Friday, 10 May 2013

खाम मगर भाषाको 'रूगुम वा लुगुम'बाट बनेको 'रुकुम' शव्दको व्युत्पत्तिबारे एक चिन्तन !!!!

 प्यारो गाँउ महत
Lake of Rukum (Rukmini Taal)
(मगर संघ केन्द्रीय समिति, काठमाडौँले २०६६ साल असार महीनामा 'मगर (ढुट ) - खस - अंग्रेजी शव्दकोष' प्रकाशित गरेर अत्यन्त उल्लेखनीय काम गरेकोमा सो संघका तत्कालीन अध्यक्ष झक बहादुर थापा मगरलाई ढिलै भएपनि बधाई तथा धन्यवाद । )

यो फोटो रुकुमकोटको तालको हो । यो 'रुकुम' भन्ने नेपालीकृत शव्द भएको बुझिन्छ । खाम मगर भाषाको 'रूगुम वा लुगुम'बाट यो 'रुकुम' शव्दको व्युत्पत्ति भएको देखिन्छ । खाम मगर भाषाको यो 'रूगुम वा लुगुम'लाई यसरी विश्लेषण गर्न पनि सकिन्छ :

१) रू + गुम = यसमा 'रू'लाई पानी र 'गुम'लाई 'बस्तीदेखि माथि वा मास्तिर' भन्ने सजिलै अर्थ लगाएर ' खाम मगर भाषा र स्थानीय बस्ती वा ठाउको नाम र त्यहाका आदिवासी खाम भाषी मगर समुदायको इतिहासको प्राचीनतालाई बुझ्न सकिन्छ ।

२ ) लु + गुम = ध्वनिगत आधारमा 'रुकु'म, 'रू + गुम' र 'लु + गुम' सबै एकै हुन र यसबारेमा यो पोष्टमा सबै व्याख्या गर्ने अवस्था छैन । 'लु + गुम' को 'लु' को अर्को अर्थ 'भेडा' पनि हुने र 'गुम' वा मास्तिर चरन वा चर्ने ठाउ तिर लगिने प्रचलन त्यस भेकतिर आजभोलि पनि कायमै छ ।

अब मूल कुरोतिर जाउ । मगर संघ केन्द्रीय समितिद्वारा २०६६ सालमा ९८४ पृष्ठको एउटा 'मगर (ढुट ) - खस - अंग्रेजी शव्दकोष' प्रकाशित गरिएको छ । यसका प्रधान सम्पादक हिरासिंह थापा ( सामेसेन मगर ) रहनु भएको छ भने सल्लाहकारहरुमा त्रिभुवन विश्वविद्यालयका वरिष्ठद्वय भाषाविद प्रा. बल्लभ मणि दाहाल र प्रा. माधव प्रसाद पोखरेल रहनु भएको छ । र, यही 'मगर (ढुट ) - खस - अंग्रेजी शव्दकोष' को पृष्ठ ८४९ मा यस 'रुकुम'लाइ नाम शव्दका रुपमा प्रविष्टी दिइएको छ तर 'रू + गुम' र 'लु + गुम' बारे किञ्चित चर्चा गरिएको छैन र सोही 'रुकुम'लाइ "नेपाल अधिराज्यको राप्ती अंचलमा पर्ने एक पहाडी जिल्ल्ला" भनेर अर्थ्याइएको छ, जुन अस्पष्ट र अपूर्ण छ ।

यस शव्दलाई खाम मगर भाषाको यो 'रूगुम वा लुगुम'बाट व्युत्पन्न भएको र त्यसैको नेपालीकृत रुप हो भनेर लेखिएको भए स्पष्ट हुने थियो । 'मगर (ढुट ) - खस - अंग्रेजी शव्दकोष'लाई पुनः मुद्रण गर्नु जरुरी छ किनभने यो किताब यहाँ बडो मुश्किलले यही हप्ता मात्र मिल्न सक्यो जसका निम्ति पुरै १ वर्ष पर्खनु पर्यो । साथै यो किताब हार्वर्ड विश्वविद्यालयको विशेष अध्ययन कोठामा मा मात्र पढ्न पाईने, त्यसलाई अन्य कुनै कोठामा लगेर पढ्ने वा 'सापटी' अर्थात् 'Barrow' गर्न नपाईने गरी राखिएको छ ।

अब यो किताब यदि पुनर्मुद्रण गरियो भने सबै मूल शव्दहरु उत्पत्ति विश्लेषण गरेर, चुस्त दुरुस्त बनाउनु आवस्यक देखिन्छ । जस्तो कि यो किताबमा प्रविष्ट गरिएको मूल शव्द 'लुम्बिनी'लाई दुई तरिकाले: १ ) नेपाल अधिराज्यको पश्चिमान्चलक्षेत्रको बुटवल जिल्लामा पर्ने ऐतिहासिक वन , स्थल , भगवान गौतम बुद्ध को जन्मस्थल, २ ) नेपाल अधिराज्यको यसै अञ्चल ( रुपन्देही जिल्ला ) भनेर अर्थ्याइएको छ ।

यसमा पहिलो संख्या (१) को अर्थ बाल चन्द्र शर्माले २०१९ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, काठमाडौँबाट प्रकाशित गरेका " नेपाली शव्दकोष'को पृष्ठ ९२२ र त्यसैलाई पुनः हुबहु सारेर माधव प्रसाद घिमिरे तथा अन्यहरुद्वारा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट फेरी २०४० मा प्रकाशित अर्को ' नेपाली बृहत शव्दकोष'को पृष्ठ ११८४ को 'बुटवल जिल्ला' भन्ने गलत सूचना छ । यस्तो गलत सूचनालाई सुधार गरेर अर्को छाप्नु राम्रो हुनेछ ।

मगर संघ केन्द्रीय समिति, काठमाडौँले २०६६ साल असार महीनामा यो पुस्तक प्रकाशित गरेर अत्यन्त उल्लेखनीय काम गरेकोमा सो संघका तत्कालीन अध्यक्ष झक बहादुर थापा मगरलाई ढिलै भएपनि बधाई तथा धन्यवाद ज्ञापन गर्न चाहन्छौ !!!!!


No comments:

Post a Comment