Saturday, 30 November 2013

कम्युनिष्ट क्रान्तिका असली हिरो– वैद्य

प्रेम सुनार । मेरो आफ्नो स्वतन्त्र विचार ब्यक्त गर्नु पर्दा नेपाली कम्युनिष्ट क्रान्तिका असली हिरो मोहन वैद्य किरण रहेछन् । जसले चुनावको तिथी मिति घोषणा हुन अघि नै भनेका थिए अव हुन लागेको संविधानसभा चुनाव नौटङ्की हो । यसले देशलाई शान्ति तिर होईन युद्ध तिर धकेल्न खोज्दै छ । उनले यो पनि भनेका थिए कि यो चुनाव विदेशी शक्ती केन्द्रहरुको डिजाईनमा हुँदैछ । उनका ति भनाईहरु कति सत्य कति असत्य ? त्यो पाठकहरु आफैले विश्लेषण गर्नुहोस् । अनि एमाओवादीले अहिले भन्ने गरेकोे ‘धाधली’ धेरैपछि मात्र सत्य तथ्य बाहिर आउन सक्ला तर साँच्ची भन्ने नै हो भने एमाओवादी हारको कारक आफै हो भन्ने मेरो बुझाई छ । हिजो एउटै थालमा खाना खाएर कहिले भोकै एकलाई बचाउन अर्कोले छाती थापेका साथीहरुलाई पाखा लगाएर चुनावमा होमीने एमाओवादी नेताहरुको मुर्खता थियो । त्यसैले नेकपा–माओवादी चुनाव वहिस्कार भन्दा पनि एमाओवादी हराउ अभियानमा जुटेको केहि जिल्लामा देखिएका घटनाले बुझ्न सकिन्छ । जनयुद्धका हस्तीहरु रामबहादुर थापा (वादल), नेत्र विक्रम चन्द (विप्लव ) , पम्फा भुसाल लगायतलाई सम्झीदा उहाँहरुले पनि पार्टी फुट्नबाट जोगाउने भुमिका खेल्नु पर्दथ्यो । यता अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईले पनि अल्पमतलाई एकाएक पेलेर लैजान हुँदैनथ्यो । शान्ति नायक बन्ने आफ्नै लहड र विदेशीहरुको समेत पुल्काईमा प्रचण्डले यो वेलामा चुनावमा जाने मुर्खता गर्दा यति ठुलो हार बेहोरेको हो भन्ने मेरा बुझाई छ । अदृश्य रुपमा हरेक चुनाव क्षेत्रमा रातौरात करोडौं रकम कहाँबाट आयो ? दलित बस्तीमा गत एक महिना देखि राँगा पाडा कटाई र रक्सीको भेल बगाइ हुँदा पनि रोक्ने प्रयास कतैबाट भएन । चुनावका बेला कैयौं बस्तीमा सोलर बाँड्ने काम भयो । कार्यकर्ता परिचालनका नाममा वडा वडामा रकम पुग्यो त्यसप्रति प्रशासन मौन रह्यो । लिएँ भन्ने छैन र दिएँ भन्ने त झन हुने कुरै भएन तर ठुलो धन राशी खर्चिएको चुनाव हो यसपालीको भन्न थालेका छन् गाउँका सर्वसाधरणले समेत । राजाको शासनकाल बाहेक लोकतन्त्रीक ईतिहाँस मैं पहिलो पटक सेना परिचालन गरेर निर्वाचन गराउने सरकारको योजना यो पनि आफैमा रहस्यपुर्ण छ । चुनाव अघि टोल टोलमा सेनाको गस्ती देख्दा एमाओवादी विरुद्ध विपक्षीले भ्रम छर्ने गतिलो मौका पाएका थिए । उता जनयुद्धमा लडेका तर सोझा एमाओवादी कार्यकर्ता सेना परिचालनबाट त्रसित थिए । अर्को कुरा जनयुद्धमा खटेका तर भरण पोषण नपाएर गरिवीले आक्रान्त एमाओवादी कार्यकर्ता आफै पनि विकेको कुरा गाविसको भोट संख्याले देखाउँछ । घरको धुरीमा एमाओवादीको हसिया हथौडाको झण्डा , तल आँगनमा विपक्षी पार्टीले दिएको खसी ढलाएर भुट्टा खाँदै गरेको पनि देखियो । खोलामा आन्द्रा धुँदै थिए एक जना एमाओवादी कार्यकर्ता । देख्न साथ धुदै गरेको आन्द्रासंगै टाउँका माथी मुठी कसेर सलाम सर भने । आन्द्राहरु मुठी हुँदै हिजो गोली थापेको छातीमा समेत लत्रिएको थियो । म संगै पुगेका र सलाम खाएका कमरेडले सोधे आज खान पिनको मेलो रहेछ भनेर । उनको जवाफ थियो हैन सर सुत्केरीलाई खुवाउन काटेको हो । कुन घरमा को सुत्केरी ? भन्दै बुझन गईयो । जहाँ सुत्केरी महिला नभएर अन्य कमरेडहरु र गैह्र कमरेडहरु भुटुवा बनाउने र मासु पोल्ने कार्यमा रुवाँसे र ध्वाँसे भएको भेटियो । खै को सुत्केरी ? भनेर सोध्धा निजवाफ भए सवै । त्यो घरमा त के त्यो सिङ्गो टोल मै कोही सुत्केरी नभएको बुझियो । एक जना भने हुनेवाला सुत्केरी त्यसै खान पिन घरमा देखियो । विगतका चुनावमा रक्सी मासुमा विक्ने दलित समुदाय मात्र भनिन्थ्यो तर यसपालीको चुनावमा अन्य समुदायका केहि मानिस उनिहरुको तुलनामा बढि देखियो । चुनावमा केहि सम्पन्न परिवारका मानिसहरु आफ्नो पार्टीलाई जिताउन आफै खर्च गरेर पनि हिडे । त्यस्ता ब्याक्तिहरुको विस पच्चीस हजार रुपैयाँ कहाँ गयो थातथलो छैन् । खुवाउने काममा एकीकृत नेकपा माओवादीका उम्मेदवार परीपक्क देखिएनन् । हिँजो जनयुद्धकै शैलीमा आफ्ना सक्रिय कार्यकर्तालाई मात्र एककठ्ठा गरेर चुनावका लागि खट्न भन्दै मेस चलाए तर त्यसमा सर्बसाधारणको भाग परेन । अघिपछि हिँड्नेले मात्रै केही मिठोचोखो खाईपिई गरे होलान् तर गाउँका सर्बसाधारण पोसिन सकेनन् । खुवाउँदै नखुवाउनेहरुमा परे उनिहरु भन्न मिल्दैन, खुवाए तर पछिल्लो एक साता सम्म । खास खुवाउने कुन वेलामा ? भन्ने कुरा बुझ्न सकेनन् । चुनावको अघिल्लो रातको अन्तिम क्षणमा कसले कति खुवाउन वा दिन सक्यो त्यसले निर्भर ग¥यो । यी र यस्ता प्रबृद्धिले अहिले कसले जित्यो कसले हा¥यो भन्ने सवाल भन्दा पनि चुनावमा किन यस्तो विहारी संस्कृति यो देशमा भित्रियो भन्ने चिन्ता हरेक दलका नेता कार्यकर्ताले गर्न जरुरी छ । यहि संस्कृति कायमै रह्यो भने अव गरिवहरुले राजनिती नगरे हुन्छ ,चुनाव नलडे हुन्छ । यहाँ सम्म की अवको स्थानिय निर्वाचनमा समेत गरिवहरु वडा अध्यक्ष समेत लड्न सक्ने छैनन् । गाविसको चुनाव लड्न कम्तीमा १५ लाख चाहिने देखिन्छ । सवै भन्दा दुखद पक्ष, माओवादी द्धन्द्ध र पटक पटकका आन्दोलनबाट दलित समुदाय सचेत भई सक्यो भन्ने लागेको थियो तर वास्तविकता त्यो रहेनछ । एउटा मान्छेले एउटा दलको टिका पुछ्दै फेरी अर्को दलको टिका लगाउने गरेको पाईयो । जो गए पनि ठिक्क पार्ने र अन्तिममा कसले पोस्यो उसैलाई भोट हान्ने गरेको पनि नतिजाले देखाएको छ । सुन्नमा आए अनुसार चुनावको अघिल्लो रात एक जना दलित नेताले हाम्ले पनि पाडा कटाउनु प¥यो भनेर पार्टीलाई उक्साए । हुन्छ कटाउ भन्ने निर्देशन आए पछि पाडा खोजे दिनभरी । गाउँमा पाडाहरु कतै पाईएन । अन्य गाविसमा पनि सोधे पाडाहरु लैना देखि राँग सम्म चुनावले नै सकेको पाए । उनको पालो रातारात दुईचार जना कार्यकर्ता बोलाएर घरको भैसी डोराउँदै जंगलको चौरमा कटाउन पुगे । त्यहाँ पुग्दा विपक्षीहरुले तिनै दलितहरुलाई राँगाको भुट्टा खुवाउँदै थिए । चुनावको अन्तिम क्षणमा ढिला हुँदा परेन फसाद ! आफुले भैसी नढलाउँदै विपक्षीहरुले भुटुवा खुवाउँदै गर्दा ? यसर्थ पनि सिमित सचेत दलित बाहेक उनिहरुको भोट आफ्नो अधिकार स्थापित गर्नका लागि हालिएन । जसले सदियौंदेखि दवाउँदै आएको थियो उनै ( वराजु ) को पछि लाग्ने काम भएको छ । जनजाती जसको पहिचान खोसिएको थियो उनिहरु पनि आफ्नो पहिचानका पक्षमा लागेको देखिएन । पहिचान एक जातीले अर्को जाती माथी शासन गर्नका लागि होईन भन्ने कुरा एमाओवादीले बुझाउन सकेन । अर्को कुरा जसको हितका लागि माओवादीले पहिचानको कुरा उठाएको थियो उनिहरु नै एकमत छैनन् भने त्यो मुद्धालाई उसले त्याग्न वा विचारधिनमा सक्नु पर्दथ्यो । जनताकहाँ आफ्नो कुरा प्रष्टसंग बुझाउन नसकेर ठूला कार्यक्रममा भाषण मात्रै गर्नु एमाओवादीको हारको अर्को कारण हो । यी र यस्ता कुराबाट वैद्यजीहरु निकै सचेत रहेको र यो चुनाव ति एजेण्डाहरुको पक्षमा हुने छैन भन्ने बुझेको प्रष्ट देखियो । मेरो वुझाईमा वैद्यजीहरुसंग पार्टी एकता नभए एमाओवादी अर्को चुनावमा झन बढि सखाप हुने देखिन्छ । यस पालीको चुनावी परिणामले अव २०४६ ब्युँतिएको छ । एमाले नेता माधवकुमार नेपालको भनाईले अव बन्ने संविधान २०४७ को टालटुले संंविधान हुने देखिन्छ । जसले दलित, जनजाती, मधेशी लगायतका पछाडी परेका मजदुर वर्गलाई फेरी पनि थाङ्गनामा सुताउनेैछ । अध्यक्ष प्रचण्ड र बाबुराम लगायतका एमाओवादीहरु शान्तिका नाममा फेरी पनि त्यस्तो संविधानमा ल्याप्चे लगाए भने अवको क्रान्ति तिनका विरुद्ध खनिने देखिन्छ । जित्नेहरु नरमाए हुन्छ । यो देशमा गरिव मजदुर र सदियौं देखि पछाडी पर्दै आएको समुदायको अवको क्रान्ति रोक्ने शक्ति कसैमा हुने छैन् । अवको क्रान्ति वैद्धजीहरुले गर्न नसके अरु हजारौं वैद्यहरु जन्मीने छन् । जे होस अहिले सम्मको शैद्धान्तीक अडान देख्दा नेपाली कम्युनिष्ट आन्दोलनको एक मात्र आशाको किरण मोहन वैद्य ( किरण ) देखिए मेरो नजरमा् । यसर्थ जनयुद्धको भन्दा पनि अझ ठुलो आँधीवेरी ल्याउनका लागि प्रचण्डजीहरु उहाँहरुसंग तत्काल हातेमालो गर्नुहोस अन्यथा तपाईहरु अनि वैद्यजीहरु पनि मोहनविक्रम सिंह झै सधै कोरा सिद्धान्तमा रुमाल्लीएर विलाउनु हुनेछ भन्ने मेरो सुझाव छ । क्रान्ति रोकिन्न , कसैले छेकेर छेकीन्न संविधानले होईन सडकको आँधीवेरी विना मजदुर वर्गको मुक्ति सम्भव देखिन्न । तयार हौ, हे मजदुर वर्ग क्रान्तिका ,लागि तिम्रो मुक्ति संविधानमा लेखिन्न । एकदिनको एक वोतल रक्सी र एउटो विलो मासुमा विक्नेहरु अव सचेत हौ । अव जातिय होईन वर्गिय मुक्ति आन्दोलनका लागि कम्मर कसौं

No comments:

Post a Comment