Monday, 18 August 2014

नेपालको कम्युनिस्ट आन्दोलन र थवाङको इतिहाससँग जोडिएका बर्मन बुढा


Kiran Budha Magar

श्रावण २३ -
थबाङको ठूलो गाउँबाट १५ मिनेटजति जुर्बाङको मध्य भागतिर एउटा ठूलो सुनसान घर आइपुग्छ । नेपालको कम्युनिस्ट आन्दोलन र थवाङको इतिहाससँग जोडिएका बर्मन बुढा यो घरमा भेटिन्छन्, आफूजस्तै सेतै कपाल फुलेकी श्रीमतीसहित । बर्मन बुढाको जीवनमा राजनीतिबाहेक जोडिएर आउने अर्को कुरा उनको पोशाक कछाड हो । थबाङमा मात्रै होइन, उनी सिंहदरबार पनि कछाडमै पुगे । २०४८ सालको संसदीय चुनावमा रोल्पा क्षेत्र नं. १ बाट सांसद जितेका बुढा घरमै लगाइरहेको कछाडसहित नै संसद् भवन छिरे । कछाड लगाएर संसद् गएको देखेर कतिले उनलाई 'पागल' नै भने । 'म सँधै यस्तै कछाड र चप्पलसहित संसद्मा गएँ, मेरो पोशाक नै यही हो त किन अरु खोजुँ ?' ८४ बर्ष पुगिसकेका बुढाले भने ।

कछाड उनको जीवनशैलीसँग जोडिएको छ । सांसद् हुँदा पनि कछाड नछोडेको देखेपछि उनलाई कतिले 'कछाडवाला' भने । एकपटक संसद्लाई संबोधन गर्न राजा वीरेन्द्र आउँदै थिए । संसदका सचिवले बुढालाई राजा आउने भएकाले एक दिनका लागि भने पनि राष्ट्रिय पोशाक लाइदिन भने । यो कुरा सुनेर बुढा जंगिए- 'के यो अर्राष्ट्रिय पोशाक हो ?' उनको प्रश्न सुनेर संसद्का सचिवले केही बोल्न सकेनन् ।

राजा संसद्मा आउनुअघि नै बुढा कछाड र चप्पल लगाएर संसद् भवनमा छिरे । 'मलाई धेरैले को हो यो भनेर हेरे । कतिले त को बहुला आयो भन्ने ठानेछन् । राजालाई भन्दा पनि मलाई नै हेरिरहे,' उनले भने, 'तैपनि मैले केही अप्ठेरो महशुस गरेन ।'

अहिले उठिरहेका जातिय पहिचान, भाषा र पोशाकका कुरालाई बुढा देखावटी मात्र ठान्छन् । 'उतिबेला मैले कुनै जातिय नारा उठाउन होइन,' उनले भने, 'मैले कतै खोजेर लगाएको पनि होइन । मैले घरमा जे लगाइरहेको थिएँ त्यही कपडा लगाएर गएँ ।' पहिले पनि एकपटक राजाको सवारीमा सुर्खेत जाँदा उनले कछाडै लगाएका थिए । उनीसँगै गएका अरु दुईजनाले भने मागेर दौरा सुरुवाल लगाएका थिए ।

२००७ पछि थबाङमा तत्कालीन मुखिया तथा कांग्रेस नेता कृष्ण झाँक्री सर्वेसर्वा थिए । २०१२ सालतिर बर्मन बुढा लगायतका युवाहरुले भेडी गोठमा बसेर गाउँका ठूला ठालुलाई कुट्ने सल्लाह गरे । र, कुटे पनि । उनीहरुलाई कम्युनिष्ट भनेर एक महिना जेल हालियो । यही जेलमा उनको भेट कम्युनिष्ट नेताहरु मोहनबिक्रम सिंह र खगुलाल गुरुङसँग भयो । यहींबाट बर्मन बुढाको जीवनमा नयाँ मोड आयो । उनी कम्युनिस्ट भए । रमाइलो त के भने, उनले कुटेका झाँक्री पनि झगडिया भएका कारण जेलमै थिए । बुढासँगै झाँक्री पनि कम्युनिस्ट भए । दुवैजना जेलबाट छुटेपछि २०१३ सालमा मोहनविक्रम सिंह र खगुलाल गुरुङले बुढा र झाँक्री पक्षका तीन/तीन जना प्रतिनिधि राखेर थबाङमा कम्युनिष्ट संगठन बनाए । त्यसपछि यो संगठनमा बुढा नेतृत्वमा रहे, झाँक्री ओझेल पर्दै गए ।

२०१५ सालमा गाउँलेले बुढालाई मुखिया चुने । २०१५ सालको चुनावमा थबाङको सबै भोट कम्युनिष्टलाई गयो । यसको अगुवाइ पनि बुढाले नै गरे । पञ्चायतकालमा उनी थबाङका प्रधानपञ्च भए । २०३७ सालमा जनमत संग्रह हुने बेला सरकारले जिल्लाका सबै प्रधानपञ्चलाई लिबाङ बोलायो । सबैलाई निर्दलमा भोट हाल्न भनियो । बुढा यसमा एक्लै भए । उनले भने, 'म जिम्मा लिन सक्दैन, जनताले जे पनि गर्न सक्छ ।' चुनावमा थबाङको सबै भोट बहुदललाई पञ्चायतले उनलाई निशाना बनायो । शान्ति सुरक्षा मुद्धा लगाएर २०३७ मा उनलाई जेल हालियो । '२७ महिना जेल हाल्यो । प्रधानपञ्चको अवधि नै जेलमा बित्यो,' उनले भने । २०३८ सालमा पञ्चायतले गराएको चुनावलाई थबाङले पूर्ण बहिस्कार गर्‍यो, शुन्य मतदान भयो ।

प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ सालको संसदीय चुनावमा संयुक्त जनमोर्चाबाट उम्मेदवार बनेका बुढाले रोल्पाको १ बाट जिते, थबाङ पर्ने २ नं. बाट संयुक्त जनमोर्चाकै कृष्णबहादुर महराले जिते । सांसद् भएपछि उनी काठमाडौं आए । 'मासिक ४ हजार तलब थियो । २ हजार पार्टीले लगिहाल्थ्यो, बाँकी २ हजार गाउँका मानिसहरुलाई काठमाडौ आउँदाजाँदा खाने खर्च, भाडा दिदैमा सकियो,' उनले भने, 'तलबले मुस्किलले खान पुग्थ्यो । कमाउने कुरा त कहिलै सोचिएन ।'

सांसद् अवधि सकिएपछि उनी सिधै थबाङ फर्किए । गाउँमै राजनीति गर्न थाले । २०५१ सालको मध्यावधी निर्वाचन नेकपा माओवादीले बहिस्कार गर्ने नीति लिएका कारण सिंगो थबाङले बहिस्कार गरिदियो । त्यतिबेला चार मत मात्र खस्यो । २०५२ सालमा माओवादीले युद्ध थालेपछि थबाङ युद्धमै होमियो । २०५४ को स्थानीय निर्वाचनमा पनि शुन्य मतदान भयो । २०५६ को आम निर्वाचनमा सरकारले सदरमुकाम लिवाङबाट दुई जनालाई हेलिकोप्टरमा लगेर मतदान गरायो । अरु भोट खसेन । युद्धकालमा दुःख पिडा भोग्दा थबाङ गाउँले एकमुष्ट नै भोग्यो । २०५८ चैत १५ गते नेपाली सेना थबाङ गाउँमा पसेपछि अशक्त वृद्धवृद्धाबाहेक ४ सय २२ जना गाउँलेहरु जंगलतिर भागे । गाउँ खाली भयो । भोलिपल्ट सेनाले माओवादी पार्टी कार्यालयसहित १३ घरमा आगो लगाइदियो । त्यतिबेला सेना ४६ दिनसम्म थबाङमै बस्यो । यसक्रममा ३७ घरहरु जलाइए । थबाङबासीहरु सेना फर्केपछि, ४८ दिनपछि घरमा आए ।

२०६४ को पहिलो संविधानसभामा माओवादी अध्यक्ष प्रचण्डलाई भोट हालेर थबाङले जिताइ पठायो । दुई स्थानमा जितेका उनले छोडेपछि माओवादीकै सन्तोष बुढाले जिते । २०७० को दोश्रो संबिधानसभामा भने थबाङले एक भोट पनि नखसालेर बिद्रोह गर्‍यो । यी सबैमा बुढाको भूमिका महत्वपूर्ण थियो ।

नेपालका धेरै ठूला कम्युनिस्ट नेताहरुले थबाङमा काम गरे । विभिन्न समयमा मोहनविक्रम सिंह, प्रचण्ड, मोहन वैद्य, कृष्णसेन इच्छुक र रामबहादुर थापा बादलले थबाङलाई आधार बनाएर काम गरेका थिए ।

युद्धकालमा बुढा लामो समय ललितपुरस्थित छोरी ज्वाईको घरमा बसे । कछाड लगाउँदा सबैले चिन्ने भएकाले उनले मधेशी जस्तो देखिन लुङी लगाए । युद्धकालमा माओवादीले सिधै राजा ज्ञानेन्द्रसँग वार्ता गर्ने भनेपछि त्यसको चाँजोपाँजो पनि बुढाकै पहलमा मिलाइयो । उनकै छोरी ज्वाई खड्कबहादुर घर्तीको कुसुन्तीस्थित घरमा माओवादी नेताहरु रामबहादुर थापा र कृष्णबहादुर महरा आए । राजाले पनि ज्वाई राजबहादुर सिंह र सैनिक सचिव विवेककुमार शाहलाई पठाए । दुई दिन त्यहाँ वार्ता भयो तर कुरो मिलेन ।

राजाका प्रतिनिधिले फेरि पनि माओवादीसँग भेट गराइदिन बुढालाई अनुरोध गरे तर उनले म सक्दैन भनिदिए । त्यसपछि सेनाले बुढाका ज्वाईलाई पक्राउ गरेर मारिदियो ।

युद्धपछि बुढा थबाङ फर्के र पुरानै दिनचर्यामा लागे । गाउँ समाजको अगुवाइका काममा सघाउन थाले । पार्टी फुटेपछि दुवै माओवादीले उनलाई तानातान गरे । 'बैद्य पक्षले मलाई केन्द्रीय सल्लाहकार राखेको छु भन्छ । बादल मलाई भेट्न घरमै आएका थिए,' उनले भने, 'मैले त म कतैको होइन भनें ।' माओवादीको फुटसम्बन्धमा उनले पुरानो उखान सम्झिन्छन्, 'बाक्लो मकै फल्दैन- बाक्लो भलाद्मी मिल्दैन ।' माओवादीभित्र धेरै नेता भएकाले नमिलेको उनको बुझाइ छ ।

तीन छोरा र तीन छोरी भए पनि अहिले उनको साथमा कोही छैन । ८४ वषिर्य बढुा ७५ बषिर्या श्रीमती बदिसरासँग दुई सुगुरका पाठा पालेर बसेका छन् । साखा सन्तान जीवनपायनका लागि कोही देशमै छन् कोही विदेश । पार्टी राजनीतिमा पनि उनी छैनन् । तर, थबाङको अगुवाई गर्न भने उनले छोडेका छैनन् । न त उनको जीवनशैली नै फेरिएको छ ।




No comments:

Post a Comment