नेपालको जमिनमा पाइला टेक्नासाथ एकहुल पत्रकारहरूले घेरे कमरेडलाई ।
संयोगले पत्रकारमाझ एक अपत्रकारको पनि उपस्थिति थियो । अर्थात् मेरो । म एक पत्रकार मित्रसँग निरुद्देश्य यहाँ आइपुगेको थिएँ ।
'अभिवादन कमरेड ।' मैले पत्रकारहरूका भीडमा बलजफ्ती टाउको छिराएँ ।
'अभिवादन ।' मलाई चिनेर कमरेड छोटो जुँगासँगै फिस्स हाँसे, 'तपाईं पनि मेरो स्वागतमा आउनुभएको ?'
'होइन, म त त्यसै घुम्दाघुम्दै आइपुगेको हुँ कमरेड ।'
'ए ।' कमरेडले अँध्यारो मुख पारेर पत्रकारहरूतिर टाउको घुमाए, 'सोध्नोस्, तपाईंहरूलाई के सोध्नुछ ?'
'तपाईंको यो भारत भ्रमण कस्तो रह्यो नेताजी ?' सबै पत्रकार एकमुष्ट ढंगले
उच्चरित भए ।
'हेर्नोस्, वर्तमान परिप्रेक्ष्यमा भन्ने हो भने एकदम बढिया भन्नु नै यथार्थसम्मत हुन्छ ।'
'कस्तो बढिया ?' एक पत्रकारको सानो खाले हाते टेपरेकर्डर कमरेडको मुखैनेर पुग्यो ।
'हो, आफ्नो भारत भ्रमणको अलिकति व्याख्या गर्नोस् नेताजी ।' अन्य पत्रकारहरू पनि यो प्रश्नमा तत्कालै संलग्न भए ।
'म त्यसै दिल्ली गएको होइन, त्यहाँका सम्माननीय नेताहरूद्वारा बोलाइएर गएको हुँ ।' कमरेडको स्त्रैण टाइप आवाज एयरपोर्टको लाउन्जमा गुञ्जियो, 'त्यसैले मेरो भारत भ्रमण खराब हुने त कुनै प्रश्न नै छैन ।'
'त्यसो भए, तपाईंको स्वास्थ्य राम्रो छ, होइन त कमरेड ?' म पनि पत्रकार र कमरेड बीचको प्रश्नोत्तर कार्यक्रममा हाम्फालेँ ।
'यसको के मतलव ?' कमरेडले मलाई चस्माभित्रका आँखा ठूलो पारेर हेरे ।
'अरु नेता स्वास्थ्य ठीक पार्न दिल्ली जान्छन्, तपाईं बकाइदा निमन्त्रित भएर त्यता जानुभएकोले स्वास्थ्य राम्रो छ भनेको हुँ
कमरेड ।' मैले मुस्कुराएर भनेँ, 'मेरो कुराको अन्य कुनै मतलव छैन ।'
'तपाईंकै पार्टीका एक प्रभावशाली भनिने नेता बरोबर स्वास्थ्य परीक्षण गर्न भनेर दिल्ली परिक्रमा गरिरहन्छन् । कुन्नि, यो वर्ष किन नगएका !' मैले कमरेडलाई सोचनीय मुद्रामा चुपचाप उभिएको पाएर फेरि भनेँ, 'यसको त एउटै अर्थ हुनसक्छ ।'
'के अर्थ ?'
'उनको मौजुदा स्वास्थ्य पनि कमरेडको जब्बर स्वास्थ्यजस्तै उम्दा एवं बढिया
भइसक्यो ।'
'हुँ ।' कमरेडले संक्षिप्त प्रतिक्रिया जनाए ।
'भारतीय नेताहरूले के-के भने नेताजी ?' पत्रकारहरू पुनः एकजुट भएर कमरेडसँग प्रश्न गर्न थाले ।
'मलाई स्वागत गर्न पार्टीका साथीहरू किन नआएका होलान् ?' कमरेडले पत्रकारहरूका प्रश्नलाई बेवास्ता गरेर चिन्तित मुद्रामा विस्तारै आफैंलाई भने ।
'भारतीय नेताहरूले के-के भने नेताजी ?' कमरेडलाई चारैतिरबाट घेरेर उभिएका पत्रकारहरूले प्रश्न दोहोर्याए ।
'सम्माननीय भारतीय नेताज्यूहरूले मसँग गम्भीर वार्ता गर्नुभयो ।'
'यसको पनि व्याख्या गर्नुपर्यो, नेताजी ।' एक अखबार तथा कलमविहीन चालु पत्रकार अघि सर्यो, 'कस्तो गम्भीर वार्ता ?'
'वर्तमान परिप्रेक्ष्यमा जस्तो सहज एवं स्वाभाविक प्रकारले हुनुपथ्र्याे, दिल्लीमा मेरो सम्माननीय भारतीय नेताज्यूहरूसँग त्यस्तै वार्ता सम्पन्न भयो ।' कमरेडले आफ्नो गोलो टाउको एउटा लयमा हल्लाएर भने, 'वास्तवमा उहाँहरूले मसँग हाम्रो मुलुकमा हुनलागेको दोस्रो संविधानसभाको आसन्न निर्वाचनबारे व्यापक जिज्ञासा राखेर सोध्नुभयो ।'
'के-के सोधे त नेताजी ?'
'हेर्नोस्, मैले दुई महान छिमेकी राष्ट्र भारत र नेपालको विशिष्ट खाले मित्रतालाई अझ सुदृढ तथा गहिरो पार्न भारतका सबैजसो ठूला-ठूला नेताज्यूहरूसँग पालैपालो गरेर भेटघाट गरेँ । यही सिलसिलामा सत्तापक्षीय नेताज्यूहरूसँग भेटेँ । यसका साथसाथै त्यहाँका प्रतिपक्षीय नेताज्यूहरूसँग पनि भेटघाट भयो । सबभन्दा महत्त्वपूर्ण कुरो के हो भने मैले भारतका सम्माननीय प्रधानमन्त्रीज्यूसँग प्रधानमन्त्री कार्यालयमै गएर भेटेँ । यतिमात्र होइन, आखिरीमा महामहिम भारतीय राष्ट्रपतिज्यूसँग पनि भेटघाटको अवसर प्राप्त हुनगयो ।' एकछिन विगतको सुमधुर स्मृतिमा हराएर भने, 'सबै सम्माननीय भारतीय नेताज्यूहरूले मसँग एउटै कुरा गर्नुभयो ।'
'के कुरा नेताजी ?' टेलिभिजनको क्यामेरा कमरेडको मोटो, पुड्को र डल्लो कायामा
स्थिर भयो ।
'यही भन्नुभयो कि वर्तमान परिप्रेक्ष्यमा तपाईंहरूले नेपालमा संविधानसभाको निर्वाचन गर्नु नै सर्वाेत्तम हुनेछ ।'
'यतिमात्र भने र नेताजी ?' कमरेडसँग उभिएको पत्रकारको बोलीमा यामानको अविश्वास थियो ।
'अरु पनि थुप्रै कुराकानी भए ।'
'त्यही त, के कुराकानी भए तपाईंको भारतीय नेताहरूसँग नेताजी ?' सबै पत्रकारले प्रश्नमा अतिरिक्त बल दिएर सामूहिक रूपमा कमरेडसँग सोधे ।
'अब भन्नैपर्यो भने तपाईंहरूले मेरो कुरालाई ध्यान दिएर सुन्नोस् । तर कृपया यसलाई गोप्य नै राख्नुहोला ।' कमरेडले भेदपूर्ण आवाजमा विस्तारै भने, 'उहाँहरूले मलाई प्रेमपूर्वक भन्नुभयो- 'तपाईं कम्युनिस्ट भएकोले राम्रो कम्युनिस्ट बन्नोस् । हामीलाई कुनै आपत्ति छैन । नेपालका कम्युनिस्टहरू राम्रै छन् ।' यसको जवाफमा मैले सम्माननीय भारतीय नेताज्यूहरूलाई भने, 'हामीहरू राम्रो कम्युनिस्ट नै हौं ।' उहाँहरूले मुस्कुराएर फेरि भन्नुभयो, 'राम्रो कम्युनिस्ट भएकोले तपाईंहरूले नेपालमा आफ्नो जनवाद ल्याए पनि हामीलाई केही छैन । चाँडै नै जनवाद ल्याउनोस् । ढिलो नगर्नोस् ।' अनि मैले पूर्णतया गम्भीर भएर सम्माननीय भारतीय नेताज्यूहरूलाई भने, 'हजुरहरूले भने मुताविक हामी नेपाली जनतामाझ बेस्सरी जनवाद फैलाइरहेका छौं ।'
'जनवादको बहुदलीय जनवाद ।' मैले कमरेडको भनाइमा आफ्नो तर्फबाट सोधेँ ।
'के भन्नुभएको ?' कमरेडले सक्रोध मतिर टाउको घुमाए ।
'छोटकरीमा तपाईंहरूका जबज ।'
'तपाईं यहाँ किन ?' कमरेड गहिरो नजरले मलाई हेर्दै एकाएक पड्किए, 'के तपाईं पत्रकार हो ?'
'होइन, म पत्रकार होइन ।'
'अनि हामीबीच तपाईं नचाहिँदो कुरा किन गर्नुहुन्छ ?'
'हेर्नोस् कमरेड, तपाईं मलाई राम्ररी चिन्नुहुन्छ । हाम्रो पुरानो चिनजान छ । तर यसको कुनै अर्थ छैन । यति जान्नोस्, म नेपाली जनता हुँ । तपाईंहरूले लगातार फैलाइरहेको तथाकथित जनवादको एक भोक्ता ।' मैले कमरेडको आँखामा आँखा जुधाएर भनेँ, 'त्यसैले मलाई तपाईंसँग केही भन्ने पुराका पुरा हक छ ।'
'बढ्ता कुरा नगर्नोस् ।'
'तपाईंले बढ्ता कुरा गरेचाहिँ हुन्छ कमरेड ?'
'ल-ल, ठीक छ, ठीक छ ।' एकछिन अघिसम्म उत्तेजित देखिएका कमरेड सहसा शान्त भए । त्यसपछि एयरपोर्टको भीआईपी लाउन्जमा उभिएरै केही सोच्न थाले । अनि केही समयपछि सायद थाकेर सुस्तरी आफैंसँग भने, 'अहिलेसम्म मलाई स्वागत गर्ने पार्टीका साथीहरू किन नआएका होलान् ?'
No comments:
Post a Comment