोचना भने व्यक्तिगतरुपमै भैरह्यो । ‘मैले मेरो छोराको बिहे केही वर्षअघि मात्रै ५० हजारमा उम्काएको हुँ, एमाओवादी जिल्ला संयोजक माधव शर्माले जनसंघर्षलाई बताए–अहिले भक्तिजीले छोरोका बिहेमा यति धेरै तडकभडक गर्नुभयो भनेर पार्टीगत हिसाबले धारणा बनिसकेको छैन ।’ उनले पार्टीको विषयभन्दा पनि व्यक्तिगत विषय भएको तर्क गरे । ‘कसैले बिहेमा कति खर्च गर्छ भन्ने कुरा उसको व्यक्तिगत विषय हो, उनले आडम्बर देखाए–सम्पत्ति भएकाले जति पनि खर्च गर्नसक्छ, कसैले रोक्ने कुरा हँदैन, यदि सरकारले त्यसको श्रोत के हो भनेर खोज्न मिल्छ भने खोजोस् ।’ विश्वदीप पाण्डेका बाबु भक्ति पाण्डेसँग भने सम्पर्क हुन सकेन । मोबाइल स्वीच अफ भएपछि घरको फोनमा सम्पर्क गर्न खोज्दा उनले प्रतिक्रिया दिन चाहेनन् । सरकारले यसको हिसाब किताब खोज्न चासो देखाउने नदेखाउने विषय फरक हो । तर वामविचार त्यसमा पनि अग्रगामी, क्रान्तिकारी, प्रगतिशीलको लालमोहर लगाउन खोज्ने एमाओवादीको सांस्कृतिक रुपान्तरण कुन हिसाबले हुन खोजिरहेको हो भन्ने प्रश्न चाँहि मूल रुपमा ठडिएको छ । 

‘मर्दा पर्दा के गर्ने, आमरुपमा काजकिरिया गर्ने कि नगर्ने, विवाह संस्कार कस्तो बनाउने, आर्थिक योजना अर्थ संकलन (चन्दा) लाई मात्रै बुझ्ने आदि समस्या माओवादीका लागि चुनौती बन्दै आएका छन्–एक वामबुद्धिजीवीले भने–८० प्रतिशत भूभागमा ७ वर्ष जनसत्ता चलाएको, थुप्रै आधार इलाकाहरु बनाएर समाजवादको अभ्यास थालनी गरेको पार्टीले अहिले जनतालाई अरु पार्टी भन्दा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा भिन्न कसरी देखाउन खोजेको छ भन्ने विषय उठेको छ ।’ हुन पनि कार्यकर्ताको मात्रै हैन, नेता, उच्च तहका नेताहरु (केही नेता कार्यकर्तालाई अलग राखेर) ले व्यवहारमा प्रस्तुत गर्ने जीवनशैली, आचरण र आदर्श कस्तो हुने भन्ने चीज अहिले कहिँकतै अनुकरणीय देखिएको छैन । ‘हिजो जनयुद्धपूर्व र दश वर्षे जनयुद्धमा देखाइएका नयाँ सांस्कृतिक आदेश कि त बेठीक थिए भन्नुपर्छ वा अहिले हामी बिग्रियौं भन्न करै लाग्छ– वाम बुद्धिजीविहरुको एमाओवादीप्रतिको दृष्टिकोण छ,–माओवादी आन्दोलनको कमजोरी पक्ष भनेको राजनीतिक कार्यदिशा सही हुनु वा नहुनुले सबै चीजको फैसला गर्छ भन्ने माओवादी मान्यता चीनिया सन्दर्भमा सही भएपनि नेपाली सन्दर्भमा त्यतिले मात्रै पुग्दैनथ्यो । एमाओवादीले राजनीतिक कार्यदिशा र फौजी कार्यदिशालाई जति महत्व दियो, आर्थिक, सामाजिक र सांस्कृतिक कार्यदिशालाई परम्परागत रुपमा सीमित गर्‍यो ।

एमाओवादी वृत्तमा जनयुद्धमा महत्वपूर्ण योगदान दिएर हाल गुमनाम रहेका बनाइएका नेता, कार्यकर्तालाई बरु रुढिवादी, जडसुत्रवादी, सोझो, उपाय नभएको, असक्षम, सिद्धान्तमा लिप्त, जस्ता विशेषणले उसको आदर्श, मूल्यमान्यतालाई अवमूल्यन गर्ने खतरा बढ्दै गएको भन्ने विषय बहसको रुपमा आएको छ । जति नेता कार्यकर्ताले पार्टीको सिद्धान्त भन्दा आर्थिक रुपमा सम्पन्न हुन आफूलाई अघि बढाउँदै लगे उनीहरु माथिल्लो तहमा पुग्दै गए र जसले पार्टीको सिद्धान्तलाई बढी प्राथमिकतामा पारे उनीहरु सर्वहाराको कित्तामा रहे । यो दुई खालको वर्ग एमाओवादीमा देखा पर्‍यो भन्ने विषय एमाओवादी खुला राजनीतिमा आएको केही समयपछि नै चर्चामा आइसकेको थियो । हालैको वैवाहिक घटनाले राजधानी बाहिर अझ सर्वहाराको कित्ताबाट आएका नेताका घरमा भएको बिहे भोजले अरु चर्चामा ल्याएको छ । यसले एमाओवादी सांस्कृतिक रुपमा कति विचलित भैरहेको छ भन्ने अनुमानलाई पुष्ट्याइ गरेको बताउँछन् वामविश्लेषक मुमाराम खनाल । उनको बुझाइमा एमाओवादी सर्वहारा पार्टी नै रहेन । ‘जस्ले आफूले स्थापित गर्न खोजेको नीतिलाई पछाडि छाडेर संसदीय बुर्जुवा राजनीतिको बाटो रोज्यो, त्यसबाट अब हामीले सांस्कृतिक रुपान्तरणको विषयमा अपेक्षा पनि गर्नुहुन्न, उनले भने– एमाओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई त्यस भोजमा सहभागी हुनुले पनि पार्टीमा अहिले बुर्जुवातन्त्र हावी भैरहेको छ भन्ने प्रष्टाउँछ ।’ उनले अहिले एमाओवादीमा संभ्रान्त वर्गको बोलवाला रहेको भन्दै तर्क गरे–अब एमाओवादीले वर्गीय राजनीतिको कुरा त्याग्नुपर्छ, संभ्रान्त वर्गको रुपमा ऊ स्थापित हुने क्रममा छ ।’
श्रोत nepaldarpan.com

No comments:

Post a Comment