२७ वैशाख, काठमाडौं । चीनको राज्य परिषद्का ‘स्टेट काउन्सिलर’ याङ जेइची नेपालको दुईदिने औपचारिक भ्रमणमा आगामी साता काठमाडौं आउनुहुने भएको छ ।
परराष्ट्र प्रवक्ता अर्जुनबहादुर थापाले आगामी जेठ ४ गते स्टेट काउन्सिलर नेपाल आउने जानकारी दिनुभयो । भ्रमणका क्रममा राष्ट्रपति डा रामवरण यादव, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसँग भेटवार्ता गर्ने कार्यक्रम छ । असल छिमेकीको नाताले चीनले नेपालमा सधँै शान्ति, राजनीतिक स्थिरता एवम् आर्थिक समृद्धि चाहेको बताउँदै प्रवक्ता थापाले भन्नुभयो-”नेपालमा चीनविरोधी गतिविधि नहुन् भन्ने बेइजिङको चाहना छ । “
चीनका पूर्व विदेशमन्त्रीसमेत रहनुभएका याङको भ्रमणका बेला नेपाल-चीन द्विपक्षीय लगानी प्रबर्द्धन तथा सुरक्षा सम्झौता -बिपा) हुने सम्भावना नरहेको स्पष्ट गर्दै उहाँले त्यससम्बन्धमा अन्तरमन्त्रालय परामर्श भने जारी रहेको जानकारी दिनुभयो ।चीनका विदेशमन्त्रीभन्दा माथिल्लो तहका स्टेट काउन्सिलर याङ चीनको विदेश नीति निर्माण गर्ने पाँच प्रभावशाली व्यक्तिमध्येका एक मानिनुहुन्छ । नेपालसम्बन्धी जानकार उहाँ पटकपटक नेपाल आइसक्नुभएको छ । गत वर्ष तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओसँगै उहाँ नेपाल भ्रमणमा आउनुभएको थियो ।
एक प्रश्नको जवाफमा उहाँले विराटनगरस्थित भारतीय राजदूतावासअन्तर्गतको सम्पर्क कार्यालय बन्द गर्न भारत सरकारलाई पत्राचार गरिसकिएको जानकारी दिँदै उक्त कार्यालयलाई निरन्तरता दिनुको औचित्य समाप्त भइसकेकाले बन्द गर्न आग्रह गरिएको बताउनुभयो ।
प्रवक्ता थापाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -सार्क) को अठारौं शिखर सम्मेलन यसै वर्ष नेपालमा आयोजना गर्ने सम्भावना क्षीण हुँदै गएको सङ्केत गर्दै त्यसको तयारीका लागि नेपाललाई कम्तिमा नौ महिना लाग्ने बताउनुभयो । शिखर सम्मेलनबारे निर्णय गर्ने निकाय ‘अन्तर-मन्त्रालयगत बैठक’ नहुँदा सार्क सम्मेलन अनिश्चित बनेको उहाँको कथन थियो ।
No comments:
Post a Comment