Wednesday, 1 May 2013

राष्ट्रियताको लँडाई लड्न आवश्यक : विप्लव


१८ वैशाख, काठमाडौं । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले सेना, प्रहरी, देशभक्त जनता र आफ्नो पार्टी मिलेर राष्ट्रियताको लडाइँ लड्नुपर्ने बेला आएको बताउनुभएको छ ।
biplapएकसय चौबिसौ मे दिवसको अवसरमा माओवादी सम्वद्ध अखिल नेपाल टे्रड युनियन महासङ्घले बुधबार बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा सम्वोधन गर्दै सचिव चन्दले नेपालबाट विदेशीका दलालहरूलाई लखेट्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो-” देश गुमे माओवादीको मात्रै गुम्दैन । सेना, प्रहरी, जनता सबैको गुम्छ । अब हुने लडाइँ सेना, प्रहरी विरुद्ध हुने छैन , यो देशमा रहेर विदेशीको लागि काम गर्ने राष्ट्रघातिहरूविरुद्ध त्यो लडाइँ हुनेछ । “
सरकारले आफ्ना माग पूरा नगरी बलजफ्ती निर्वाचन गराउन खोजेर शान्ति भाँड्न खोजेको आरोप लगाउँदै उहाँले सरकारले आफूहरूविरुद्ध दमन गरे त्यसको प्रतिरोध गरिने बताउनुभयो । उहाँले भन्नुभयो- “राष्ट्रिय स्वाधिनताको रक्षा र जनतालाई अधिकार सम्पन्न गर्ने दुई माग हाम्रा हुन् । युद्ध चाहदैनौ भने हामीले राखेको माग पुरा गर ।”
सरकारले हतियार फिर्ता गर्न दिएको समयसीमाप्रति सङ्केत गर्दै उहाँले भन्नुभयो, “सरकारले माओवादीसँग भएको २२ वटा हतियार बुझाउ भनिरहेको छ । त्यति हतियारले के हुन्छ र त्यस्ता २२ वटा हतियार त यहाँ एउटै डनले राखेका छन् ।”
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य ईश्वरी दाहालले अब हुने अर्को क्रान्तिले मात्रै मजदुरका हकहित सुनिश्चित गर्ने बताउनुभयो । मजदुर महासङ्घका संयोजक रामदीप आचार्यले २५ सुत्रीय माग पुरा गराउन अभियान सुरु गर्न लागिएको जानकारी दिँदै आफूहरूको सहमतिबिना गरिने कुनैपनि सम्झौता नमान्ने उल्लेख गर्नुभयो । 

No comments:

Post a Comment