अहिले तीन पार्टीका बीचमा एकताको चर्चा छ । के एकता सम्भव होला ?
आज देशमा प्रतिक्रियावादी, पुनरुत्थानवादी, यथास्थितिवादी शक्ति हावी भएको अवस्था छ । त्यसो भएकाले क्रान्तिकारी शक्ति र पार्टीहरु, जो आमूल परिवर्तनको पक्षमा छन्, तिनीहरुका बीचमा सिद्धान्तनिस्ठ एकीकरण हुनुपर्दछ भन्ने कुरामा नेकपा एकीकृत, नेकपा–माओवादी र क्रान्तिकारी कम्युनिस्ट पार्टीका बीचमा सहमति भएको छ र यसैअनुसार पहल भइरहेको छ । धेरै पहिलेदेखि नै वार्ता–संवाद भएका हुन । संविधानसभाको कथित दोश्रो निर्वाचन वहिस्कारको चटारोले यो क्रम स्थगन भएको थियो । अहिले आएर पुनः वार्ता–सम्वाद सुरु गरेका छौं । हाम्राबीचमा दुई पक्षीय वार्ताहरु भएका छन् । हाम्रो पार्टी र नेकपा–माओवादीका बीचमा यही पौष ६ गते दुई पक्षीय वार्ता भएको थियो ।
अनि त्यसमा के समझदारी भयो त ?
हाम्राबीचमा भएका समानता र भिन्नतालाई छुट्याएर भिन्नताहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अझै ठोस ढंगले छलफल गर्ने निर्णय भएको छ । त्यसअनुसार पौष १५ गते दुवै पार्टीका प्रमुख नेतृत्वसहित ती विषयहरुमा सकारात्मक ढंगले छलफल गर्ने कार्यक्रम तय भएको छ ।
तीन पक्षबीच सँगै कुराकानी भएका छैनन् ?
छैनन् । दुई पक्षबीच भएका छन् । त्यो पनि छिट्टै हुन्छ ।
नमिलेका भनेका मुख्य कुराहरु के के हुन ?
पहिलो कुरा त एकीकरण र ध्रुवीकरणको प्रक्रियालाई सबै हिसावले सहज र सकारात्मक दिशामा अगाडि बढाउनेतर्फ प्रयत्नशील भइरहेका छौं । हाम्राबीचमा पनि केही प्राविधिक र व्यावहारिक विषयहरु भिन्नताका रुपमा देखापरेका छन् । वैचारिक, सैद्धान्तिक विषयहरुमा मूलतः चार वटा विषयहरु रहेका छन् । ती हुन–
१. मार्गनिर्देशक सिद्धान्तको विषय । माओवाद र माओ विचारधाराबारे ।
२. पार्टीको आगामी कार्यदिशाबारेमा । खासगरी संघर्षको स्वरुपका बारेमा ।
३. प्रधान अन्तरविरोधका बारेमा । अर्थात्, मुख्य शत्रु किटानका बारेमा ।
४. देशको आर्थिक तथा सामाजिक अवस्थाको मूल्यांकन । अर्धऔपनिवेशिक अथवा औपनिवेशिक भन्ने विषय ।
त्यस्तै नेतृत्वसम्बन्धी अभ्यास वा पार्टीको सामूहिक नेतृत्वको अभिव्यक्ति र पार्टीको नामका बारेमा ।
तीन पार्टीवाहेक अन्य पार्टी र शक्तिसँग पनि एकीकरणका बारेमा छलफल भएका छन कि ?
तत्काल तीन पार्टीका बीचमा नै हामीले एकीकरण र ध्रुवीकरणको सम्भावना देखेका छौं । तर, नीतिगत रुपमा अरु क्रान्तिकारी पार्टी र शक्तिहरुसँग पनि पहलकदमी लिने भन्ने कुरामा हामी सहमत छौं । त्यसरी हेर्दा नेकपा (मसाल) लगायत पार्टीसँग वार्ता–सम्वाद चलाउनसक्ने सम्भावना रहेको छ । तर, तात्कालिक राजनीतिक विषयका कारणले गर्दा उनीहरुसँग वार्ता–सम्वाद चलेको अवस्था छैन् । तर, हाम्रो पार्टीको तर्फबाट उहाँहरुसँग पनि वार्ता–सम्वादको पहल गर्ने निर्णय गरेको छ ।
तेत्तीस दलीय मोर्चाको भूमिका अब कस्तो हुन्छ ?
वदलिएको राजनीतिक परिदृश्यमा ३३ दलीय मोर्चामा रहेका पार्टीहरुका बीचमा पार्टीहरुका बीचमा आ–आफ्नो पार्टीहरुले लिएका नीति एवम् निर्णयहरुका बारेमा विचार आदान–प्रदान भएका छन् । कथित संविधानसभालाई अश्वीकार गर्दै देश र जनताको पक्षमा अग्रगामी संविधान निर्माणका लागि संघर्ष र आन्दोलन अगाडि बढाउने नीतिगत सहमति भएको छ । तर, तत्काल संघर्ष र आन्दोलनका कार्यक्रम भने तय भएका छैनन् ।
No comments:
Post a Comment