कमरेड
रोल्पा भन्छ-
'काठमाडौंलाई रोल्पा बनाउन गएको तँ,
तँ आफैं काठमाडौं भइस्,
काठमाडौं पसेर जात फेरिस् ।'
कहिलीकसो यसो गम्छु,
'राजा र राणाका जीवनशैलीसित
मेरो जीवनशैलीले नि यसो मेल खायो भन्दैमा
जात फेरेको भन्नु मनासिब हो र ?'
रोल्पा भन्छ-
'एक कल फोन त के
मिसकलसमेत गर्दैनस्
गरेको फोन पनि उठाउँदैनस् ।'
कहिलीकसो यसो गम्छु-
'परिवारका सदस्य नातागोता र केही कमरेडका
न्यानो मायामा
तीन त्रिलोक र चौध भुवन देख्ने गरी 'मस्तराम' भएपछि
रोल्पालाई सम्झनैपर्ने कुन आइतबार छ र ?'
रोल्पा भन्छ-
'पुर्खे सुनार र सुनसरा बुढा मगरलाई भुलिस्
सीता आचार्य र झन्कार मगरका गीत पनि पोली खाइस् ।'
कहिलीकसो यसो गम्छु-
'माइकल ज्याक्सनको गीतमा छमछमी नाच्न छाडी
रोल्पाली सहिद र रोल्पाली गीत
सम्झनामा आउने कुन 'माक्स्रवाद' छ र ?'
रोल्पाको गुनासोले 'हुक्क' छु म
पटकपटक सोध्छु-
'मूला रोल्पा !
तैले रेडियो नि कहिल्यै सुन्दैनस् कि क्या हो ?
टिभी नि हेर्दैनस् कि क्या हो ?'
पत्रिका नि पढ्दैनस् कि क्या हो ?'
मेरा 'दुई शव्द'मा
'रोल्पा' उच्चारण गर्न कहाँ छाडेको छु र ?'
रोल्पा
तँ
जात्तिबित्ति 'सोझो जडसूत्रवादी' भइस्
एकपालि यसो मलाई नियाल् त,
जनयुद्धमा न मेरो छोरो गुमेको छ न मेरी छोरी
न मेरो विपना लुटिएको छ न मेरो सपना
न मेरो घर भत्केको न मेरो रहर
न मेरी भान्जी बलात्कृत भएकी छ न मेरी बुहारी
नौलो जनवाद आएपिछ
'हुनुपर्ने' र 'पुगिने ठाउँ'
पुगिसकेँ म
अब तँ आफैंै भन् त रोल्पा,
के म पटमुर्ख छु र,
'काठमाडौंलाई रोल्पा' बनाउने जोखिम मोल्छु ?'
जब ऐना हेर्छु-
आफ्नै अनुहारले सोध्छ,
'तँलाई अझै पनि काठमाडौं'ले 'रोल्पाली' भन्छ
रोल्पालीले 'काठमाडौं' भइस् भन्छ
ऐ नवीन विभास,
तँ आफै भन् त
तँ कस्तो डायस्पोरा भइस् हँ ?'
मेरो सिलुक सुनिरहेका
ए मेरो कमरेड,
नढाँटी भन्नु त-
'के म रोल्पाले भनेजस्तो देखिन्छु र ?
]'माक्स्रको पूँजी' कसम,
साफसाफ भन्नु त,
ऐनाले देखाएजस्तो देखिन्छु र म ?'
जेठको अन्तिम साता नुवाकोट गएको थिएँ, लेखकहरुको हुलसँग मिसिएर। कवि एवं मेरा साथी कृष्णकुसुमको निम्तोमा पहिलोपालि नुवाकोट जाने साइत जुरेको थियो। आरएम डंगोलसहितका नुवाकोटे टोलीमाविमल निभा, नयनराज पाण्डेलगायतका झण्डै सात दर्जन लेखकहरुको टोली नुवाकोट गएको थियो।
अँ, कुसुमले निम्तो दिएपछि आफू कवि पनि नभएको र समाचार लेख्ने सन्तोष रिमाल जाने भएपछि केका लागिजाने? यसो गमेँ। एक महिनामा एकपालि यो खाल्डो नाघिएन भने बौलाइएलाजस्तो हुन्छ। फेरि कहिल्यै नगएको ठाउँजान पनि मन थियो।
एकाएक मेरो सम्झनामा आए कवि वैरागी काइँला। के आइतबार परेर सम्झना आए कुन्नि? सम्झिएँ त्यो दिन, जुनदिन लोकतान्त्रिक लेखक शाही शासनको विरोधमा उत्रिएका थिए। र, संचारग्राममा भएको एक कार्यक्रममा वैरागीकाइला बोल्दैथिए, 'म त बैला भएको छु। तर, हिजो भने झण्डै कविता फुर् यो।'
लामो समयसम्म कविता नलेखेका काइलाको कविता झण्डै फुरेको प्रसंग रहेछ, मोहन कोइरालालगायतका लेखकहरुकोबग्गी यात्रा। शाही शासनको विरोधमा कति कवि सडकमा थिए भने कति बग्गीमा। तिनै बग्गीवाल अचेल 'खाट्टीलोकतन्त्रवादी मात्र होइन गणतन्त्रवादी' नै भन्छन्। खैर, ती कुरा तपसिलमै राखौं।
अँ, भन्दैथिएँ कुनै याममा यसैयसै कवि भनिएको थिएँ। डण्डीफोरे उमेरमा कविता भनेर लेखिएछन्। टीकाराम उदासी,उदय जीएम, आकाशगंगा बीसी(अहिलेको गंगा बीसी)सहितको एउटा कविताकिताब पनि निकालियो।
रोटीकारितामा लागेपछि 'लेखन'सँग पानी बाराबारजस्तै भयो। रोटीकारिता राजनीतिक बिट भएपछि लेखकले बोलाउनेकुरै भएन। नलेखेपछि लेखक हुने कुरै भएन।
अँ, एउटा प्रसंग जोडूँ क्या हो। हिजो प्रभात चलाउनेको कोठामा आए छिङको किताब भेटेँ। मनमा बसेको उनको उक्तिबार बार दोहोर् याएको छु। उनले भनेका छन्, 'तिम्रो पाठकभन्दा एक तह माथि लेख। जसले गर्दा तिम्रो पाठकको एकतह माथि उक्लियोस्।' हो, उनै छिङको कविताकिताबमा उनले भनेका रहेछन्, 'एउटा लेखकले केही नलेख्नु भनेको ऊअस्तित्वहीन हुनु हो। उसलाई सबले भुल्नु हो।'
झल्यास्स भएँ। हो त है। नलेखेर पो सबले भुलेका। नलेखेपछि काइलाले भनेजस्तो भइएन त बैला? रोल्पातिर बैलालाई'थारा' भन्छन्। जन्माउने क्षमता नभएका गाई भैसीलाई भन्ने चलन छ।
अँ कृष्ण कुसुमले नुवाकोट जाने निम्तो दिएपछि कविता पो फुर्लाजस्तो भएछ। बैला भएका काइला मोहन कोइरालालाईबग्गीमा देखेपछि झण्डै फुरेजस्तो मेरो 'नुवाकोट जानेभएपछि केही त बोकेर जानुपर्ने' भनेर 'यसो उसो भयो' क्यार। यसैकोरेछु। यो कविता भनेर म दाबी गर्दिन।
धन्य आरएम डंगोल! कविता पढ्न नबोलाएकोमा। बोलाएको भए त कविताको बेइज्जतै हुन्थ्यो नि। सुनाउनलायककहाँ छ र यो?
No comments:
Post a Comment