Saturday, 23 August 2014

मोर्चाको दुबई क्षेत्रिय भेला सम्पन्न

साहस न्यौपाने,
नेपाली जनप्रगतिशील मोर्चा युएईले २२ अगस्ट २०१४ शुक्रबारका दिन दुवईको क्रिक पार्कमा दुबई क्षेत्रिय भेला सम्पन्न गरेको छ । मोर्चाका प्रमुख सल्लाहकार हरि नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाको सभापतित्व क्षेत्रिय समितिका अध्यक्ष विर्ख लिम्बुले गरेका थिए । देश र जनताको लागि जीवनोत्सर्ग गर्ने शहिदहरु प्रति एक मिनेट मौनधारण सहित सुरु भएको उक्त कार्यक्रमको संचालन मोर्चाका सचिव काशी काफ्लेले गरेका थिए । उक्त कार्यक्रममा मोर्चाका महासचिव प्रिथी छक बुढा, कोषाध्यक्ष विचरी लामिछाने, केन्दिय सदस्यहरु विश्वास चन्द, मनोज काउचा, यम सारु, चित्र थापा, शर्मिला थापा लगायतको उपस्थिती रहेको थियो । भेलाले उत्तम वि.क.को अध्यक्षतामा १९ सदस्सीय क्षेत्रिय समितिको समेत चयन गरेको छ । जसको उपाध्यक्षमा इन्द्र सेन्चुरी, सचिवमा नारायण पाठक, सहसचिवमा श्रवण केसी, कोषाध्यक्षमा ज्ञानु कर्मा तथा सदस्यहरुमा नारायण बोहरा, विकास श्रेष्ठ, नरेश श्रेष्ठ, मुना सुनार, भरत परियार, पञ्चुराज धामी, जय विश्वकर्मा, दुर्गा नेपाली, सञ्च साँवा लिम्बु, भुपाल दाहाल, ईश्वर खत्री, सवरवती राजधामी, प्रतिभा थापा मगर र भिम दर्नाल रहेका छन् ।








Monday, 18 August 2014

नेपालको कम्युनिस्ट आन्दोलन र थवाङको इतिहाससँग जोडिएका बर्मन बुढा


Kiran Budha Magar

श्रावण २३ -
थबाङको ठूलो गाउँबाट १५ मिनेटजति जुर्बाङको मध्य भागतिर एउटा ठूलो सुनसान घर आइपुग्छ । नेपालको कम्युनिस्ट आन्दोलन र थवाङको इतिहाससँग जोडिएका बर्मन बुढा यो घरमा भेटिन्छन्, आफूजस्तै सेतै कपाल फुलेकी श्रीमतीसहित । बर्मन बुढाको जीवनमा राजनीतिबाहेक जोडिएर आउने अर्को कुरा उनको पोशाक कछाड हो । थबाङमा मात्रै होइन, उनी सिंहदरबार पनि कछाडमै पुगे । २०४८ सालको संसदीय चुनावमा रोल्पा क्षेत्र नं. १ बाट सांसद जितेका बुढा घरमै लगाइरहेको कछाडसहित नै संसद् भवन छिरे । कछाड लगाएर संसद् गएको देखेर कतिले उनलाई 'पागल' नै भने । 'म सँधै यस्तै कछाड र चप्पलसहित संसद्मा गएँ, मेरो पोशाक नै यही हो त किन अरु खोजुँ ?' ८४ बर्ष पुगिसकेका बुढाले भने ।

कछाड उनको जीवनशैलीसँग जोडिएको छ । सांसद् हुँदा पनि कछाड नछोडेको देखेपछि उनलाई कतिले 'कछाडवाला' भने । एकपटक संसद्लाई संबोधन गर्न राजा वीरेन्द्र आउँदै थिए । संसदका सचिवले बुढालाई राजा आउने भएकाले एक दिनका लागि भने पनि राष्ट्रिय पोशाक लाइदिन भने । यो कुरा सुनेर बुढा जंगिए- 'के यो अर्राष्ट्रिय पोशाक हो ?' उनको प्रश्न सुनेर संसद्का सचिवले केही बोल्न सकेनन् ।

राजा संसद्मा आउनुअघि नै बुढा कछाड र चप्पल लगाएर संसद् भवनमा छिरे । 'मलाई धेरैले को हो यो भनेर हेरे । कतिले त को बहुला आयो भन्ने ठानेछन् । राजालाई भन्दा पनि मलाई नै हेरिरहे,' उनले भने, 'तैपनि मैले केही अप्ठेरो महशुस गरेन ।'

अहिले उठिरहेका जातिय पहिचान, भाषा र पोशाकका कुरालाई बुढा देखावटी मात्र ठान्छन् । 'उतिबेला मैले कुनै जातिय नारा उठाउन होइन,' उनले भने, 'मैले कतै खोजेर लगाएको पनि होइन । मैले घरमा जे लगाइरहेको थिएँ त्यही कपडा लगाएर गएँ ।' पहिले पनि एकपटक राजाको सवारीमा सुर्खेत जाँदा उनले कछाडै लगाएका थिए । उनीसँगै गएका अरु दुईजनाले भने मागेर दौरा सुरुवाल लगाएका थिए ।

२००७ पछि थबाङमा तत्कालीन मुखिया तथा कांग्रेस नेता कृष्ण झाँक्री सर्वेसर्वा थिए । २०१२ सालतिर बर्मन बुढा लगायतका युवाहरुले भेडी गोठमा बसेर गाउँका ठूला ठालुलाई कुट्ने सल्लाह गरे । र, कुटे पनि । उनीहरुलाई कम्युनिष्ट भनेर एक महिना जेल हालियो । यही जेलमा उनको भेट कम्युनिष्ट नेताहरु मोहनबिक्रम सिंह र खगुलाल गुरुङसँग भयो । यहींबाट बर्मन बुढाको जीवनमा नयाँ मोड आयो । उनी कम्युनिस्ट भए । रमाइलो त के भने, उनले कुटेका झाँक्री पनि झगडिया भएका कारण जेलमै थिए । बुढासँगै झाँक्री पनि कम्युनिस्ट भए । दुवैजना जेलबाट छुटेपछि २०१३ सालमा मोहनविक्रम सिंह र खगुलाल गुरुङले बुढा र झाँक्री पक्षका तीन/तीन जना प्रतिनिधि राखेर थबाङमा कम्युनिष्ट संगठन बनाए । त्यसपछि यो संगठनमा बुढा नेतृत्वमा रहे, झाँक्री ओझेल पर्दै गए ।

२०१५ सालमा गाउँलेले बुढालाई मुखिया चुने । २०१५ सालको चुनावमा थबाङको सबै भोट कम्युनिष्टलाई गयो । यसको अगुवाइ पनि बुढाले नै गरे । पञ्चायतकालमा उनी थबाङका प्रधानपञ्च भए । २०३७ सालमा जनमत संग्रह हुने बेला सरकारले जिल्लाका सबै प्रधानपञ्चलाई लिबाङ बोलायो । सबैलाई निर्दलमा भोट हाल्न भनियो । बुढा यसमा एक्लै भए । उनले भने, 'म जिम्मा लिन सक्दैन, जनताले जे पनि गर्न सक्छ ।' चुनावमा थबाङको सबै भोट बहुदललाई पञ्चायतले उनलाई निशाना बनायो । शान्ति सुरक्षा मुद्धा लगाएर २०३७ मा उनलाई जेल हालियो । '२७ महिना जेल हाल्यो । प्रधानपञ्चको अवधि नै जेलमा बित्यो,' उनले भने । २०३८ सालमा पञ्चायतले गराएको चुनावलाई थबाङले पूर्ण बहिस्कार गर्‍यो, शुन्य मतदान भयो ।

प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ सालको संसदीय चुनावमा संयुक्त जनमोर्चाबाट उम्मेदवार बनेका बुढाले रोल्पाको १ बाट जिते, थबाङ पर्ने २ नं. बाट संयुक्त जनमोर्चाकै कृष्णबहादुर महराले जिते । सांसद् भएपछि उनी काठमाडौं आए । 'मासिक ४ हजार तलब थियो । २ हजार पार्टीले लगिहाल्थ्यो, बाँकी २ हजार गाउँका मानिसहरुलाई काठमाडौ आउँदाजाँदा खाने खर्च, भाडा दिदैमा सकियो,' उनले भने, 'तलबले मुस्किलले खान पुग्थ्यो । कमाउने कुरा त कहिलै सोचिएन ।'

सांसद् अवधि सकिएपछि उनी सिधै थबाङ फर्किए । गाउँमै राजनीति गर्न थाले । २०५१ सालको मध्यावधी निर्वाचन नेकपा माओवादीले बहिस्कार गर्ने नीति लिएका कारण सिंगो थबाङले बहिस्कार गरिदियो । त्यतिबेला चार मत मात्र खस्यो । २०५२ सालमा माओवादीले युद्ध थालेपछि थबाङ युद्धमै होमियो । २०५४ को स्थानीय निर्वाचनमा पनि शुन्य मतदान भयो । २०५६ को आम निर्वाचनमा सरकारले सदरमुकाम लिवाङबाट दुई जनालाई हेलिकोप्टरमा लगेर मतदान गरायो । अरु भोट खसेन । युद्धकालमा दुःख पिडा भोग्दा थबाङ गाउँले एकमुष्ट नै भोग्यो । २०५८ चैत १५ गते नेपाली सेना थबाङ गाउँमा पसेपछि अशक्त वृद्धवृद्धाबाहेक ४ सय २२ जना गाउँलेहरु जंगलतिर भागे । गाउँ खाली भयो । भोलिपल्ट सेनाले माओवादी पार्टी कार्यालयसहित १३ घरमा आगो लगाइदियो । त्यतिबेला सेना ४६ दिनसम्म थबाङमै बस्यो । यसक्रममा ३७ घरहरु जलाइए । थबाङबासीहरु सेना फर्केपछि, ४८ दिनपछि घरमा आए ।

२०६४ को पहिलो संविधानसभामा माओवादी अध्यक्ष प्रचण्डलाई भोट हालेर थबाङले जिताइ पठायो । दुई स्थानमा जितेका उनले छोडेपछि माओवादीकै सन्तोष बुढाले जिते । २०७० को दोश्रो संबिधानसभामा भने थबाङले एक भोट पनि नखसालेर बिद्रोह गर्‍यो । यी सबैमा बुढाको भूमिका महत्वपूर्ण थियो ।

नेपालका धेरै ठूला कम्युनिस्ट नेताहरुले थबाङमा काम गरे । विभिन्न समयमा मोहनविक्रम सिंह, प्रचण्ड, मोहन वैद्य, कृष्णसेन इच्छुक र रामबहादुर थापा बादलले थबाङलाई आधार बनाएर काम गरेका थिए ।

युद्धकालमा बुढा लामो समय ललितपुरस्थित छोरी ज्वाईको घरमा बसे । कछाड लगाउँदा सबैले चिन्ने भएकाले उनले मधेशी जस्तो देखिन लुङी लगाए । युद्धकालमा माओवादीले सिधै राजा ज्ञानेन्द्रसँग वार्ता गर्ने भनेपछि त्यसको चाँजोपाँजो पनि बुढाकै पहलमा मिलाइयो । उनकै छोरी ज्वाई खड्कबहादुर घर्तीको कुसुन्तीस्थित घरमा माओवादी नेताहरु रामबहादुर थापा र कृष्णबहादुर महरा आए । राजाले पनि ज्वाई राजबहादुर सिंह र सैनिक सचिव विवेककुमार शाहलाई पठाए । दुई दिन त्यहाँ वार्ता भयो तर कुरो मिलेन ।

राजाका प्रतिनिधिले फेरि पनि माओवादीसँग भेट गराइदिन बुढालाई अनुरोध गरे तर उनले म सक्दैन भनिदिए । त्यसपछि सेनाले बुढाका ज्वाईलाई पक्राउ गरेर मारिदियो ।

युद्धपछि बुढा थबाङ फर्के र पुरानै दिनचर्यामा लागे । गाउँ समाजको अगुवाइका काममा सघाउन थाले । पार्टी फुटेपछि दुवै माओवादीले उनलाई तानातान गरे । 'बैद्य पक्षले मलाई केन्द्रीय सल्लाहकार राखेको छु भन्छ । बादल मलाई भेट्न घरमै आएका थिए,' उनले भने, 'मैले त म कतैको होइन भनें ।' माओवादीको फुटसम्बन्धमा उनले पुरानो उखान सम्झिन्छन्, 'बाक्लो मकै फल्दैन- बाक्लो भलाद्मी मिल्दैन ।' माओवादीभित्र धेरै नेता भएकाले नमिलेको उनको बुझाइ छ ।

तीन छोरा र तीन छोरी भए पनि अहिले उनको साथमा कोही छैन । ८४ वषिर्य बढुा ७५ बषिर्या श्रीमती बदिसरासँग दुई सुगुरका पाठा पालेर बसेका छन् । साखा सन्तान जीवनपायनका लागि कोही देशमै छन् कोही विदेश । पार्टी राजनीतिमा पनि उनी छैनन् । तर, थबाङको अगुवाई गर्न भने उनले छोडेका छैनन् । न त उनको जीवनशैली नै फेरिएको छ ।




Monday, 11 August 2014

छापामार रणनीति-पृथीछक वुढा मगर (ग्लोभिभोना)

छापामारको शव्दावलीमा रणनीतिको अभिप्राय सम्पूर्ण सैन्य स्थितिको प्रकाशमा प्राप्त गरिने उद्देश्य पाउनको लागि आवस्यक उपायको विश्लेष्ण हो ।

छापामार समुहको दृष्टिकोणले एक सहि रणनीतिक स्पष्टता हासिल गर्नको लागि खास रुपमा यसको विश्लेषण आवस्यक छ कि दुश्मनको कार्य पद्दति के हुने छ ? यदि विरोधीको शक्ति पूर्ण रुपमा विनाश नै अन्तिम उद्देश्य हो भने यो गृह युद्दको स्थितिमा हुन्छ । हालमा दुश्मनको एक मात्र प्रमाणिक कार्य छापामार दस्ताको एक-एक घटकलाई पूर्ण रुपमा नष्ट गर्नु हुन्छ । अर्को तिर छापामार त्यो संसाधनको बिश्लेष्ण गर्नु पर्ने हुन्छ जो परिणाम प्राप्त गर्नको लागि दुष्मनसंग रहेको हुन्छ । अर्थात व्यक्तिहरुको, गतिसिलताको, समर्थनहरुको, हतियार र नेतृत्वको क्षमताको रुपमा उसको साधनको जस माथि उ भरोशा गर्न सक्छ । दुश्मनको फौजलाई हराउने अन्तिम उद्देश्यलाई संधै ध्यानमा राखेर छापामार सैनिकले संधै यी अध्ययनको आधारमा आफ्नो एक छुट्टै समुचित रणनीति विकसित गर्नु पर्ने हुन्छ ।

यहाँ केहि आधारभूत कुराहरुको अध्ययन आबस्यक छ : उदाहारणको निम्ति हतियार र यसको प्रयोग गर्ने ढंगको । यस्तो खालको कुनै लडाइंमा एक ट्यांकको एक हवाईजहाजको महत्व बुझ्नु आबस्यक हुन्छ । दुश्मनको हतियार, उसका गोला बारुद, उसको ब्यबहारमा बिचार पुराउनु पर्ने हुन्छ किन कि दुश्मनको हतियार नै छापामारको हतियारको सबै भन्दा ठुलो श्रोत हो । छापामारहरुले सबै भन्दा पहिले दुश्मनको हतियारलाई पहिलो प्राथमिकता दिनु आबस्यकता छ, जुन हतियार उसले प्रयोग गरिरहेको छ किनभने हतियारको कमि छापामारलाई सबै भन्दा बढी खड्किने बिषय हो । यो सवै कुरा छापामारहरुलाई दुश्मनबाट प्राप्त हुने छ ।

उद्देश्यको विश्लेषण र निश्चय पश्चात अन्तिम उद्देश्यको प्राप्ति तिर लैजाने चरणको क्रमको अध्ययन गर्नु आवस्यक हुन्छ । यसको योजना किस्ता किस्ताको तरिकाले बनाउनु पर्छ, चाहे युद्दको बिकाश र अकल्पित परिस्थितिको उदयको कारण त्यो योजनामा संसोधन र फेरबदल गर्नु नै किन नपरोस ।

सुरुमा आफैलाई बचाउनु नै छापामार दस्ताको एक मात्र प्राथमिक कार्य हो । आफ्नो जीवन पद्दति अनुसार आफुलाई ढाल्नु तथा हमला गरिरहेको फौजवाट बचेर भाग्नु, बिस्तारै बिस्तारै चापामार समुहको सदस्यहरुको लागि सजिलो र झन् धेरै सजिलो हुँदै जान्छ किनकि यो सब काम संधै गरिने भएको हुनाले साधारण दैनिकि जस्तो हुन्छ .........................क्रमसः

नेपाली जनप्रगातिसिल मोर्चा (महासचिव)




Saturday, 2 August 2014

नेकपा मसालका महामन्त्री कमरेड मोहनबिक्रमसंगको कुराकानी !!!!!!!!!- प्रिथीछ्क वुढा मगर

लामो समय देखि अर्ध भूमिगत रहनु भएका नेकपा मशालका महामन्त्री कमरेड मोहनविक्रम सिंह जो नेपाली कम्युनिष्ट आन्दोलनको एक योद्दा  हुनु हुन्छ । नेपाली एकता समाज युएईले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको अवशरमा युएई आउनु भएका महामन्त्रीसंग फर्च्युन होटेलमा पत्रकार भेटघाट कार्यक्रममा पत्रकार लक्षमण खनाल, प्रिथीछ्क वुढा मगर, लालवहादुर देह्गा मगर र खिमलाल पाण्डेले समसामयिक परिस्थितिको बिषयमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :-

पहिलो संबिधान सभाले नेपाली जनतालाई संबिधान दिन सकेन त्यस पछी दोस्रो संबिधान सभाले के समयमै संबिधान दिन सक्छ ?
पत्रकार मित्रहरुले संघियताको प्रस्न उठाउनु भयो । यहाँ मुलभूत रुपमा लोकतान्त्रिक संविधानको छ । पहिलो संबिधान सभाले संबिधान दिन सकेन । त्यस पछी दोश्रो संबिधान सभाको निर्बाचन पछी आयोजना भएको यो संबिधान सभाले पनि खासै द्रुत गतिमा काम गरेको देखिंदैन । त्यसैले यो संबिधान सभाले पनि समयमै संबिधान उपलब्ध गराउँछ भन्ने कुरामा शंका गर्न सकिन्छ । यदि संबिधान बन्न सकेन भने देश कता जाने ? यो कुराको जवाफ निकै गम्भीर भएर खड्किएको छ । 

नेपालमा संघियताको विषयमा करिव करिव सबै दलहरुले सहमति जनाइसकेको अबस्था छ । तपाईंहरुको पार्टीले सुरु देखि नै संघियताको विरोधमा आन्दोलन गर्दै आइरहेको छ  ।  यो अवस्थामा संबिधान कसरी वन्न सक्छ त ?
संघियताको कुरा गर्दा नेपाल जस्तो आर्थिक अवस्था कम्जोर भएको राज्यले एउटा सरकार त चलाउन सकिरहेको अवस्था छैन भने त्यसमा १०/१२ वटा सरकार चलाउनको लागि राज्यलाई कतिको आर्थिक भार पर्छ भन्ने कुरा बुझ्नु पर्छ । बिकासका कुराहरुमा पछाडी पर्दै जान्छ  । जनाताका जनजीविकाको सवालमा कामहरु बन्न जाने अबस्था हुँदैन  । त्यसमा पनि अहिले नेपालमा अतिबादिको रुपमा बिभिन्न जातीय आधारमा राज्यहरु बन्नु पर्छ, एक मधेश एक प्रदेशको कुराहरु आइरहेका छन्  । यी कुराहरुले अन्तत: देश देश विपन्नता तर्फ जाने कुरा हुन्छ  । देश टुक्रिने सम्भाबना पनि उतिकै सम्भाबना रहन सक्दछ  । यस प्रकारले नेपालको पृष्ठभूमिमा कुरा गर्दा यहाँ संघियता हुनु राम्रो कुरा होइन  । लोकतान्त्रिक संबिधान बन्ने प्रक्रिया र त्यो हुन नदिन जातिवादी, अतिवादीहरुहरुको चहलपहल जुन गतिमा भइरहेको छ, त्यसले संबिधान बन्ने कुरामा अनिश्चितता वन्न पुगेको छ  ।

जातीय आधारमा राज्यहरु वनाउने कुरा र एक मधेश एक प्रदेश बाहेकका संघिय प्रणालीहरु आए भने जनमोर्चाले संघियता स्वीकार गर्न तयार छ ?
हाम्रो पार्टी यसमा तयार छैन  । नेपाल जस्तो एक आर्थिक रुपमा विपन्न भएको मुलुकमा कुनै पनि संघियता हुनु राम्रो होइन चाहे त्यो जुनसुकै रुपमा आओस   । यो कुरा माथि नै भनिएको छ  ।

अहिले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण हुन गइरहेको छ र साथसाथै १९५० को सन्धिको वारेमा पनि बिभन्न टिक्का टिप्पणीहरु हुँदै आइरहेका छन्  । कसैले यसको परिमार्जन  कुरा गरिरहेको छ, कसैले यसको खारेजीको कुरा गरिरहेको छ  । यी कुराहरुमा महामन्त्रीज्युले केहि कुरा बताइदिनु हुन्थ्यो कि ?
भारतीय प्रधान मन्त्रीको भ्रमण हुन गईरहेको छ  । यसमा सदभावको भ्रमण हो वा होइन भन्ने कुरा उनले पठाएको प्रस्तावहरुले नै प्रष्ट पारिरहेका छन्  । उनको पहिलो कदमले भारतीय विस्तारवादी चरित्र नै देखाएको छ  । नेपालका नदीनाला, जलबिधुत लगाएत अन्य प्राकृतिक सम्पदाहरूमा भारतीय एकाधिकार जमाउने जस्तो जुन प्रस्ताबहरु आएका छन् ति कुराहरु नेपालको हितमा छैनन्  । नेपाली जनताको हितमा छैन  । उनको भ्रमणसंगै १९५० को सन्धिको कुरा यहाँहरुले उठाउनु भयो, यो के छ भने १९५० को सन्धि खारेज हुन सक्दछ वा त्यसको संसोधन हुन सक्दछ तर विस्तारवादी नीति त्यहि रहन्छ कि उसको अनुकुल हुने कुनै कुरामा उसले सम्झौता गर्दैन  । उसले आफ्नो फाइदाको लागि हेर्छ  । १९५० को सन्धि खारेज गरे पनि अर्को घाटक सम्झौता पनि गर्न सक्दछन जस्तो कि बिप्पा  सम्झौताहरुकै कुरा गर्नुहोस  । यस्ता सम्झौताहरु हुँदै गए भने १९५० को सन्धि खारेज भए पनि  नेपालको हित हुने छैन । यसको लागि नेपाली पक्षले नेपालको भविष्य प्रति गम्भीर भएर काम गर्नु पर्ने हुन्छ । नेपाली जनताको भाग्य र भविष्यको फैसला नेपाली जनता आफै गर्नु पर्छ भन्ने कुरामा स्पष्ट हुनु पर्छ ।

मोदि भ्रमणमै प्रसङ्ग जोडौं, अहिले नेपालमा राजावादीहरु र हिन्दुवादीहरु नेपाललाई हिन्दु राज्य वनाउने कुराको माग गरिरहेका छन् । यो बिषयलाई मोदीको भ्रमणसंग जोडेर हेर्दा कस्तो चित्र पाउनु हुन्छ ?
नेपालको फैसला नेपाल आफैले गर्ने हो । हो, राजाबादी र हिन्दुवादीहरुलाई केहि आशा त होला । तर भारतकै कुरा गरौँ, त्यहाँ बहुसंख्या जनता हिन्दु नै छन् तर त्यहाँ हिन्दु राष्ट्र छैन । नेपाल जस्तो बहु धार्मिक सहिष्णुता भएको देशमा हिन्दु राज्य वन्नु र बनाउनु गलत हो । त्यसमा कोहि बाहिरको व्यक्ति आएर यस्तो उस्तो हुनु पर्छ भनेर भन्यो भन्दैमा हुने होइन । फेरी भारतीय जनता पार्टी हिन्दु धर्मसंग नजिक भएको हुनाले पनि त्यो आशा राख्नु भएको हुन सक्दछ । 

अन्त्यमा, प्रवासी नेपालीहरुको हित अनुकुल यहाँहरुको पार्टीले कस्तो काम गरिरहेको छ ?
देशको युवा शक्ति मुलुक वाहिर छ । देशको लागि यो राम्रो त होइन । देशको आर्थिक कमजोरीको कारणले ति युवा वर्गहरु बिदेसिन बाध्य छन्  । हाम्रो पार्टी प्रवासी नेपालीहरुको मताधिकारको कुरा उठाइरहेको छ । उनीहरुलाई लगानी गर्ने कुरामा प्रोत्साहन गर्ने काम गरिरहेको छ । यो भन्दा पनि नेपालीहरु बिदेसिनु नपरोस भन्ने कुरा बुद्दिमानी हुन्छ । यसको लागि हाम्रो पार्टी आफ्नो ठाउँवाट संघर्ष गरिरहेको छ । देशमा आर्थिक सुधारका कुराहरु, बिकाशका कुराहरुमा प्रवासी नेपालीहरुको उत्साहजनक सहभागी वन्नु पर्छ  । जव देशको आर्थिक प्रणाली वलियो हुन्छ तव मात्रै राज्यले युवा वर्गलाई बिदेसिने परिस्थितिबाट रोक्न सक्दछ  । अहिले मुलुक प्रवासी नेपालीहरुको पसिनावाट प्राप्त भएको रेमिट्यान्सवाट चलिरहेको छ  । यसरि मुलुकको भविष्य वन्ने होइन  । हामी प्रत्यकले देशको लागि सोच्ने बेला आएको छ  । हामीले यदि नसोच्ने हो भने हामीले अगाडी देखिरहेको गरिवीको जरजर तस्विर अझ विकराल बन्दै जाने छ त्यसैले आम नेपालीहरु देशको लागि सोच्नुस  । सोच्ने बेला आएको छ  । सबैले सोच्नु पर्छ  ।