१८ वैशाख, काठमाडौं । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले सेना, प्रहरी, देशभक्त जनता र आफ्नो पार्टी मिलेर राष्ट्रियताको लडाइँ लड्नुपर्ने बेला आएको बताउनुभएको छ ।
सरकारले आफ्ना माग पूरा नगरी बलजफ्ती निर्वाचन गराउन खोजेर शान्ति भाँड्न खोजेको आरोप लगाउँदै उहाँले सरकारले आफूहरूविरुद्ध दमन गरे त्यसको प्रतिरोध गरिने बताउनुभयो । उहाँले भन्नुभयो- “राष्ट्रिय स्वाधिनताको रक्षा र जनतालाई अधिकार सम्पन्न गर्ने दुई माग हाम्रा हुन् । युद्ध चाहदैनौ भने हामीले राखेको माग पुरा गर ।”
सरकारले हतियार फिर्ता गर्न दिएको समयसीमाप्रति सङ्केत गर्दै उहाँले भन्नुभयो, “सरकारले माओवादीसँग भएको २२ वटा हतियार बुझाउ भनिरहेको छ । त्यति हतियारले के हुन्छ र त्यस्ता २२ वटा हतियार त यहाँ एउटै डनले राखेका छन् ।”
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य ईश्वरी दाहालले अब हुने अर्को क्रान्तिले मात्रै मजदुरका हकहित सुनिश्चित गर्ने बताउनुभयो । मजदुर महासङ्घका संयोजक रामदीप आचार्यले २५ सुत्रीय माग पुरा गराउन अभियान सुरु गर्न लागिएको जानकारी दिँदै आफूहरूको सहमतिबिना गरिने कुनैपनि सम्झौता नमान्ने उल्लेख गर्नुभयो ।
No comments:
Post a Comment