Thursday, 19 June 2014

नेपाल मगर संघ युएई फुटालेको होइन,विघटित कार्यसमितिको ठाउँमा नयाँ कार्यसमितिको निर्माण गरिएको हो- अध्यक्ष शुशी पुलामी घर्ति मगर |

लामो समय देखी छुट्टा छुट्टै नेपाली मगर संघ युएई र मगर संघ युएईको नामवाट आ-आफ्नो गतिविधि संचालन गर्दै आइरहेका युएईका दुई वटा मगर संघहरु विच गत अप्रिल ४ मा एकता भयो । एकता पछिको पहिलो कार्यक्रम २५५८ औ वुद्द जयन्तीको कार्यक्रम संपन्न हुनुभन्दा पहिला अतिथिको विषयलाई लिएर हस्तवहादुर दर्लामी मगरजिको अध्यक्षता रहेको नेपाल मगर संघ युएईका कार्यवाहक महासचिव रहेका शुशी पुलामी घर्तिमगरलाई साधारण सदस्य नै नरहने गरी पदवाट निस्कान गरीसके पछी त्यस निस्कासनको वैधानिकता माथि प्रश्न उठाउँदै असन्तुष्ट मगरहरुको गत १८ मे मा विशेष भेला सम्पन्न भयो । उक्त भेलाले सहमतिको जगमा वनेको हस्त बहादुर दर्लामी मगरको अध्यक्षतामा रहेको नेपाल मगर संघ युएई सहमति तोडिदा स्वतः विघटन भएको ठहर गर्दै नयाँ कार्य समितिको चयन गरयो । यसै सेरोफेरोमा रहेर ग्वामे काइके मगरले नेपाल मगर संघका वर्तमान अध्यक्ष शुशी पुलामी घर्तिमगरसंग लिएको अन्तर्वार्ता :

अध्यक्ष ज्यू यहाँलाई कार्यक्रममा स्वागत छ । 
धन्यवाद ! 

कुराकानी सुरु गरौँनेपाल मगर संघ केन्द्रीय समिति युएईको अध्यक्ष पदमा सर्वसहमत रुपमा चयन हुनु भएकोमा यहाँलाई वधाई तथा शुभकामना ! अहिले नेपाल मगर संघ युएईले के गर्दै छ ? 
नेपाल मगर संघ युएईले भरखरै १८ मे मा विशेष भेला सम्पन्न गर्यो । उक्त विशेष भेलामा समायोजन पुर्व राष्ट्रिय पहिचान बोकेको नेपाली मगर संघ युएई र राष्ट्रियताको सवालमा शरणार्थीको अवस्थामा रहेको मगर संघ युएईको सम्मानजनक समायोजन गर्दै सहमतिको जगमा वनेको नेपाल मगर संघ केन्द्रीय समिति युएईको मूल नेतृत्व तहवाटै सहमती तोडीएकोले सहमति तोड्ने हस्त बहादुर दर्लामी मगर अध्यक्ष रहेको त्यो कार्य समिति स्वत: विघटन भएको थियो । भेलाले उक्त कार्य समिति विघटन भएको औपचारिक निर्णय गर्दै मेरो नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । अव यसै संघ मार्फत हामि मगर जातीय भाषा,धर्म,संस्कृति,लिपि र कलाको सम्रक्षण र संवर्द्धन,सामाजिक रुपान्तरण राजनैतिक हक अधिकारको प्रशिक्षण,विभिन्न सचेतना कार्यक्रम एवं संघका गतिविधि ल्याउने तैयारीमा जुटेका छौ ।

उसो भए अहिले युएईमा नेपाल मगर संघ युएई नामका २ वटा मगर जातीय संगठन छन् हो ? 
होइन । युएईमा नेपाल मगर संघ युएई नामको मगर जातीय संगठन १ मात्रै छ त्यसको नेतृत्व म शुशी पुलामीले गरेको छु ।

हस्तवहादुर जीले नेतृत्व गर्नु भएको नेपाल मगर संघले तपाईंलाई कारवाही गरेर साधारण सदस्य नै नरहने गरी निलम्वन गरयो भन्ने कुरा छ नि, हो ?
कार्वाही केलाई भन्नु हुन्छ तपाईंले ? यसको पनि विधि र प्रकृयाहरु हुन्छन् । मलाई संस्थागत रुपमा कारवाही गरिएको भन्ने कुरा त मलाई थाहा छैन तर संघलाई गोजीमा राख्न खोज्ने कतिपय व्यक्तिले त्यो सुश्साहस गरेका अवस्य हुन् । तपाईं आफै भन्नुस, ४५ सदसीय भएको जम्वो संघमा मलाई कारवाही गर्दा के कति जनाले निर्णय लिएका थिए ? के यो मगर संघ एकाध व्यक्तिहरुको पेवा हो ? यसवाट नै त्यसको वैधानिकताको प्रश्न उठ्दैन र ? यो कुरा मान्य हुने कुरै थिएन । 

भने पछी अर्को मगर संघ खोलियो भन्न खोजेको हो ?
अघि नै भनिसकेको छु । यो कसैको पेवा होइन, न यो सुसी पुलामीको न कसैको नै ।कसैले खोल्न चाहेर खोलिने र वन्द गर्न चाहेर वन्द गरिने पनि होइन । त्यसैले यो नयाँ खोलिएको संघ होइन, वरु कार्यसमिति मात्रै परिवर्तन गरिएको हो ।
तर कसैको आरोप छ, कि तपाईंहरुले पदको लागि मगर संघ फुटाउनु भएको हो । यसमा के भन्नु हुन्छ ?
तलव र भट्टा पाइने हो र पदको मोह गर्नलाई ? फेरी पनि भन्दै छु, मगर संघ फुटेको छैन । संघ एउटा मात्रै छ, त्यो हो नेपाल मगर संघ । कसैको इच्छाले यो टुट्ने फुट्ने होइन । तपाईं स्पष्ट हुनु होस् ।

हस्त बहादुर दर्लामी मगर अध्यक्ष रहेको नेपाल मगर संघ युएई पनि छ नि   होइन र...?
विघटन भएको केन्द्रीय समितिले अस्तित्वमा छु भन्नु आफैमा हास्यास्पद कुरो हो । नैतिक रुपमा पनि त्यो उचित देखिदैन । उहाँको पुरानो राष्ट्रियत पहिचान विहिन मगर संघ युएईलाई हाम्रो नेपाल मगर संघ युएईको राष्ट्रियताको जीवनबुटी खुवाएर अर्ताथ पुच्छर छोपेर राष्ट्रियताको बैतर्नी तर्न खोज्नु भएको हो भने पनि त्यो अर्कै कुरो भयो, यो उहाँहरुले पनि आफै वुझ्नु पर्छ यो आपतिजनक कुरो हो, किनभने दुई मगर संघ एक हुँदा नेपाल मगर संघ युएई नामको प्रस्ताव हामीले गरेका हौँ । कोहि कसै अमुख व्यक्ति वा सँस्थाको नामवाट यो नाममा दावा गर्न कुनै नैतिक हैसियत छैन ।

किन छैन ? 
किनभने उहाँहरुलाई राष्ट्रियता जोडिएको नाम नै प्रिय छैन भन्ने उहाँहरुको इतिहासले प्रमाणित गरिसकेको छ । अर्को कुरा पहिला पनि नेपाली मगर संघ युएईवाट नेपाली शव्द हट्याउन नेपाल मगर संघ केन्द्रीय समितिको प्रवास कमिटीको प्रमुखको सल्लाहले संसारभरीका मगर जातीय संगठनको एक रुपताको लागी हटाएको भन्दै हुनुहुन्थ्यो । जुन तपाईं आफैलाई पनि थाहा भएको कुरा हो । अहिले पनि नेपाल मगर संघ युएई भन्दै तन्त्र मन्त्र गर्दै हिडे पनि, अन्तोत्वागोत्वा कि मलाई नै समर्थन गरेर नेपाल मगर संघ युएईमा आउनुहुन्छ, कित उहाँहरु मगर संघ युएई तर्फ नै फर्कन उहाँहरुलाई राम्रो हुन्छ ।

तपाइहरुले कसरी एकतर्फी रुपमा विशेष भेलाको आव्हान गर्न सक्नुहुन्छ ? भेलामा अर्को पक्षलाई किन बोलाउनु भएन ? 
हेर्नुहोस् ! दुई मगर संघ एकीकरण विधान अनुसार त भएको होइन । जव दुवै मगर संघ एकीकरण भए तव दुवै मगर संघका विधानहरु स्वत: निलम्बन भएको अवस्था थियो । यो विशिष्ट अवस्थामा जे जे हुन्थ्यो इमान्दारीकासाथ सहमति अनुसारनै हुन पर्ने थियो । तर उहाँ हरुले इमान्दारीता देखाउनु भएन । उहाँहरु लामो समय देखि वाहुनवादी शासकहरुको गुलामी एवं सहकार्य र सहवासको कारण उहाँहरुमा मगर जातीय सोझोपन,इमान्दारिता पूर्ण रुपमा विकृत भै सकेको रहेछ अर्थात मरी सकेको रहेछ । स्वयम: जिम्वेवार पदमा रहनेहरुवाट नै स्याँठ एवं मुर्ख्याई देखाइयो र श्रष्टाहरुको अपमान गर्ने युएईको सवालमा आदिवासी जनजाति आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाल आदिवासी जनजाति परिषदलाई नै मिनिमाईज गर्ने दूशाहस गर्न खोजियो, यो समग्र आदिवासी जनजाति एकताको सन्दर्भमा दर्भाग्यपूर्ण थियो । हामीले यस विषयमा उहाँहरुलाई निकै सम्झाउन बुझाउन खोज्यौ तर उहाँहरुले पटक्कै मान्नु भएन । यो अवस्थामा सहमतिको जगमा बनेको कार्यसमिति सहमति तोडीएपछी त्यो स्वत: विघटन हुन्थ्यो र विघटन भयो | अनि हामीले युएईमा रहेका सवै मगरहरुको विशेष भेलाको आव्हान गर्यौं । भेलामा लगभग १२ मगरात १८ मगरातका सचेत जातीय संगठनमा कृयाशील अधिकांस मगरहरुको प्रतिनिधित्व थियो । कोहि कुनै कारणवश भेलामा आउन सकेन, आएन भने हामीले भन्नु केही छैन । आफ्नो जातीय उत्थानको लागि आफै उठ्नु पर्छ । त्यसको लागि अरुले उठाइराख्नु आवस्यक पर्दैन । हामीले युएईको इतिहासमा १२ मगरात १८ मगरातको प्रतिनिधित्व हुने गरी उपाध्यक्ष चयन गरेका छौ भने डोल्पाका काइके भाषी मगरहरुको पनि भविष्यमा प्रतिनिधित्व गराउने लक्ष्य समेत राखेका छौ ।

अनि भेलाले तपाईलाई नै अध्यक्षमा किन आवस्यक देख्यो ?
मलाई लाग्छ हामि सामाजिक विभेदको विरुद्द सामाजिक संघ सँस्थामा लागेकाहरुको नै वैचारीक अवस्था अझ पनि लैङ्गिक विभेदवाट बाहिर आउन सकेको छैनौ । सम्भवत संसारभरी रहेका पुरुष समेत रहने कुनै पनि संघ सँस्थामा महिला प्रमुख भएको नेपाल मगर संघ युएईनै पहिलो हो । युएईको सवालमा भन्नु हुन्छ भने करिव एक दशक देखि हाम्रो मगर जातीय संगठनमा पुरुष मगरहरु नै अध्यक्ष रहदै आउनु भएको छ । कोहि कसैले पनि विवाद रहित किसिमवाट सवैलाई समेटेर संघमा लग्न सक्नु भएन । 

अनि तपाईले सक्नुहुन्छ त सवैलाई समेटेर लग्न ? 
डिफेनेटली ! आइक्यान डु इट !! म अवस्य सक्छु, अहिलेको सन्दर्भमा यो विवाद मिलाउन सक्ने राम्रो समन्यकारी क्षमता भएको मगर लिडरको अभाव थियो । यसकालागी निविकल्प म नै सक्षम् छु | साथै अहिलेको सन्दर्भमा संघलाई ठिक दिशा दिएर हाँक्न सक्ने जोस, जाँगर. लगनशील, कर्त्व्यनिष्ट र इमान्दारीता भएको लिडर म पनि छु भन्ने म ठान्दछु । म एक अतिक्रियाशिल मगर हुँ । तर यसकोलागि तपाई पत्रकार, वुद्धिजीवी, समाजसेवी, राजनैतिककर्मी एवं चेतनशील मगरहरुको सहयोग र समर्थनको जरूरी छ । म एक्लैले गर्ने भन्ने कुरा होइन । 

तपाईले समय कसरी निकाल्नुहुन्छ ?
जहाँ इच्छा त्यहाँ उपाए । समय निकाल्नु पर्छ र निकाल्छु पनि ...! मलाई चिन्ने जो कोहिले पनि मेरो कामप्रतिको इमान्दारितामा विश्वाश गर्ने मैले पाएको छु ।

तपाईंको अध्यक्षतामा रहेको मगर संघको आगामी कार्यक्रमहरु के-के रहेका छन्  ?
खासमा हामीले गर्ने भनेको पहिचानको कुराहरुलाई हामीले आफ्नो ठाउँवाट जोडदार रुपमा उठाउनु नै हो जुन हामीले गर्दै आइरहेको पनि हो । अन्य नियमित अवशरहरुमा हामीले विभिन्न कार्यक्रमहरु आयोजना गर्नु पर्ने हुन्छ । अर्को महत्वपुर्ण के हो भने हामीले अवको केहि समय पछि संघका सदस्यहरुलाई नेपालमा वोलिने ३ किसिमका मगर भाषाहरु जस्तै १८ मगरातमा वोलिने खाम, १२ मगरातमा वोलिने भाषा लगाएत तपाईहरुको क्षेत्र तिर वोलिने काइके मगर भाषा प्रशिक्षण अभियान चलाउने महत्वकांक्षा लिएका छौं । हामीसंग धेरै भाषा प्रशिक्षकहरु रहेको हुनाले हामीलाई त्यसको लागि समस्या छैन वरु तपाईहरुको क्षेत्र तिर डोल्पा शहरताराको कुरा गर्ने हो भने अलि गाह्रो पनि छ । किन भने त्यहाँ एक गाउँमा मात्रै यो भाषा वोल्ने गरिन्छ । तपाईं वोल्नु हुनु हुने रहेछ । हामीलाई तपाइको सहयोग पनि चाहिन्छ त्यसको लागी । यो लोपोन्मुख भएको भाषालाई हामीले वचाउनु पर्छ । कम्तिमा पनि एक वर्ष भित्रमा संघका सम्पूर्ण सदस्यहरुले यी तिनै भाषामा वुझ्न र फर्काउन सकुन । यो नै हाम्रो लागि महत्वको विषय हुने छ ।

अन्तर्वार्ताको लागी समय दिनु भएकोमा यहाँलाई धन्यवाद !
धन्यवाद तपाईंलाई पनि । विदाको दिनमा पनि यस्तो गर्मीमा यहाँसम्म आएर आफ्नो कुरा राख्ने मौका दिनु भयो  ।

मजदुरहरुको हितको निम्ति राजदुतावासमा १३ वुंदे पत्रको सन्दर्भमा- पृथीछक वुढा मगर (ग्लोभिभोना)

गत अप्रिल महिनाको १८ तारिखको दिन नेपाली मजदुरहरुको संवन्धमा ५ संगठनहरुको साझा संयन्त्र वनेको थियो । युएईका मजदुरहरुको हक हितको वारेमा साझा धारणा वनाउने हाम्रो सवैको प्रतिवद्दता थियो । संयन्त्रमा नेपाली एकता समाज युएई, नेपाली जनप्रगतिसिल मोर्चा युएई, नेपाली जनप्रगतिसिल मन्च युएई, नेपाली जनसम्पर्क समिति युएई, नेपाली एकता मन्च संलग्न थिए । यी पाँच संगठनहरुले मजदुरहरुको समस्याहरुलाई अध्ययन गरेर आ-आफ्नै तरिकाले प्रतिवेदन तयार गर्ने र ति प्रतिवेदनहरुलाई अध्ययन गरेर संयुक्त रुपमा साझा समस्याहरुलाई एकरुपता गरी नेपाली राजदुतावासमा ज्ञापन पत्र वुझाउने सहमति भएको थियो । तर मजदुर वर्गको सवालमा सवै परिवर्तन चाहने तव्काहरुको एउटा आवाज हुनु पर्छ तव मात्रै एजेन्डा सहि ठाउँमा लागु हुन सक्छ भन्ने मान्यता नेपाली जनप्रगतिसिल मोर्चाको विचार थियो । त्यसैले सवै परिवर्तनकामी संगठनहरु विचमा कार्यगत एकरुपताको लागि पहल गरेको थियो । त्यस सहकार्यमा नेपाली जन प्रगतिसिल मोर्चा युएई, जनप्रगतिसिल मन्च युएई र नेपाली एकता समाज युएई संलग्न थिए । साझा समस्याहरुको वारेमा वहस गर्न तिनै संगठनका पदाधिकारीहरु संलग्न थिए । नेपाली जनप्रगतिसिल मोर्चाको तर्फवाट कार्यवाहक अध्यक्ष साहस न्यौपान्य, महासचीव पृथीछक वुढा, सचिव काशी काफ्ले, के.स. विवस लिम्वु, के.स. चित्र थापा हुनुहुन्थ्यो । नेपाली एकता समाजवाट अध्यक्ष कृष्ण के.सी. हुनु हुन्थ्यो भने नेपाली जनप्रगतिसिल मन्चको तर्फवाट अध्यक्ष हेमन्त पौडेल हुनु हुन्थ्यो । तिनै संगठनका पदाधिकारीहरु संलग्न भएको वैठकले कार्यगत एकताको प्रस्ताव पारित गरेको थियो । वेला-वेलामा वहसहरु भइरहन्थ्यो गृहकार्यको लागि । यसै वेलामा नेपाली जनप्रगतिसिल मन्चको अध्यक्ष  हेमन्त पौड्यालजीले यो वहसलाई केहि दिनका लागि स्थगित गर्ने र आ-आफ्नो संगठन भित्र आन्तरिक गृहकार्य गर्ने समय माग्नु भएको थियो । सोहि अनुरुप वहस स्थगित पनि गरियो । त्यसको दुई दिन पछी एक्कासी हेमन्त पौड्यालले नेतृत्व गर्नु भएको नेपाली जनप्रगतिसिल मन्च,  नेपाली जनसम्पर्क समिति र नेपाली एकता मन्चले दुतावासमा ज्ञापन पत्र वुझाउन जाने कुरा उठाएका थिए । यो अध्यक्ष हेमन्त पौड्यालको गद्दारीको परिणाम थियो । त्यो वुधवारको दिन थियो, जुन दिन हामी कसैको विदा थिएन । अर्को तिर ज्ञापन पत्र तयार गर्नु भन्दा पहिले  हामीले आ-आफ्नै तरिकाले प्रतिवेदन वनाउने र ति प्रतिवेदनहरुको आधारमा साझा कुराहरुलाई ज्ञापन पत्रको रुपमा तयार गर्ने कुरा हाम्रो सहमति भएको थियो तर यो हुन सकेन । उहाँहरु एकलौटी ढंगवाट जान खोज्नु भयो । केटाकेटीको खेल भन्दा उत्कृष्ठ कार्य थिएन यो । मैले मन्चका अध्यक्ष हेमन्त जीलाई सम्पर्क गरेको थिएँ उहाँको भनाई यस्तो थियो ''मैले ९/१० वटा वुँदाहरु तयार गरेको थिएँ । त्यो उहाँहरुलाई देखाए पछी हाम्रो सहमति भयो । यो कुनै गल्ति होइन । तपाईंहरु पनि आफ्नो वुँदाहरु ल्याउनुस, त्यसमा हस्ताक्षर गराउने र  उनीहरुलाई मनाउने काम मेरो भयो'' । उहाँले कुन प्रकृयावाट जान खोज्नु भएको हो ? जव प्रकृया नै गलत भइरहेको छ भने हेमन्त जीहरू जसरी जानु भयो त्यसरी हामी दुई संगठन नेपाली जनप्रगतिसिल मोर्चा र नेपाली एकता समाजले सति जान नसक्ने निर्णय गर्यौं । यसमा मन्चले आफ्नो वर्गीय धरातल माथि कुठाराघात गरयो । यी तिन शक्तिहरु एक भए भने हाम्रो केहि पारा लाग्दैन भन्ने कुरा उनीहरुले वुझेका थिए । त्यसैले उनीहरुले हेमन्त जीलाई जसरी भए पनि मोर्चा र एकता समाजको वीचवाट थुतेर निकाल्ने कोसिस गरे । उहाँहरु त्यसमा सफल हुनु भयो तर फेरी पनि भन्नै पर्छ, हेमन्तजीले आफ्नो वैचारिक धरातल अटल राख्न सक्नु भएन । उहाँ स्खलन हुनु भयो । यसमा मलाई दु:ख छ ।

जुन दिन उहाँहरुले एकलौटी ढंगवाट राजदुतावासमा ज्ञापन पत्र दिन जानु भएको थियो त्यहि दिन गणतन्त्र दिवसको उपलक्ष्यमा रात्रि भोज थियो । उक्त रात्री भोजमा संलग्न हुनको लागि पनि उनीहरु आतुर थिए । त्यसैले उहाँहरुले सहमतिको बुंदाहरुलाई रछ्यानमा मिल्काएर दुतावासमा सुटुक्क पस्न गए । त्यो कुरा थाहा थियो कि उनीहरु दुतावासको चाकरी गर्न आतुर पनि थिए । जुन उनीहरुको ईतिहासले नै वताइरहेको छैन र ?

 जुन ५ राजनीतिक संगठनको संयन्त्रले निर्णय गरेको ज्ञापन पत्रको कुरा छ, जसमा अन्य सामाजिक संघ संस्थाको स्थान रहेको थिएन । तर उहाँहरु NRN संग गएर ज्ञापन पत्र वुझाउनु भयो । हामीले वहसमा नेपाली जनप्रगतिसिल मन्च युएईका अध्यक्ष हेमन्तजीलाई NRN सम्वन्ध आफ्नो संगठनको धारणा सार्वजनिक गर्नको लागी कुरा गरेका थियौं जसमा उहाँले सांगठनिक रुपमा NRN को समर्थन नगरेको तर व्यक्तिगत रुपमा समर्थन गर्न सकिने कुरा पनि राख्नु भएको थियो । जसमा हामीले दुई वर्षको भिसामा काम गर्न आएका नेपाली मजदुरहरु कुनै पनि हालतमा NRN हुन नसक्ने झिकिर गरेका थियौं । संभ्रान्त वर्गहरु जुन दोहोरो नागरिकता चाहिरहेका छन् त्यो कुरामा उनीहरुको जनमत वलियो वनाउनको लागि र उनीहरुको माग पूर्ति गर्नको निम्ति प्रवासी नेपालीहरुलाई प्रयोग गरेको कुरा के दिनको घाम जस्तो छर्लंग छैन र ? के यो दलाली चिन्तन होइन ? नत्र त्यो कथित कार्यको लागि हामीले किन वल थपिरहेका छौं । यसको लागि हामीले समिक्षा गर्नु पर्छ कि पर्दैन ? आम २० औं लाख नेपालीहरुमा एकाद व्यक्ति वाहेक आफुलाई NRN  भन्ने शायदै कोहि होला । यो कुरा हामीले वुझ्नु पर्छ । शायद यहि कुराहरुवाट नेपाली जनप्रगतिसिल मन्चका  अध्यक्ष हेमन्त जी हामीहरुसंगको सहकार्य उहाँहरुको अनुकुल नहुने कुरा वुझ्नु भयो र आफ्नो वर्गीय धरातल छोडेर गलत वाटोमा लाग्नु भयो र ५ राजनीतिक संयन्त्र खतम भयो । त्यस पछी नेपाली जनप्रगतिसिल मोर्चा युएई र नेपाली एकता समाजले संयुक्त १३ वुंदे ज्ञापन पत्र तयार गरेर राजदुतावासमा पेश गरयो । जहाँ मजदुर वर्गहरुको हित अनुकुल पहल कदमी गर्न र गराउनको लागि दुतावासलाई आव्हान गरिएको थियो, जसमा दुतावास सकारात्मक पाइएको थियो ।

यो कुरालाई लिएर कतिपय मान्छेहरु भन्ने गरेका छन् ''नेपाली जनप्रगतिसिल मोर्चालाई, नेपाली एकता समाजले प्रयोग गरयो, अथवा नेपाली एकता समाज, नेपाली जनप्रगतिसिल मोर्चाले प्रयोग गरयो'' यसलाई प्रयोगको रुपमा होइन वरु कार्यगत एकताको कुरा गरियोस । हामी कार्यगत एकता गरेका हौँ । मजदुर वर्ग र आफ्नो विचारको रक्षाको निम्ति हामीले सहकार्य गर्नु अनिवार्य थियो । भोलि सहमति हुन सकिन्छ भने जनसम्पर्क समिति, नेपाली जनप्रगतिसिल मोर्चासंग पनि कार्यगत एकता गर्न सकिन्छ । काम गर्ने सवालमा कहिलै स्थाई रुपमा अन्तरविरोध रहिरहने कुरा हुँदैन । आस्थाकै कुरा गर्ने हो भने त सवै भन्दा नजिकको मित्र शक्ति भनेको मन्च नै हुनु पर्थ्यो । तर तत्कालिन अवस्थामा उहाँहरुवाट आफ्नो वर्ग माथि कुथाराघाट गर्ने काम  गरेका हुनाले यो दुरी नेपाली एकता समाजसंग नजिक हुन पुगेको हो । किन भने दुवै संगठनको इच्छा शक्ति भनेको दलालहरुको निर्मुलिकरण नै हो । हामी त्यहि चाहन्छौं, अहिले नेपालमा पार्टी एकताका कुरा आइरहेका छन् । तत्कालको लागि कार्यगत एकताको कुरा आइरहेको छ । यो सन्दर्भमा कुरा गरिरहँदा मन्च आफ्नो मित्र शक्तिहरुसंग कार्यगत एकता गर्नुको सट्टामा आफुलाई विपरित धुर्वमा उभ्याउनु निकै विडम्वनाको कुरा हो ।
पृथीछक वुढा मगर (ग्लोभिभोना)
महासचिव-नेपाली जनप्रगतिसिल मोर्चा युएई 
 








Thursday, 5 June 2014

जनवादी केन्द्रीयताका मुलभूत शर्तहरु- पृथीछक वुढा मगर (ग्लोभिभोना)

जनवादी केन्द्रीयताका मुलभूत शर्तहरु :
१. कुनै संगठित व्यक्ति संगठनको मातहतमा रहनु पर्छ 
२. अल्पमतले वहुमतको निर्णय लागु गर्नु पर्दछ र वहुमतले अल्पमतको विचारको कदर गर्नु पर्दछ । 
३. पिठ पछाडी कुरा गर्नु हुँदैन । वैठकमा खुला र स्पष्ट कुरा राख्नु पर्दछ । 
४. निर्णयमा व्यापक जनवादको प्रयोग गर्ने र कार्यन्वयनमा एक रुपताका साथ जानु पर्छ । 
५. हरेक वैठकमा आलोचना र आत्मालोचनाको प्रकृया चलाउने र आलोचना रचानात्मक र सुधार्ने, सच्याउने ढंगले गर्नु पर्दछ । ध्वंशात्मक हुनु हुँदैन 
६. रिपोर्टिंग र निर्देशन प्रणाली नियमित र विधिगत हुनु पर्दछ 
७. नियमित र अनिवार्य वैठकमा उपस्थिति हुने, जानकारी पैर पनि लगातार तिन पटकसम्म वैठकमा उपस्थिति नहुने सदस्यलाई अनुशासनको कारवाही गरिनु पर्छ 
८. संगठनको विधि, विधान नमान्ने संगठनको सदस्य हुँदैन । सदस्यले आफु खुसिले निश्चित शुल्क (लेवी) संगठनलाई             वुझाउनु पर्छ 
९. संगठनको अनुशासन नमान्ने सदस्य संगठनको अनुशासन कारवाहीको भागीदार हुन्छ 

पृथीछक वुढा मगर (ग्लोभिभोना)
नेपाली जनप्रगतिसिल मोर्चा युएई (महासचिव)
नेपाल मगर संघ युएई (प्रमुख सल्लाहकार)
नेपाल आदिवासी जनजाती परिषद युएई (महासचिव)

Wednesday, 4 June 2014

मगर जातिको परिचय- पृथीछक बुढा मगर (ग्लोभिभोना)

मगर जातिको परिचय :
मगर जाति नेपालको एउटा आदिवासी जनजाति हो । नेपाल सरकारले देखाएको आदिवासी जनजातिको सुचिमा मगर जाति नेपालको सव भन्दा वढी जनसंख्या भएको जाति हो । यो जाति नश्लको हिसावले मंगोल महावंश भित्र पर्दछ । यसको आफ्नै भाषा, संस्कृति, रहनसहन र परम्परा रहेको छ । मगर भाषा भोट वर्मेली भाषा समुहमा पर्दछ । खास गरेर उनीहरुले वोल्ने भाषा अन्तर्गत मगर दुत, मगर खाम अनि मगर काइके हुन् । नेपालको पश्चिम क्षेत्र १८ मगरात अन्तर्गत  रोल्पा, रुकुम र वागलुंगका पश्चिम क्षेत्रहरुमा मगर खाम वोल्ने गर्दछन भने दुत १२ मगरात र त्यो भन्दा पूर्वका क्षेत्रहरुमा वोल्ने गरिन्छ । काइके मगर भाषा चाहिं डोल्पा जिल्लाको शहर तारा गाविसको एक गाउँमा मात्रै वोल्ने गरिन्छ ।

मगरहरुको आफ्नै भाषा भए पनि उनीहरु आफ्नो भाषा नवोल्ने मगरहरु पनि छन् । यहाँका खस अतिक्रमणवादी शासकहरुको हजारौं वर्ष देखिको हस्तक्षेपका कारण मगर जातिको सवै पहिचान लगभग हराइसकेको छ । केहि ठाउँ र क्षेत्रहरुमा मात्रै भाषा र संस्कृतिको अस्तित्व रहेको छ । त्यो पनि चरम संकटमा छ । अत्यन्तै सोझा र इमान्दारी जातिको रुपमा चिनिने मगरहरु शिक्षा र चेतनामा पछी परेकै कारण अहिलेको सन्दर्भमा पनि पछी परिरहेको छ । पछिल्लो कालमा थोरै जातीय र राजनैतिक जागरण पैदा भएको छ । संगठित हुने प्रकृया अगाडी वढेको छ । मगरहरु जुन सुकै राजनैतिक दलहरुमा आस्था राखे पनि उनीहरु उत्पीडनको मामिलामा भने एकै ठाउँमा छन् र हरेक उत्पीडनवाट मुक्त हुन चाहन्छन । उत्पीडनका विरुद्द एकतावद्द छन् । यो राम्रो संकेत हो । अव नयाँ नेपाल निर्माण गर्ने सन्दर्भमा मगर जातिको जिम्मेवारीपूर्ण भूमिका रहेको छ ।
जय मगर ! जय मगरात !

Tuesday, 3 June 2014

संगठन संचालन र परिचालनसंग सम्वन्धित विषयहरु-पृथीछक वुढा मगर (ग्लोभिभोना)

संगठन भनेको के हो ? 
कुनै निश्चित वर्ग, जाति वा समुदाय माथि विधमान शोषण, दमन र उत्पीडनवाट मुक्ति पाउनको लागि वनेको संरचनालाई संगठन भनिन्छ । शोषक र उत्पीडकहरुले पनि आफ्नो शोषण र दमन टिकाई राख्न उनीहरु संगठन वनाउछन् । उनीहरु शाषक भएको कारणले यसको भिन्न रुपमा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु वनाएर पनि वर्गीय शोषण कायम राख्ने गर्दछन । यसरी कुनै एक वर्गको विचार, सिद्दान्तमा आधारित वर्गीय लक्ष्य र उद्देश्य वोकेको संगठित व्यक्तिहरुको समूह वा दस्तालाई संगठन भनिन्छ । असंगठित मान्छेहरुको समुहलाई भिड भनिन्छ । अर्को शव्दमा संगठन भनेको शाषित, शोषित र उत्पीडित वर्ग वा समुदायको संगठित शक्ति हो । उनीहरुको तागत केवल संगठनमा मात्र रहेको हुन्छ । जव कि शासकहरुको शक्ति सत्तामा केन्द्रीत हुन्छ । त्यसैले संगठन उत्पीडित वर्ग समुदायको वलियो अस्त्र हो ।

संगठन कसरी चल्छ ?
संगठनहरु जनवादी केन्द्रीयताका आधारमा चल्ने गर्दछन । हरेक संगठनको केन्द्र देखि इकाईसम्मको संगठनात्मक संरचनाहरु विचानाले व्यवस्था गरेको हुन्छ । विधानले व्यवस्था गरे अनुसार सङ्गठनात्मक नियम, परिधि, अनुशासन प्रकृया, पद्दति अनुसार संगठनहरु चल्ने गर्दछन । कोहि पनि संगठनका इकाईहरु विधान भन्दा वाहिर गएर मनोमानी चल्न पाउंदैनन् । विधानको परिधि भित्र रहेर हरेक कुराहरु उठाउन पाउने स्वातन्त्र हुन्छ । विधान विपरीत चल्ने व्यक्ति (सदस्य) वा संगठनलाई अनुशासन विभाग वा उपल्लो तहको संगठनले कारवाही गर्दछ । यो प्रक्रियालाई जनवादी केन्द्रीयता भनिन्छ ।

संगठनको किन आवस्यक छ ?
असंगठित जनता भयो भने शासक वर्गले अनावस्यक फाइदा लुट्छ । साथै उत्पीडित जनताहरु नेतृत्व विहिन र दिशा विहिन वन्न पुग्दछन । कहिलेकाहीं स्वत: स्फुर्त रुपमा संघर्ष, विरोध वा आन्दोलनहरु भए भने पनि त्यो आन्दोलन वा विद्रोहले सहि दिशा पक्रन सक्दैन । अनि विचैमा तुहिन पुग्दछ । अनावश्यक रगतको खोला वग्दछ । त्यसैले जनतालाई सचेत र संगठित पारेर मुक्ति वा क्रान्तिको सहि दिशा प्रदान गर्न संगठन आवस्यक हुन्छ । संगठन एउटा स्थायी र भर पर्दो जनताको शक्ति हो तर कतिपय गलत तत्वहरुको घुसपैठ वा गलत उद्देश्यका साथ् वनेका संगठनहरुले उत्पीडित वर्गका संगठनहरुलाई गलत ढंगले प्रयोग गर्दछन वा मोर्चा तहस नहस पार्दछन । त्यस प्रति सचेत रहनु आवस्यक रहन्छ ।

Monday, 2 June 2014

साँढेको जुधाई, वाछाको मिचाईं- पृथीछक वुढा मगर (ग्लोभिभोना)



गत विहिवार केही संस्थागत र केहि व्यक्तिगत काम लिएर नेपाल राजदुतावासमा गएको थिएँ । मैले यो कुराको यादै भएन कि त्यो दिन गणतन्त्र दिवस थियो । साथीहरु जिस्किन्छन् राजनीति प्रति चासो राख्ने मान्छेलाई गणतन्त्र दिवस कुन तिथिमा पर्छ भनेर पनि थाहा छैन भनेर । त्यसैले त्यो दिन आफन्तको घरमा गएर वसें । भोलि पल्ट सुक्रवार नेपाल मगर संघ युएईको विशेष भेला थियो, जसमा म आमन्त्रित थिएँ प्रमुख अतिथिको रुपमा । भेलामा जम्मा २८ जना व्यक्तिहरु उपस्थित थिए, जस मध्ये अतिथिको रुपमा निमन्त्रणा गरिएका ५ गैर मगर जातीहरु थिए ।

एघार वजे कार्यक्रम शुरु भयो । कार्यक्रमका संयोजक शुशी पुलामी घर्ति मगरले विशेष भेला वोलाउनुको कारण खुलाए पछी पदाधिकारी चयनको पालो आयो । यसै क्रममा तिर्थ थापा मगर जीलाई ईमान्दारको आधारमा उहाँलाई वरिष्ठ उपाध्यक्ष दिनु पर्छ भन्ने कुरा भूपू अध्यक्ष हरी घर्ति मगरले प्रस्ताव गर्नु भयो तर उहाँले त्यो पद स्वीकार गर्नु भएन । "होइन, मलाई कुनै पद चाहिएको छैन । राख्नु हुन्छ भने सामान्य कार्यकर्तामा राख्नु होला" भन्नु भएको थियो । त्यसैले उहाँलाई केन्द्रीय सदस्यमा नियुक्त गरयो भेलाले । उहाँले नमाने पछी सुरेन्द्र थापा जीको प्रस्तावमा राम थापा मगरलाई वरिष्ठ उपाध्यक्ष वन्नु भयो ।

सांझ समाचार आयो भेला सम्पन्न भएको सन्दर्भमा । मगर-मगर विचमा खैलावैला मच्चिन थाल्यो । म त्यो हेरिरहेको थिएँ । अनेक तर्कहरु आइरहेका थिए । मुक दर्शक वनेर त्यो हेरिरहेको थिएँ । कतिपय मित्रहरुले संगठन विभाजन गरेको आरोप लगाउंदै मालेमावादको सिद्दान्तमा आधारित मगर संघ युएई भित्रको ठुलै विद्रोह गरेको छेड पनि हानिरहेका थिए । त्यो पनि मैले हेरिरहेको थिएँ । ठिक त्यहि वेला ललित राना मगर जीले मलाई एक पोष्ट ट्याग गर्नु भयो, जसमा यो लेखिएको थियो "आज ३० मे २०१४ सुक्रबार आबुधाबी हरि बहादुर घर्ति मगर को कोठामा बसेको २/ ४ जना मगर धेरै जसो अन्य गैर मगर बाहुल्य रहेको विशेष भेलाको नामकरण गरिएको उपस्थित समूहबाट सुशि पुलामी मगर को अध्यक्ष्यतामा नेपाल मगर संघ युएईको उदघोष गरिएको त्यस समितिमा मेरो नाम पनि बिना जानकारी मेरो सहमति बिना राखिएको हुदा म त्यस सुसी पुलामी मगर को अधक्ष्यता रहेको नेपाल मगर संघ युएईको कुनै पनि पदमा नरहने जानकारी गराउन चाहान्छु" यो लेखले मलाई फेरी त्यहाँ खिचेका तस्विरहरुमा तिर्थ थापाजीलाई खोज्न थालें । उहाँ क्यामेरामा लुक्न खोजेको उहाँको तस्विरहरु मैले देखें । एक छिन मलाई हाँसो पनि लाग्यो । माथि उहाँले भन्नु भएको जस्तो थिएन । उहाँ उपस्थित हुनु हुन्थ्यो । युद्दकालमा प्रहरीले वन्दीहरुलाई जवरजस्ती खाली पानामा हस्ताक्षर गराएको याद पनि आयो तर त्यो खालि थिएन । निर्णय नोटमा लेखि सके पछी त्यसलाई टाइप गरेर प्रिन्ट गरिएको थियो जुन पाना सवैलाई एक एक पेज पुन: अध्ययन गर्नको लागि दिईएको थियो । अध्ययन गरि सके पछी सवैले हस्ताक्षर गरेका थिए । त्यसैले उहाँको कुराले एक छिन व्याकुल वनायो । कुन जवरजस्तिले काम गरेको छ ? भन्ने कुरा वुझ्न मैले उहाँलाई फोन गरेर उहाँको लेख पढेर सुनाएँ र के यो लेख तपाईंले लेख्नु भएको हो ? भनेर सोधेको थिएँ । उनले भन्नु भयो "हजुर, हो" । मैले सोधें "तपाईंलाई भेलामा कसैले जवरजस्ती गरेको थियो अथवा तपाईं त्यहाँ हुनु हुन्नथ्यो ? अनि तपाइको असहमति हुँदा हुँदै संघमा समावेस गराएका हुन् ?" उनले जवाफ दिनु भएन । मैले भनें "तपाईं त्यहीं हुनु हुन्थ्यो । तपाईंका तस्विरहरु मसंग छन् । किन झुट वोल्नु भएको ?" उनले यति मात्रै भन्नु भयो "त्यो मेरो गल्ति भयो" तव मेरो दिमाग खराव भयो । झर्केर उनलाई केहि अपशब्द पनि वोलें । उनि चुपचाप थिए । मैले फोन काटें ।

मैले एक सोझो मगरलाई गाली गरें । साँझ मलाई पछुटो लग्यो । कति निर्धोस थियो । कतिपय पलहरुमा मुक भाषाले नै धेरै कुराहरु वोल्दा रहेछन । उनको निर्धोस पन मेरो मन भरी मडारिरहेको थियो । करिव साँझको वेला मैले उनीसंग माफी माग्ने निर्णय गरें आफ्नो मन शान्त पार्नको लागी । मैले अनलायन पत्र यसरी उनको म्यासेज वक्समा लेखें "प्रिय तिर्थ थापाजी, मैले तिमिलाई  गाली गरें । तिम्रो मन दुखेको होला । गल्ति पनि त गरेका थियौ नि । जुन संघमा वसे पनि केहि फरक पर्दैन तर झुट वोल्नु पर्ने कारण थिएन । संघ वाठो र चतुरहरुको लागि मात्रै हो । यहाँ सोझोको कुनै स्थान रहँदैन । यस्तै छ यहाँ । मैले तिमीलाई दुखि वनाएं । मैले तिमीलाई अनुरोध छ, तिमीले राजनीति गर्दै नगर्नु । तिमि कति पवित्र छौ । राजनीति त फोहोरी हुन्छ । त्यसमा नलाग । वरु आफ्नो वाल वच्चाको लागि सोच । त्यो नै तिम्रो लागी फाइदा होला ! अन्त्यमा मलाई माफ गर । तिमि यस्तै रहिरहनु ।"

हामी वाठो भई टोपल्नेहरु ति सोझो तीर्थको काँधमा वन्दुक सोझ्यायौं र एकले अर्कोलाई ठोक्यौं । हामी त सिद्दिने नै भयौं तर विचका निर्धाहरू कठै ? जसरी तिर्थ अगाडी परेको छ । यहाँ हाम्रो समाजमा धेरै तिर्थहरु छन् जसलाई ढाल पारेर हामी सुरक्षित स्थानमा नाल ताकिरहेका छौं । के यो सहि हो ? यसवाट हामीले के प्राप्त गर्न खोजिरहेका छौं ? हामि आफ्नो जातीयताको लागि, आफ्नो पहिचानको लागि, आफ्नो अधिकारको लागि होइन ? हो भने एकलाई निसाना पार्नको लागि वलीको वोको किन ? निर्धाको काँधमा वन्दुक कतिसम्म ? हामी एकै स्थानमा रहन सकेनौं त के भयो ? सहकार्य गरेर जान सकिन्छ । यदि संसारका सवै मान्छेहरुको मन एकै हुँदो हो त अहिले दुनियाको हालत यस्तो हुने थिएन । मगर-मगर विचमा पनि कोहि वुढा, कोहि थापा, कोहि गाहा, कोहि पुन लगायत १३०० पथका मगरहरु हुने थिएनौं । कोहि पहाड, कोहि मधेस, कोहि हिमालमा वस्ने थिएनौं । त्यसैले हामी जुन स्थानमा छौं, केहि फरक पर्दैन । तर हामी पानी वारावारको स्थिति हुनु हुँदैन । समय आयो भने र परिस्थितिले माग्यो भने फेरी एक हुने भनेको नै हामी दाजु भाई नै हौँ ।

पृथीछक वुढा मगर (ग्लोभिभोना)


                                        मुख लुकाएर वसेको अवस्थामा तिर्थ थापा मगर

                                          मुख लुकाएर वसेको अवस्थामा तिर्थ थापा मगर

                                           निर्णय पत्रमा गरेको उक्त तिर्थ थापा मगरको हस्ताक्षर

  निर्णय पत्रमा गरेको उक्त तिर्थ थापा मगरको हस्ताक्षर