Saturday, 2 August 2014

नेकपा मसालका महामन्त्री कमरेड मोहनबिक्रमसंगको कुराकानी !!!!!!!!!- प्रिथीछ्क वुढा मगर

लामो समय देखि अर्ध भूमिगत रहनु भएका नेकपा मशालका महामन्त्री कमरेड मोहनविक्रम सिंह जो नेपाली कम्युनिष्ट आन्दोलनको एक योद्दा  हुनु हुन्छ । नेपाली एकता समाज युएईले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको अवशरमा युएई आउनु भएका महामन्त्रीसंग फर्च्युन होटेलमा पत्रकार भेटघाट कार्यक्रममा पत्रकार लक्षमण खनाल, प्रिथीछ्क वुढा मगर, लालवहादुर देह्गा मगर र खिमलाल पाण्डेले समसामयिक परिस्थितिको बिषयमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :-

पहिलो संबिधान सभाले नेपाली जनतालाई संबिधान दिन सकेन त्यस पछी दोस्रो संबिधान सभाले के समयमै संबिधान दिन सक्छ ?
पत्रकार मित्रहरुले संघियताको प्रस्न उठाउनु भयो । यहाँ मुलभूत रुपमा लोकतान्त्रिक संविधानको छ । पहिलो संबिधान सभाले संबिधान दिन सकेन । त्यस पछी दोश्रो संबिधान सभाको निर्बाचन पछी आयोजना भएको यो संबिधान सभाले पनि खासै द्रुत गतिमा काम गरेको देखिंदैन । त्यसैले यो संबिधान सभाले पनि समयमै संबिधान उपलब्ध गराउँछ भन्ने कुरामा शंका गर्न सकिन्छ । यदि संबिधान बन्न सकेन भने देश कता जाने ? यो कुराको जवाफ निकै गम्भीर भएर खड्किएको छ । 

नेपालमा संघियताको विषयमा करिव करिव सबै दलहरुले सहमति जनाइसकेको अबस्था छ । तपाईंहरुको पार्टीले सुरु देखि नै संघियताको विरोधमा आन्दोलन गर्दै आइरहेको छ  ।  यो अवस्थामा संबिधान कसरी वन्न सक्छ त ?
संघियताको कुरा गर्दा नेपाल जस्तो आर्थिक अवस्था कम्जोर भएको राज्यले एउटा सरकार त चलाउन सकिरहेको अवस्था छैन भने त्यसमा १०/१२ वटा सरकार चलाउनको लागि राज्यलाई कतिको आर्थिक भार पर्छ भन्ने कुरा बुझ्नु पर्छ । बिकासका कुराहरुमा पछाडी पर्दै जान्छ  । जनाताका जनजीविकाको सवालमा कामहरु बन्न जाने अबस्था हुँदैन  । त्यसमा पनि अहिले नेपालमा अतिबादिको रुपमा बिभिन्न जातीय आधारमा राज्यहरु बन्नु पर्छ, एक मधेश एक प्रदेशको कुराहरु आइरहेका छन्  । यी कुराहरुले अन्तत: देश देश विपन्नता तर्फ जाने कुरा हुन्छ  । देश टुक्रिने सम्भाबना पनि उतिकै सम्भाबना रहन सक्दछ  । यस प्रकारले नेपालको पृष्ठभूमिमा कुरा गर्दा यहाँ संघियता हुनु राम्रो कुरा होइन  । लोकतान्त्रिक संबिधान बन्ने प्रक्रिया र त्यो हुन नदिन जातिवादी, अतिवादीहरुहरुको चहलपहल जुन गतिमा भइरहेको छ, त्यसले संबिधान बन्ने कुरामा अनिश्चितता वन्न पुगेको छ  ।

जातीय आधारमा राज्यहरु वनाउने कुरा र एक मधेश एक प्रदेश बाहेकका संघिय प्रणालीहरु आए भने जनमोर्चाले संघियता स्वीकार गर्न तयार छ ?
हाम्रो पार्टी यसमा तयार छैन  । नेपाल जस्तो एक आर्थिक रुपमा विपन्न भएको मुलुकमा कुनै पनि संघियता हुनु राम्रो होइन चाहे त्यो जुनसुकै रुपमा आओस   । यो कुरा माथि नै भनिएको छ  ।

अहिले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण हुन गइरहेको छ र साथसाथै १९५० को सन्धिको वारेमा पनि बिभन्न टिक्का टिप्पणीहरु हुँदै आइरहेका छन्  । कसैले यसको परिमार्जन  कुरा गरिरहेको छ, कसैले यसको खारेजीको कुरा गरिरहेको छ  । यी कुराहरुमा महामन्त्रीज्युले केहि कुरा बताइदिनु हुन्थ्यो कि ?
भारतीय प्रधान मन्त्रीको भ्रमण हुन गईरहेको छ  । यसमा सदभावको भ्रमण हो वा होइन भन्ने कुरा उनले पठाएको प्रस्तावहरुले नै प्रष्ट पारिरहेका छन्  । उनको पहिलो कदमले भारतीय विस्तारवादी चरित्र नै देखाएको छ  । नेपालका नदीनाला, जलबिधुत लगाएत अन्य प्राकृतिक सम्पदाहरूमा भारतीय एकाधिकार जमाउने जस्तो जुन प्रस्ताबहरु आएका छन् ति कुराहरु नेपालको हितमा छैनन्  । नेपाली जनताको हितमा छैन  । उनको भ्रमणसंगै १९५० को सन्धिको कुरा यहाँहरुले उठाउनु भयो, यो के छ भने १९५० को सन्धि खारेज हुन सक्दछ वा त्यसको संसोधन हुन सक्दछ तर विस्तारवादी नीति त्यहि रहन्छ कि उसको अनुकुल हुने कुनै कुरामा उसले सम्झौता गर्दैन  । उसले आफ्नो फाइदाको लागि हेर्छ  । १९५० को सन्धि खारेज गरे पनि अर्को घाटक सम्झौता पनि गर्न सक्दछन जस्तो कि बिप्पा  सम्झौताहरुकै कुरा गर्नुहोस  । यस्ता सम्झौताहरु हुँदै गए भने १९५० को सन्धि खारेज भए पनि  नेपालको हित हुने छैन । यसको लागि नेपाली पक्षले नेपालको भविष्य प्रति गम्भीर भएर काम गर्नु पर्ने हुन्छ । नेपाली जनताको भाग्य र भविष्यको फैसला नेपाली जनता आफै गर्नु पर्छ भन्ने कुरामा स्पष्ट हुनु पर्छ ।

मोदि भ्रमणमै प्रसङ्ग जोडौं, अहिले नेपालमा राजावादीहरु र हिन्दुवादीहरु नेपाललाई हिन्दु राज्य वनाउने कुराको माग गरिरहेका छन् । यो बिषयलाई मोदीको भ्रमणसंग जोडेर हेर्दा कस्तो चित्र पाउनु हुन्छ ?
नेपालको फैसला नेपाल आफैले गर्ने हो । हो, राजाबादी र हिन्दुवादीहरुलाई केहि आशा त होला । तर भारतकै कुरा गरौँ, त्यहाँ बहुसंख्या जनता हिन्दु नै छन् तर त्यहाँ हिन्दु राष्ट्र छैन । नेपाल जस्तो बहु धार्मिक सहिष्णुता भएको देशमा हिन्दु राज्य वन्नु र बनाउनु गलत हो । त्यसमा कोहि बाहिरको व्यक्ति आएर यस्तो उस्तो हुनु पर्छ भनेर भन्यो भन्दैमा हुने होइन । फेरी भारतीय जनता पार्टी हिन्दु धर्मसंग नजिक भएको हुनाले पनि त्यो आशा राख्नु भएको हुन सक्दछ । 

अन्त्यमा, प्रवासी नेपालीहरुको हित अनुकुल यहाँहरुको पार्टीले कस्तो काम गरिरहेको छ ?
देशको युवा शक्ति मुलुक वाहिर छ । देशको लागि यो राम्रो त होइन । देशको आर्थिक कमजोरीको कारणले ति युवा वर्गहरु बिदेसिन बाध्य छन्  । हाम्रो पार्टी प्रवासी नेपालीहरुको मताधिकारको कुरा उठाइरहेको छ । उनीहरुलाई लगानी गर्ने कुरामा प्रोत्साहन गर्ने काम गरिरहेको छ । यो भन्दा पनि नेपालीहरु बिदेसिनु नपरोस भन्ने कुरा बुद्दिमानी हुन्छ । यसको लागि हाम्रो पार्टी आफ्नो ठाउँवाट संघर्ष गरिरहेको छ । देशमा आर्थिक सुधारका कुराहरु, बिकाशका कुराहरुमा प्रवासी नेपालीहरुको उत्साहजनक सहभागी वन्नु पर्छ  । जव देशको आर्थिक प्रणाली वलियो हुन्छ तव मात्रै राज्यले युवा वर्गलाई बिदेसिने परिस्थितिबाट रोक्न सक्दछ  । अहिले मुलुक प्रवासी नेपालीहरुको पसिनावाट प्राप्त भएको रेमिट्यान्सवाट चलिरहेको छ  । यसरि मुलुकको भविष्य वन्ने होइन  । हामी प्रत्यकले देशको लागि सोच्ने बेला आएको छ  । हामीले यदि नसोच्ने हो भने हामीले अगाडी देखिरहेको गरिवीको जरजर तस्विर अझ विकराल बन्दै जाने छ त्यसैले आम नेपालीहरु देशको लागि सोच्नुस  । सोच्ने बेला आएको छ  । सबैले सोच्नु पर्छ  ।




No comments:

Post a Comment