मनाङ, वैशाख १७ - मौसम खुलेपछि यार्सागुम्बु संकलन गर्नेहरूको लेकतिर भीडभाड बढेको छ । हिमपात भएर चिसो बढेपछि सदरमुकाम आसपास थन्किएका उनीहरू लेकमा लागेका हुन् । केही दिनयता हिउँ पर्न छाडेर चिसो हटेपछि यार्सा संकलन गर्नेहरू लेक नजिकका गाउँमा पुग्ने क्रमसँगै भीड बाक्लिएको हो । हजारौंको संख्यामा जिल्लाभरिका लेकहरूमा यार्सा संकलन गर्नेहरू पुगिसकेका छन् । वैशाखदेखि असारसम्म यार्सा टिप्नेहरूको चहलपहल हुन्छ ।
गोर्खा, धादिङलगायतका जिल्लाबाट आएकाहरू बन्दोबस्तीका सामान बोकेर जिल्लाका विभिन्न लेकमा पुग्न थालेका छन् । बालक, युवादेखि काखे बच्चासमेत बोकेर यार्सागुम्बु संकलन गर्न पुगेका छन् । बढी यार्सा संकलन गर्नसके आम्दानी राम्रो हुने भएकाले परिवारै बोकेर यार्सा टिप्न हानिनेहरूको संख्या अधिक देखिएको छ । पाँच वर्षदेखि नियमित यार्सा संकलन गर्दै आएका गोरखा कासी गाउँका पदम गुरुङ यसपटक पनि पिसाङ क्षेत्रमा भेटिए । आपmना १० साथीसहित आइपुगेका उनले भने, 'ज्यानको बाजी लगाएर हिउँमा खोज्नुपर्छ ।' उनका अनुसार यार्सा संकलन गर्नु सहज भएको बताए । उनले अहिलेसम्म बढीमा ६ सय टुक्रासम्मको यार्सा टिपेको अनुभव सुनाए । तर हिजोआज मानिसको संख्या बढेकोले यार्सा पहिलाको जस्तो पाउन छाडिएको उनको भनाइ छ । अहिले एउटै लेकमा ८ देखि ९ सयसम्म संकलक पुग्ने गरेको उनले जानकारी दिए । एउटा टुक्रा यार्साका २०० देखि २ सय ५० रुपैयाँ मूल्य पर्छ । यार्सा संकलन गर्न जानेहरू कतिपय चिसोले संकलन गर्न नसकेर समेत र्फकन्छन् ।
विशेष गरी यहाँका भ्राका, खाङ्सार ङावल, घ्यारु, मनाङ, पिसाङ, नाम्गेखर्क, नार, फुलगायतका लेकहरू यार्सा संकलन गर्ने क्षेत्र हुन् । नार र फु बाहेक अन्य लेकमा बाहिरबाट जानेलाई संकलन अनुमति दिने गरिएको छ । अनुमतिबिना संकलन गर्न नपाइए पनि केहीले लुकीछिपी समेत लेक पुगेर यार्सा संकलन गर्ने गरेका छन् । 'स्थानीयभन्दा बाहिरबाट यार्सा संकलन गर्न आउने गरेका छन्,' अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख पारसविक्रम सिंहले भने, 'अहिले बाहिरबाट आउने यार्सागुम्बु संकलन गर्नेहरूले यहाँका गाउँ भरिएका छन् ।' उनका अनुसार अबको दुई महिना यार्सा टिप्नेहरूको चहलपहल अधिक हुन्छ । बाहिरबाट यार्सा संकलन गर्न आउनेलाई गाउँ संरक्षण व्यवस्थापन समितिमार्फत गाविसलाई १५ देखि २० हजार रुपैयाँसम्म रोयल्टी तिर्नपर्छ भने स्थानीयले संकलन गर्दा ८ हजार रुपैयाँ बुझाउनुपर्छ । संकलकबाट संकलित यार्सा ठेकेदारले गाउँमा खरिद गरेर काठमाडौंदेखि चीन हङकङसम्म बढी मूल्यमा पुर्याउने गरेको स्थानीय बताउँछन् ।
संकलन पुर्जीबिना यार्सा गुम्बा टिप्न जानेको यार्सा जफत गर्ने नियम समेत समितिले बनाएको छ । रूख फडानीलाई नियन्त्रण गर्न यार्सा संकलन गर्नेहरूलाई अनिवार्य रूपमा खाना पकाउने स्टोभ बोकेर जानुपर्ने नियम छ । रोयल्टी तिरेर टिप्नेहरूबाट संकलन भएको यार्सा अघिल्लो वर्ष मात्रै जिल्लाबाट ९४ केजी बाहिरिएको एक्यापका रेन्जर रेसम कार्कीले जानकारी दिए ।
No comments:
Post a Comment