Thursday, 20 March 2014

भट्टराइको नयाँ विचारसंग मेरो वैचारीक भिन्नता- पृथीछक वुढा मगर

युगले प्राप्त गरेको ऐतिहासिक संविधान सभा विफल भयो । यो क्रान्तिकारी शक्तिहरुको ठुलो पराजय थियो । संविधान सभाको अवधारणा ल्याउने माओवादी शक्ति यो माहोल भन्दा वाहिर हुनु अथवा यस परिस्थितिवाट पराजित हुनु विश्व कम्युनिष्ट आन्दोलनमा एक विडम्वनाको क्षण थियो ।

यो पराजयसंगै संविधान सभाको वरपर रहेर धेरै वहसहरु भइरहेका छन् । विशेष त कम्युनिष्ट घटकमा यो वहस निकै पेचिलो ढंगवाट चलिरहेको छ । संविधान वन्न नसक्नुको कारक तत्वहरु के-के हुन् त ? क्रान्तिकारी शक्तिहरुको पराजय हुनुको कारण के-के थिए त ? यसलाई एकिकृत माओवादीका नेता डाक्टर वावुराम भट्टराईले यसो भन्नु हुन्छ "समाजमा विद्यमान विभिन्न शक्ति र वर्गहरुको विच समन्वय हुन नसक्नु हो" यो कुरा सहि हो । तर संविधान वन्न नसक्नु भनेको जुन शक्तिले यसको मुद्दा उठाएको थियो, त्यहि शक्तिको पराजय हुनु थियो । संविधान सभा चाहने शक्तिहरुको पराजय भएको स्थिति सत्य हो । यसमा अन्य शक्तिको पराजय भयो भन्नु उपयुक्त हुन सक्दैन । किन भने उनीहरु संविधान सभा चाहेका थिएनन । वर्तमान परिवेशमा पनि उनीहरु यो चाहेका छैनन् । यो स्थितिमा संविधान सभा नचाहने शक्तिहरुको पराजय भएको कुरा किमार्थ मान्न सकिन्न । यसमा एकलौटी ढंगवाट माओवादी शक्ति एक्लै पराजित भइसकेको हो ।

पहिलो संविधान सभावाट संविधान जारी हुन सकेन । यो माओवादी शक्तिको निम्ती पहिलो पराजय थियो भने दोश्रो पराजय ताजा जनमतको लागि भनेर गरिएको दोश्रो संविधान सभाको मत पारीणामवाट भयो । अव माओवादीले चाहेको जस्तो संविधान वनाउन उसले सक्ने छैन । यो निस्चित कुरा हो । माओवादी पार्टी जतिबेला सडनमा वलियो थियो, त्यती वेला सहमति र सहकार्यको नाममा उसले हदैसम्मको लचक्ता प्रदर्शन गर्‍यो । उसले उच्च ईच्छा शक्ती देखाएको भए संविधान वनाउन सक्थ्यो । संविधान सभामा वहुमत थियो । संघियता सहितको संविधानको पक्षमा जनमत थियो । जनताले साथ दिएकै थिए । त्यो उसले सदुपयोग गर्न सकेन । सडकमा दुई चार कार्यकर्ताले फुलमाला र अविर जात्रा गरेकै भरमा जनमत आफ्नो पक्षमा रहेको कुरा भ्रम परयो । उनीहरुलाई आफ्नो वास्तविक धरातलको हेक्का भएन । परिणाम स्वरुप अहिलेको अवस्थाको सृजना भयो । त्यो हुनुमा माओवादी पार्टी आँफै गलत थियो । उसको गलत परिणतिको फल थियो । त्यो उसले स्विकर गर्नु पर्थ्यो । गल्तिहरुवाट पाठ सिक्नु पर्थ्यो । गल्तिहरुको समिक्षा गर्नु पर्थ्यो । उसले त्यो इच्छा शक्ती पनि देखाएन । एकोहोरो रटान लगाइरह्यो "ठुलो डिजाइनका साथ षड्यन्त्र भयो" । लागिरहेको हुन्थ्यो कि, उनिहरु शुद्द छन् । चोखो छन् । मानौं त्यस्तो षद्यन्त्र पहिले उनिहरुले गरेकै छैनन । संसदीय प्रणालीको यो घृणित खेल सवैलाई ज्ञात भएकै हो ।

भर्खरै मात्र एमाओवादीका नेताद्द्य डाक्टर वावुराम भट्टराईले "खाँचो नयाँ शक्तिको’ भन्ने लेख सार्वजनिक गरेका छन् । संविधान सभा मार्फत संविधान वन्न नसक्नुको कारण "समाजमा विद्यमान विभिन्न शक्ति र वर्गको समन्वय हुन नसक्नु" नै त्यसको कारक तत्व ठान्नु भएको छ । त्यो सत्य कुरा हो । ति शक्तिहरुको एक आपसमा लुछातानीकै कारणले संविधान वन्न नसकेको कुरा सवैलाई जगजाहेरै छ । त्यसको समाधानको निम्ति उहाँले ति शक्तिहरुको समन्वयको कुरा उठाउनु भएको छ । समन्वय भनेको के हो ? समाजका विधमान शक्तिहरु विचको समन्वय भनेको सामाजीक वर्ग समन्वयको कुरा त उठाइरहनु भएको छैन ? त्यो समन्वयको वर्गिय धरातल के हुन्छ ? त्यसको वर्गिय चरित्रको स्वरुप कस्तो हुन्छ ? त्यो स्पष्ट छैन । त्यो लेखमा उहाँका अन्य विचारहरु उत्कृष्ठ छन् । जय जयकार छन् । तर निचोडमा उहाँको मुलभूत कुरासंग म सहमति हुन सक्दैन । जुन उहाँ आफै भन्नु भएको छ "उदारवाद र समाजवाद {माक्सवाद} खासमा यी दुई विपरीत विचार होइनन्, जसरी रूख र जंगल अलग होइनन्। कसैले रूख मात्रै देख्ने, जंगल नदेख्ने, कसैले जंगल मात्रै देख्ने, रूख नदेख्ने"। कसरी विपरित विचार हुन सक्दैन ? जव कि, उहाँ आफैले लेख्नु भएको छ, उदारवाद जो व्यक्तिवादको वकालत गर्दछ । नवउदारवादी दृष्टिकोणले समग्र विश्व र हाम्रो समाजलाई पूर्ण रूपमा बुझ्न सक्दैन । त्यसले समस्या हल गर्न पनि सक्दैन । तर समाजवादले व्यक्तिवादी विचारको घोर विरोध गर्दछ । आजको विश्वमा अन्तरविरोध यी दुई सिविरको विचमा केन्द्रित छ ।

डाक्टर भट्टराइले भन्नु भएको छ, उदारवादी चिन्तन र समाजवादी सिविरको विचमा समन्वयन हुन सके मात्रै समस्या समाधान हुन सक्ने छ । के यी दुई अलग-अलग विचारहरु एकै सिविरवाट निस्किएका वाणी हुन् ? यी विचार नितान्त फरक पृष्ठभूमिवाट जन्मिएका सिद्दान्त हुन् । यिनीहरुको लक्ष र उद्देश्य नितान्त फरक छ । त्यसैले यी दुई फरक विचारको विचमा समन्वय हुन सक्दैन । व्यक्तिगत प्रधानता र सामाजीक प्रधानता विचको फरकपन नै यी दुई विचार विचको प्रधान अन्तरविरोध हो । यो कुरालाई यसरी वुझ्न सकिन्छ, हाम्रो सामाजिक धरातल पूंजीवादको चरम शोषणको चपेटामा परेको छ । कोही दिन दुइ गुणा रात चौगुनाको तवरले धनी वन्दै गइरहेका छन् । मोटाउदै गइरहेका छन् । कोही सस्तो मुल्यमा आफ्नो श्रम वेचेर पनि भोकभोकै मरिरहेका छन् । सुक्दै गइरहेका छन् । यी दुइ वर्गको विचमा अझ ग्याप वढ्दै गइरहेको छ । यी दुई फरक वर्गको विचमा समन्वय कसरी स्थापित हुन सक्दछ ? भट्टराइले भन्नु भएको जस्तो यी सामाजिक वर्गहरु एक होइनन् । वरु नितान्त फरक शक्तिहरु हुन् । एक शक्तिको प्रभुत्वमा अर्को शक्तिको प्रभुत्वमा ह्रास आउछ । यो वैज्ञानीक सिद्दान्त हो ।

मानीलिउँ, वर्ग समन्वयका प्रकृयाहरु अगाडी वढे, जसरी पुँजीवादी देशहरुमा त्यसको कसरत भइरहेको छ । देशमा औद्योगिक विकासहरु निर्माण गरेर रोजगारको सृजनाहरु गरेर लैजाने । यो हुन् सम्भव छ । तर हामीले देखिरहेका छौं त्यसले दिर्घकालिन रुपमा समस्याको समाधान गर्न सक्दैन । किन भने पुँजीको निर्माण सामुहिक हुन्छ । तर त्यो सामुहिक रुपमा आर्जन गरेको धन कसको खल्तीमा जान्छ ? एक व्यक्तिको । मात्र एकाध व्यक्तिहरुको खल्तीमा । सवैले वुझेका छन् पुँजीको सामुहिक उत्पादनसंगै त्यसको मुनाफा पनि सामुहिक हुनै पर्थ्यो । अनि शुरु भइरहेको छ असन्तोषका लाभाहरु संसार भर । यो स्थितिमा कसरी सम्भव हुन्छ वर्ग समन्वयनको कुरा ? यो गलत प्रचारवाजी मात्रै हो । यो कुरालाई त्यस अभिव्यक्तिवाट पनि प्रष्ट हुन्छ कि, डाक्टर वावुराम भट्टराई नेपालमा जनवादी क्रान्ति समाप्त भएको घोषणा गर्नु हुन्छ । थाहा छैन, उहाँ कुन जनवादको कुरा गर्नु भएको हो ? त्यसको औचित्य नभएको कुरा पनि प्रष्ट पार्नु भएको छ । यदि नेपालमा जनवाद प्राप्त भइसकेको हुन्थ्यो भने खोई जनसत्ता ? खोई लाल सेना ? खोइ सरकार ? खोइ कम्युन ? यस कुराले पनि उहाँ गलत हुनु हुन्छ भन्ने कुरा प्रष्ट हुदैन र ?

उपरोक्त उहाँको लेखले धेरै प्रसंसा पनि वटुल्यो । धेरै आलोचना पनि वटुल्यो । खास अर्थमा गैर कम्युनिष्ट विचारधाराका व्यक्तिहरुले उहाँको विचारको खुलेरै प्रशंसा गरे । किन भने त्यस विचारमा उनीहरुले आफ्नो रक्षा हुने सम्भावना देखेका थिए । कुनै एक लेखमा भट्टराइको उक्त विचारको सेरोफेरोमा रहेर द्वन्दात्मक भौतिकवाद वाहेक माक्सवाद पूर्णत: असफल भएको आरोप पनि लगाएका छन् । उनीहरुलाई यो कुराको हेक्का थिएन कि माक्सवाद्को मूल सिद्धान्त नै द्वन्दात्मक भौतिकवाद हो । उनीहरुले द्वन्दात्मक भौतिकवादको स्वीकार गर्नु भनेको नै माक्सवादलाई स्वीकार गर्नु हो । अन्तिममा, जसरी डाक्टर वावुराम भट्टराईको निम्ति पिएचडीको शोधपत्र आवेग पूर्ण थियो । जसरी जनयुद्द उहाँको लागि युवाकालको आवेग थियो । त्यस्तै पछिल्लो पटक आएको उहाँको विचार पनि त्यस्तै प्रतिशोध आवेगको लेख मात्र थियो । किन भने यो त्यहि समय हो, जतिवेला एमाओवादिका अध्यक्ष प्रचण्डसंग उहाँको मतभेद चुलिएको अवस्था थियो ।

लेखक : पृथीछक वुढा मगर {ग्लोभिभोना}
                    रन्मामैकोट रुकुम
नेपाली जनप्रगतिसिल मोर्चा युएई {केन्द्रीय सचिव}

No comments:

Post a Comment