काठमाडौं, १९ वैशाख (ओएनएस) : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मेवारी भारतलाई दिने विषयमा सहमति गरेको खुलासा भएको छ ।
भारत भ्रमणका क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले भारतीय विदेशमन्त्री सलमान खर्सिदसँगको भेटमा विमानस्थल व्यवस्थापनको जिम्मेवारी पनि दिने र “एयर मार्शल” पनि राख्ने सहमति गरेको खुलासा भएको हो ।
उच्च स्रोतले ओएनएसलाई दिएको जानकारीअनुसार उनले नयाँ रणनीतिसहित विमानस्थलको जिम्मेवारी भारतलाई दिने विषयमा आश्वासन दिएका छन् ।
विमानस्थलको सुरक्षाका विषयमा भारत पक्षले राखेको चासोपछि एमाओवादी अध्यक्ष प्रचण्डले व्यवस्थापनको जिम्मा भारतलाई दिन सकिने बताएका हुन । भारतले अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय “एयर मार्शल” राख्ने र उनीहरुमार्फत नै चेकजाँच गर्ने विषयमा लामो समयदेखि कुरा उठाउँदै आएको छ ।
“भारतीय पक्षबाट त्रिभूवन विमानस्थल असुरक्षित रहेकाले एयर मार्शल राख्नुपर्ने कुरा फेरि उठाएको थियो” स्रोतले भन्यो, “भारतको प्रस्तावमा प्रचण्डले आफुहरु विमानस्थल व्यवस्थापनको जिम्मा दिन तयार रहेको बताए तर यसअघि पनि विरोध भएको भन्दै नयाँ शैलीमा जानुपर्ने उनको भनाइ थियो ।”
प्रचण्डको प्रस्तावअनुसार विमानस्थल सुधार, सुरक्षाको जिम्मा भारतले लिने तर भारतीय सेना विमानस्थलमा राख्नुको सट्टा भारतले ‘ट्रेन’ गरेका नेपाली सेना रहने छन् । भारतले विमानस्थलको सुरक्षाका कारण भारतलाई अप्ठ्यारो परेको भन्दै विमानस्थलमा एयर मार्शल राख्न पहिलेदेखि नै प्रस्ताव गर्दै आएको छ । भारत भ्रमणका क्रममा विमानस्थल व्यवस्थापन र एयर मार्शल राख्ने विषयमा भएको छलफल बारे बुझ्न खोज्दा प्रचण्ड र भ्रमण दलका सदस्य नेता कृष्णबहादुर महरासँग सम्पर्क हुन सकेन ।
एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने भारतले प्रस्ताव राख्नु स्वभाविक भएको बताए । “भारतले पहिलेदेखि नै उठाउँदै आएको विषय हो” सापकोटाले भने, “यसपटक पनि उठाएको हुन सक्छ तर अध्यक्ष ज्यूले सहमति गर्नु भयो जस्तो मलाई लाग्दैन र त्यस बारेमा उहाँले जानकारी गराउनु भएको पनि छैन ।” यसअघि भारतीय पक्षबाट आएको प्रस्तावमा एकीकृत माओवादीले नै विरोध गरेको थियो ।
के हो “एयर मार्शल” ?
अन्तराष्टिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियम अनुसार दुई देशबीच सम्झौता भइ दुवै पक्षको सहमतिमा हातहतियार सुसज्जित, विशेष सुरक्षा खतरा उत्पन्न नभएसम्म हतियार प्रदर्शन नगर्ने गरी, हवाईजहाजको भित्र निश्चित संख्यामा कुनै देशको हवाईजहाजमा सुरक्षा अधिकारी राख्न पाइन्छ ।
हवाईजहाज रोकिराखेको अवस्थामा ती सुरक्षा अधिकारी हवाइजहाज भित्रै रहनु पर्छ । बाहिर निसक्नु परेको अवस्थामा हवाईजहाज रोकिराखेको देशको तोकिएको अधिकारीलाई हतियार बुझाएर निष्कनु पर्छ र भित्र जाँदा फेरिसँगै लान पाइन्छ ।
No comments:
Post a Comment