Thursday, 8 August 2013

ताल विस्फोटको खतराबाट बच्न पूर्वचेतावनी यन्त्र


taal
चिरञ्जीवी मास्के,दोलखा
आजभन्दा झन्डै १७ वर्षअघि दोलखाको गौरीशड्ढर गाविस वडा नम्बर १ मा रहेको च्छो रोल्पा हिमताल विस्फोट हुने हल्लाले रोल्वालिङ र तामाकोसी किनारका बासिन्दालाई आतंकित पारिदियो। त्यति बेला तामाकोसी किनारका धेरै व्यापारीहरू रातारात सदरमुकाम चरिकोटमा बसाइँ सरे। तर ताल विस्फोटको सामना भने कसैले गर्नुपरेन। ताल विस्फोटबाट बचाउन त्यति बेला पानीको मात्रा बाहिर निकाल्न साइफन जडान र गल्छी कटानसँगै दोलखाको लामाबगरदेखि सुनसरीको चतरासम्म साइरन जडानको कामसमेत गरियो।
अहिले पनि ताल सुरक्षित नभएको यसका अध्यताहरूले बताएका छन्। जलवायु परिवर्तनका कारण च्छो रोल्पा हिमतालको सतह निकै बढ्न गएको र सामान्य किसिमको भूकम्प वा अन्य कुनै कारणले ताल विस्फोट हुन सक्ने खतरा रहेको विज्ञहरूको भनाइ् छ। इसिमोडले सन् २०११ मा सार्वजनिक गरेको तथ्याड्ढअनुसार च्छो रोल्पा हिमताल फुट्यो भने ५ हजार १ सय ८३ जनसंख्या र ३ सय ३१ घरहरू प्रत्यक्ष प्रभावित हुनेछन्। हिमतालमा करिब ८ करोड ५० लाख घनमिटर पानी रहेको सो तथ्याड्ढमा औंल्याइएको छ। उच्च जोखिममा रहेको च्छो रोल्पा हिमताल विस्फोट भइहाल्यो भने त्यसबाट हुने क्षति न्यूनीकरण गर्न रोल्वालिङ खोला र तामाकोसी नदी किनारमा अत्याधुनिक पूर्वचेतावनी सूचना प्रणाली जडानको तयारी शुरू भएको छ।
हिमताल विस्फोटको पूर्वचेतावनी सूचना प्रणाली जडानमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र नेपाल सरकारले संयुक्त रूपमा काम शुरू गर्ने भएको छ। बृहत् विपद् जोखिम व्यवस्थापन कार्यक्रमअन्तर्गत रोल्वालिङ र लामाबगर भ्यालीमा २ करोड ५० लाख लागतमा एक वर्षभित्र अत्याधुनिक पूर्वचेतावनी सूचना प्रणाली जडान गरिन लागिएको यूएनडीपीका कार्यक्रम अधिकृत दीपक केसीले बताए। रियल टाइम सोलुसनले जडान गर्न लागेको पूर्वचेतावनी सूचना प्रणालीको सेन्सरले निर्धारितभन्दा खोला किनारामा पानीको सतह बढ््यो भने बाढी आउने खतराको सूचनालाई जीएसएम र स्याटेलाइटको माध्यमबाट एसएमएस र इमेलमार्फत सूचना दिने गर्दछ। पूर्वचेतावनी सूचना प्रणालीअन्तर्गत अटोमेटिक र टेलिमेट्रिक गरी दुई प्रकारका मेसिनहरू जडान गरिने भएको हो। रोल्वालिङ भ्यालीको ना, वेदिङ, रिकु र सिमीगाउँ तथा लामाबगर भ्यालीको लामाबगर, गोंगरखोला, जगत, मन्थली, जामुने, सुरी दोभान, भोर्ले र सिंगटीमा अत्याधुनिक मेसिनहरू जडान गरिनेछन्। जडान गरिने अटोमेटिक मेसिनले हिमतालआसपासको पानी र हिउँको मात्रा, तापक्रम, तालको सतह वृद्धि र गतिका तथ्याड्ढहरू रेकर्ड गर्ने र टेलिमेट्रिक मेसिनले जिल्ला प्रशासन कार्यालय दोलखाको विपद् व्यवस्थापन समितिमा रहेको साइरन बजेर खतराको संकेत दिने साथै मौसम पूर्वानुमान महाशाखाको डब्ल्यूडब्ल्यूडब्ल्यू डट हाइड्रोलोजी डट जीओभी डट एनपीलाई एकसाथ खतराको संकेत पठाउने गर्छ।
सन् १९९४ को प्रारम्भमा ७ करोड १ लाख घनमिटर पानी रहेको तालमा अहिले पानीको मात्रा बढ्दै गएकाले पनि खतराको सड्ढेत देखिएको अध्यताहरूको भनाइ छ। झन्डै ६० वर्षअघि बनेको अनुमान गरिएको च्छो रोल्पा हिमताल समुद्री सतहबाट ४ हजार ५ सय ८० मिटरको उचाइमा रहेको छ। यो दक्षिण एसियाकै सबैभन्दा अग्लो ठाउँमा रहेको हिमताल भएको विज्ञहरूको दाबी रहेको छ।

No comments:

Post a Comment